कुमाखमा एक महिनादेखि प्रमुख प्रशासकीय नहुँदा काम प्रभावित

प्रमुख प्रशासकीय अधिकृतविहीन भएपछि पालिकामा आर्थिक कारोबार, योजना सम्झौतालगायतका कामकाज रोकिएका छन् ।

चैत्र २, २०८२

विप्लव महर्जन

सल्यान — कुमाख गाउँपालिका एक महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन भएको छ । सरुवा भएर गएकाको ठाँउमा अर्को नपठाउँदा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन भएको हो । 

प्रमुख प्रशासकीय अधिकृतविहीन भएपछि पालिकामा आर्थिक कारोबार, योजना सम्झौतालगायतका कामकाज रोकिएका छन् । आर्थिक कारोबार तथा योजना सम्झौताका लागि पालिका कार्यालय पुगेका उपभोक्ता खाली हात फर्कन बाध्य छन् । 

कार्यालयमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत दिलिपकुमार सोनी माघ दोस्रो साता सरुवा भएर गएका थिए। उनको ठाँउमा अहिलेसम्म कसैलाई नपठाएपछि पालिकाको काम प्रभावित भएको लेखा अघिकृत यदु गहतराजले बताए । कार्यालयमा प्रमुख प्रशासकीय अधिकृत नभएपछि कर्मचारीलाई फागुन महिनाकै तलब खुवाउन नसकिएको उनले जानकारी दिए । 

सामान्य कामकाजका लागि निमित्तका रुपमा मानबहादुर बुढाथोकीले जिम्मेवारी पाए पनि  सोनी सरुवा भएर गएपछि योजना सम्झौता र भुक्तानी जस्ता काम रोकिएका छन् । 

प्रमुख प्रशासकिय अधिकृतकै व्यवस्थापनका लागि गाउँपालिका अध्यक्ष मानबहादुर बुढाथोकी काठमाडौं गएको पालिकाका सूचना प्रविधि अधिकृत तथा सूचना अधिकारी कमल रानाले बताए । कार्यालय प्रमुख नभएपछि पालिकाका महत्वपूर्ण निर्णय समेत रोकिएको उनले बताए । 

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully