प्रधानमन्त्री कार्की कर्णालीमा

प्रधानमन्त्री कार्कीका प्रेस सल्लाहकार राम रावलले निर्वाचनपूर्वको निरीक्षण भ्रमणमा उहाँ कर्णाली पुग्न नसक्नु भएकोले निर्वाचनपछि कर्णालीमा पुगेको बताए ।

चैत्र ५, २०८२

डीबी बुढा

Prime Minister Karki in Karnali

जुम्ला — प्रधानमन्त्री सुशीला कार्की कर्णालीको भ्रमणका क्रममा जुम्ला आइपुगेकी छिन् । उनी फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफल बनाउन फिल्डमै खटिएर भूमिका निर्वाह गर्ने कर्मचारी, सुरक्षाकर्मी तथा नागरिकप्रति धन्यवाद व्यक्त गर्न कर्णाली भ्रमणमा निस्किएकी हुन् । 

प्रधानमन्त्री कार्कीका प्रेस सल्लाहकार राम रावलले निर्वाचनपूर्वको निरीक्षण भ्रमणमा उहाँ कर्णाली पुग्न नसक्नु भएकोले निर्वाचनपछि कर्णालीमा पुगेको बताए । प्रधानमन्त्री कार्कीले मुगुमा जिल्लास्तरीय सुरक्षा प्रमुखहरुसँग अन्तरक्रिया गरिन् । 

जुम्ला पुगेर जिल्लास्तरीय सुरक्षा प्रमुखहरुसँग छलफल गरिन् । छलफलमा प्रधानमन्त्री कार्कीले सीमित स्रोत साधन र कठिन भूगोलका बाबजुद पनि प्रभावकारी समन्वय र प्रतिबद्धताका साथ निर्वाचन सम्पन्न गराएकोमा सुरक्षा निकाय र कर्मचारीहरुको प्रशंसासमेत गरिन् । 

उनले भ्रमणका क्रममा भेटिएका स्थानीय नागरिकलाई समेत निर्वाचनलाई शान्तिपूर्ण र सफल बनाउन देखाइएको एकता, सद्भाव र सहकार्यप्रति विशेष धन्यवाद व्यक्त गरिन् । 

Prime Minister Karki in Karnali

प्रधानमन्त्री कार्कीले भनिन्, ‘देशले कठिन परिस्थितिमा पनि लोकतान्त्रिक अभ्यासलाई सफल बनाएको छ । जसको श्रेय सबै नेपाली जनतालाई जान्छ ।’ प्रधानमन्त्री कार्कीले जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको अवलोकन पनि गरिन् । विसं २०३७ सालमा स्थापना भएको उक्त संस्थालाई नेपालकै पहिलो प्राविधिक शिक्षालयमध्ये एक मानिदै आएको छ । विद्यार्थी, शिक्षक तथा स्थानीय बासिन्दाहरूले प्रधानमन्त्रीलाई लालीगुराँस दिएर स्वागत गरेका थिए । 

प्रधानमन्त्री कार्कीको यो भ्रमणको मुख्य उद्देश्य निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा धन्यवाद व्यक्त गर्ने र छोटो कार्यकालमा सरकारलाई प्राप्त जनसमर्थनप्रति कृतज्ञता प्रकट गर्नु रहेको प्रेस सल्लाहकार रावलको भनाइ छ ।  

प्रधानमन्त्री कार्की कर्णालीको प्रमुख धार्मिक पर्यटनको केन्द्र मानिएको चन्दननाथ भैरवनाथ मन्दिरमा दर्शन गर्ने कार्यक्रम छ । 

नेपाली सेनाको हेलिकोप्टरबाट जुम्ला आइपुगेकी कार्कीले शुक्रबार बिहान मन्दिरको दर्शन गर्ने कार्यतालिका रहेको प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय जुम्लाका अनुसार प्रधानमन्त्री कार्कीको मन्दिर दर्शनका लागि तयारी भइरहेको छ । 

प्रधानमन्त्रीसँग प्रमुख स्वकीय सचिव दुर्गाप्रसाद सुवेदी, आदर्शकुमार श्रेष्ठ तथा प्रेस सल्लाहकार रामबहादुर रावलसमेत सहभागी छन् ।

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully