जुम्लाका सुरक्षा निकायलाई डढेलो नियन्त्रण सामग्री प्रदान

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाली सेनाको विपद व्यवस्थापन युनिटलाई डढेलो नियन्त्रण सामग्री दिइएको हो ।

चैत्र ६, २०८२

डीबी बुढा

Firefighting equipment provided to Jumla security forces

जुम्ला — जुम्लास्थित डिभिजन वन कार्यालयले जुम्लाका तीनवटै सुरक्षा निकायलाई डढेलो नियन्त्रण सामग्री प्रदान गरेको छ । 

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाली सेनाको विपद व्यवस्थापन युनिटलाई डढेलो नियन्त्रण सामग्री दिइएको हो । 

विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले डढेलो नियन्त्रण सामग्री हस्तान्तरण गरेका हुन् । 

पछिल्लो समयमा भइरहेको वन डढेलो र आगलागीका घटना न्यूनीकरण गर्न डढेलो नियन्त्रण सामग्री दिइएको डिभिजन वन कार्यालयका प्रमुख भरतबहादुर बुढ्थापाले जानकारी दिए । 'वन जोगाउनु सबैको कर्तव्य हो,' प्रमुख बुढ्थापाले भने, ‘आगजनी र डढेलो नियन्त्रणमा अब सहजै रुपमा काम हुने अपेक्षा छ ।’ 

डढेलो नियन्त्रण गर्न लगाउने कपडा र फलामे औजार गरेर सेनालाई १२ थान, सशस्त्र प्रहरीलाई १२ थान र नेपाल प्रहरीको विपद युनिटलाई १० थान प्रदान गरिएको हो । 

प्रमुख जिल्ला अधिकारी पौडेलले वन डढेलो र आगजनी नियन्त्रण गर्न सबैको समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिए । सीमित स्रोत साधनका बीच विपद न्यूनीकरणको काम भइरहेको थियो,' प्रमुख जिल्ला अधिकारी पौडेलले भने, ‘अब अझै सजिलो हुने विश्वास छ ।’

डिभिजन वन कार्यालय जुम्लाका अनुसार गत वर्ष ३३० दशमलव २८ हेक्टर वन डढेलोबाट क्षति भएको हो । जिल्लाका २९ वनमा डढेलो लागेको थियो । चालु आर्थिक वर्षको अहिलेसम्म ६ स्थानमा डढेलो लागेको र एक सय हेक्टर वन क्षेत्रमा क्षति पुगेको तथ्यांक छ । बर्सेनि गर्मीयाममा हुने डढेलोले वन क्षेत्रमा क्षति पुर्‍याउँदै आइरहेको छ । 

'दमकल नपुग्ने विकट क्षेत्रमा लागेको आगो निभाउन समस्या छ,' डिभिजन प्रमुख बुढ्थापाले भने,‘सुरक्षा निकायालाई दिइएको यो सामग्रीले ठूलो सहयोग पुग्ने देखिन्छ ।’

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully