भारतका विभिन्न राज्यका ८ विद्यार्थी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढ्दै
What you should know
जुम्ला — भारतको जम्मु–कश्मीरकी साक्षी गुप्ता कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा एमबीबीएस तेस्रो वर्षमा अध्ययनरत छिन् । चिकित्सा शिक्षा आयोगका मापदण्ड पूरा गरेर अध्ययन गर्न उनी जुम्ला आइपुगेकी हुन् । उनी भन्छिन्, ‘यहाँ दुर्गम क्षेत्रको स्वास्थ्य सेवा र शिक्षाबारे पनि अध्ययन गर्न पाइरहेकी छु ।’
भारत मध्यप्रदेशकी कस्तुरी सिंह र उत्तर प्रदेशका कार्तिकेय मिश्र पनि एमबीबीएस पढ्नकै लागि जुम्लामा छन् । एउटै ब्याचका साक्षी, कस्तुरी र कार्तिकेयलाई नेपालका सहरकेन्द्रित विश्वविद्यालयमा अध्ययन गर्न जाने छनोट पनि थियो । तर उनीहरूले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान नै रोजे । अहिले उनीहरू विद्यार्थी जुम्लाको वातावरण, पठनपाठन र स्थानीयको सहयोगी भाव देखेर पनि मक्ख परेका छन् ।
नेपालमा चिकित्सा शिक्षाको पठनपाठन राम्रो हुन्छ भन्ने पहिले सुनेको र जुम्ला आएपछि त्यसको अनुभव गर्न पाइरहेको साक्षी बताउँछिन् । ‘पढाइ गुणस्तरीय त छ नै, शिक्षक र कर्मचारीको मिहिनेत पनि लोभलाग्दो छ,’ उनी भन्छिन् । एमबीबीएस तेस्रो वर्षमा अध्ययनरत कार्तिकेय जुम्लाको पढाइसँगै वातावरणले पनि मन छोएको बताउँछन् । ‘पठनपाठन राम्रो छ । यहाँ जनजीवन र वातावरणले पनि बेग्लै अनुभव दिएको छ,’ उनी भन्छन् ।
साक्षी, कस्तुरी र कार्तिकेयपछिको ब्याचमा भारतीय विद्यार्थी पाँच जना छन् । त्यस ब्याचमा नयाँदिल्लीका एन्जल सिंह, उत्तर प्रदेश, बहराइचका अब्दुल अहमद, उधमसिंह नगर उत्तराखण्डकी रिदिमा चौहान, श्रेया त्रिपाठी र उत्तर प्रदेश मथुराका दिग्विजय सिंह छन् ।
साक्षी, कस्तुरी र कार्तिकेयपछिको ब्याचमा भारतीय विद्यार्थी पाँच जना छन् । त्यस ब्याचमा नयाँदिल्लीका एन्जल सिंह, उत्तर प्रदेश, बहराइचका अब्दुल अहमद, उधमसिंह नगर उत्तराखण्डकी रिदिमा चौहान, श्रेया त्रिपाठी र उत्तर प्रदेश मथुराका दिग्विजय सिंह छन् ।केही वर्षअघिसम्म पनि कर्णाली गरिबी, अशिक्षा र बेरोजगारीको पर्याय मानिन्थ्यो । गाउँघरमा रोजगारी नहुँदा कर्णालीका धेरैजसो युवा रोजगारीका लागि भारतका उत्तराखण्ड, हिमाचललगायतका राज्य जाने परिस्थिति अझै पनि छ । तर अहिले उत्तरखण्डका विद्यार्थी नै चिकित्सा शिक्षा अध्ययन गर्न जुम्लामा छन् । प्रतिष्ठानका शिक्षाध्यक्ष डा. डबलबहादुर धामी कर्णालीको पठनपाठनबाट भारतीय विद्यार्थी प्रभावित भएको बताउँछन् ।
‘भारतीय विद्यार्थी नेपालभित्रका अन्य जुनसुकै विश्वविद्यालयमा जान सक्ने अवस्था थियो,’ उनले भने, ‘सरकारी प्रतिष्ठान, शिक्षणको स्तर, शिक्षक–कर्मचारीको नियमितता र दुर्गम क्षेत्रको स्वास्थ्य शिक्षा अध्ययन गर्ने अभिरुचिले पनि उनीहरूलाई जुम्लासम्म ल्याइपुर्याएको देखिन्छ ।’ भारतीय विद्यार्थीको उपस्थितिले प्रतिष्ठानको समग्र शैक्षिक गतिविधिमा उत्साह थपिएको उनको भनाइ छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल २०६८ मा सञ्चालनमा आएको हो । प्रतिष्ठानमा चिकित्सा शिक्षाका चार वटा स्कुलमा स्नातक र स्नातकोत्तर गरी १३ कार्यक्रम सञ्चालनमा छन् । स्कुल अफ मेडिसिनअन्तर्गत एमबीबीएस, एमडी र एमएस तथा स्कुल अफ फार्मेसीअन्तर्गत ब्याचलर इन फार्मेसी र मास्टर इन फार्मेसी, स्कुल अफ नर्सिङअन्तर्गत बीएस्सी नर्सिङ, ब्याचलर अफ नर्सिङ र ब्याचलर अफ मिडवाइफरी साइन्स, स्कुल अफ पब्लिक हेल्थअन्तर्गत ब्याचलर अफ पब्लिक हेल्थ र मास्टर इन पब्लिक हेल्थका शैक्षिक कार्यक्रम सञ्चालनमा छन् ।
हाल एमबीबीएसमा ५०, नर्सिङमा २०, बीएनएसमा २०, बीपीएचमा २०, बीएस्सी नर्सिङमा २० र बीफर्मामा २० जना अध्ययनरत छन् । प्रतिष्ठानले ग्रामीण स्वास्थ्य, जनस्वास्थ्य र फार्मेसीमा पीएचडी तहका कार्यक्रम पनि चाँडै सुरु गर्ने तयारी रहेको शिक्षाध्यक्ष डा. धामीले जानकारी दिए । प्रतिष्ठानमा शिक्षक र कर्मचारी गरी १२० जना कार्यरत छन् ।
शिक्षाध्यक्ष डा. धामीका अनुसार प्रतिष्ठानमा फार्मेसी र नर्सिङ, जनस्वास्थ्य विषय अध्ययन गरेका विद्यार्थी सबै लाइसेन्स परीक्षामा उत्तीर्ण भएकाले पनि पछिल्ला दिनमा कर्णाली प्रतिष्ठानप्रति विद्यार्थीको आकर्षण बढ्दो छ । तीन सय शय्याको अस्पतालसमेत भएकाले प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीलाई व्यावहारिक ज्ञान लिन पनि सहज भएको उनको भनाइ छ । ‘सीमित स्रोत–साधनका बीच पनि गुणस्तरीय शिक्षा दिन सकेको छौं, जसका कारण सुगम क्षेत्रका नेपाली विद्यार्थीसमेत अध्ययन गर्न जुम्ला आउँछन्,’ उनी भन्छन् ।
शिक्षाध्यक्ष डा. धामीले शैक्षिक कार्यक्रम र विद्यार्थी संख्याभन्दा पनि गुणस्तरलाई प्राथमिकतामा राखेको जानकारी दिए । नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले प्रतिष्ठानका कारण चिकित्सा शिक्षासँगै विशेषज्ञस्तरको स्वास्थ्य सेवा पनि सुनिश्चित भएको बताए । ‘विकटता चिर्न सडक जोडिँदै छन् । सडकले गाउँलाई बजारसँग जोडेको छ । त्यसमाथि प्रतिष्ठानले चिकित्सकीय शिक्षासँगै विशेषज्ञस्तरको स्वास्थ्य सेवा पनि सुनिश्चित गरेको छ,’ उनले भने ।
