यस पटक माओवादी लिगेसी बोकेका दुई उम्मेदवार भएकाले चुनाव जित्ने आशाका साथ निर्वाचनमा होमिएका एमाले उम्मेदवार नगिन्द्र शाही ८ सय ८६ मतान्तरले पराजित भए । अहिले उनी पनि मतदातालाई धन्यवाद दिन घरदैलो गरिरहेका छन् ।
What you should know
कालिकोट — चुनावका बेला मात्र गाउँ आउने गुनासो सुनेका कालीकोटका उम्मेदवार चुनाव सकिएपछि अहिले पुनः मतदाता भेट्न व्यस्त देखिएका छन् । विगतमा चुनाव जितेपछि गाउँ नफर्किने, जनताका समस्याबारे बेवास्ता गर्ने गुनासो चुलिएपछि जितेका र हारेका उम्मेवार मतदाता भेट्न गाउँ पुगेका हुन् ।
एक हजारभन्दा कम मतान्तरले चौथो पटक चुनाव जितेका नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार महेन्द्रबहादुर शाही विगतमा चुनाव जित्ने बित्तिकै मान्ममा विजय जुलुस गरेर काठमाडौं लाग्थे । सरकार निर्माण, मन्त्री र मुख्यमन्त्रीको लवी गर्ने भन्दै जिल्ला छाड्न हतार गर्ने शाही यसपटक कडा प्रतिस्पर्धाबीच चुनाव जितेपछि अहिले गाउँगाउँ पुगेर मतादातालाई धन्यवाद दिन व्यस्त छन् । ‘माननीयज्यू, अहिले गाउँमै हुनुहुन्छ,’ नेकपाका जिल्ला संयोजक डम्बरबहादुर शाहीले भने, ‘मतदाताका समस्या सुन्न र सुझाव लिन गाउँ जानु भएको हो ।’ उनका अनुसार विजेता शाहीले फागुन २३ मा जिल्ला सदरमुकाम खाडाचक्रबाट सुरु गरेको मतदाता भेटघाट नरहरिनाथ, सान्नीत्रिवेणी, रास्कोट, पचालझरना, पलाता, शुभकालिका, महाबै हुँदै तिलागुफामा समापन गर्ने योजना छ ।
यस पटक माओवादी लिगेसी बोकेका दुई उम्मेदवार भएकाले चुनाव जित्ने आशाका साथ निर्वाचनमा होमिएका एमाले उम्मेदवार नगिन्द्र शाही ८ सय ८६ मतान्तरले पराजित भए । अहिले उनी पनि मतदातालाई धन्यवाद दिन घरदैलो गरिरहेका छन् । ०७९ मा कांग्रेस, एकीकृत समाजवादीसहितको गठबन्धनबाट चुनाव लडेका माओवादी केन्द्रका उम्मेदवार महेन्द्रसँग ७ हजार बढीको अन्तरले पराजित नगिन्द्र यसपटक थोरै मतान्तरले पराजित भएका हुन् । 
चुनावअघि मात्र मतदाता भेट्ने चलन सुधार्दै नगिन्द्र यसपटक फागुन २३ गतेदेखि नै मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुगेका छन् । ‘जनताको आवाज सिंहदरबारसम्म पुर्याउने धोको थियो,’ खाडाचक्रको थामकोटमा आयोजित धन्यवाद सभामा उनले भने, ‘यसपटक सफल हुन सकेनौं, अर्को पटक जितेर तपाईंहरूको आवाज बुलन्द गर्नेछु ।’ उनले चुनावमा अन्य उम्मेदवारभन्दा बढी मत पाएको खाडाचक्र नगरपालिकाबाट मतदाता भेटघाट सुरु गरेर तिलागुफा नगरपालिका, शुभकालिका, नरहरिनाथ हुँदै अन्य स्थानीय तहमा पुग्ने योजना रहेको सुनाए । ‘चुनाव हारे पनि मतदाताको मन जितेको छु,’ उनले प्रतिबद्धता जनाए, ‘जिल्लाबासीको सुखदुःखको साथी बन्न छोड्ने छैन ।’ उनले मान्मको थामकोट, चौर, ताडी, दाहा, सेरावाडा, गाल्जेलगायतका मतदातालाई धन्यवाद दिन गाउँ पुगेको सुनाए ।
कालीकोटबाट चुनाव लडेका नेकपा माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले आफ्नो गाउँ नरहरिनाथको माल्कोटबाट मतदातालाई धन्यवाद दिन सुरु गरेको जनाए । कालीकोटमा नेकपा पहिलो, एमाले दोस्रो, काग्रेस तेस्रो, नेकपा माओवादी चौथो र रास्वपा पाँचौं भए । अन्य दल र स्वतन्त्र उम्मेदवारले एक हजार मत कटाउन सकेनन् ।
