हरिबहादुरका लागि तीन लाख बढी सहयोग

सात वर्षअघि घरको लिस्नोबाट लडेर गम्भीर घाइते भएका हरिबहादुरको समयमै प्रभावकारी उपचार हुन नसक्दा त्यसयता उनी ओछ्यान परेका हुन्।

चैत्र ७, २०८२

रामचन्द्र न्यौपाने

More than three lakh rupees in support for Hari Bahadur

डोल्पा — ठूलीभेरी नगरपालिका–७ कोल्ला गाउँका ३८ वर्षीय हरिबहादुर बुढाको उपचारका लागि ३ लाख १० हजार ९५ रुपैयाँ सहयोग संकलन भएको छ । उक्त रकम एक सातामा जम्ममा भएको हो । ठूलीभेरी-८ का वडाध्यक्ष मनराम ठकुल्लाले उक्त रकम शनिबार श्रीमती मनकुमारी बुढालाई हस्तान्तरण गरेका हुन्।

हरिबहादुरको अवस्थाबारे एक साताअघि मात्र विभिन्न सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममार्फत समाचार प्रकाशन गर्दै सहयोगका लागि अपिल गरिएको थियो । त्यसपश्चात देश विदेशबाट सहयोग प्राप्त भएको हो ।

संकलित सहयोगले तत्कालका लागि राहत पुगेको परिवारले जनाएको छ। 'घरमा चामल किन्ने पैसा थिएन। त्यतिमात्र नभई श्रीमान‍्को सामान्य उपचार गर्ने पैसासमेत थिएन । यो सहयोगले धेरै राहत मिलेको छ,' श्रीमती मनकुमारी बुढाले भनिन्। दिनभर श्रीमान‍्को स्याहारमै समय बिताउनुपर्ने भएकाले बाहिर काम गर्न नसक्दा परिवारलाई थप समस्या भएको उनले बताइन्।

बुढाका दुई छोरा र दुई छोरी छन्। कमजोर आर्थिक अवस्थाका कारण बालबालिकाको पढाइसमेत प्रभावित भएको छ। सात वर्षअघि घरको लिस्नोबाट लडेर गम्भीर घाइते भएका हरिबहादुरको समयमै प्रभावकारी उपचार हुन नसक्दा त्यसयता उनी ओछ्यान परेका हुन्।

रामचन्द्र रामचन्द्र न्याैपाने कान्तिपुरका डाेल्पा संवाददाता हुन् ।

Link copied successfully