पछिल्लो समय पश्चिम एसियामा बढेको तनावले गर्दा ग्यास अभाव हुन थालेपछि स्थानीयले धमाधम ग्यास भर्न थालेका छन् ।
वीरेन्द्रनगर — सुर्खेतमा खाना पकाउने ग्यास किन्नका लागि पसलहरुमा उपभोक्ताको भीड लाग्ने गरेको छ । ग्यासको स्थानीय डिलर र अन्य ग्यास पाइने पसलहरुमा शुक्रबार बिहानैबाट उपभोक्ताको भीड लागेको थियो ।
पछिल्लो समय पश्चिम एसियामा बढेको तनावले गर्दा ग्यास अभाव हुन थालेपछि स्थानीयले धमाधम ग्यास भर्न थालेका छन् । इरान र इजरायल युद्धमा धकेलिएपछि इन्धनको अभाव हुनसक्ने भन्दै सरकारले आपूर्तिलाई सहज बनाउन आधा भरिएको सिलिण्डर बिक्री गर्न सुरु गरेको थियो ।
ग्यासको अभाव हुने कुरा सुनेपछि दुईवटा खाली सिलिन्डर ग्यास शुक्रबार बिहानै भरेको वीरेन्द्रनगर नगरपालिका–७ कि स्थानीय शान्ता खड्काले बताइन् । लामो समय पर्खेर ग्यास भरेको बताउँदै उनले भनिन्,‘सामाजिक सञ्जालमा समाचारहरु देखेका थियौं । परिवारमा सल्लाह गरेर भरेका हौं । धेरे आफन्तले पनि खाली ग्यास भरेका छन् । नयाँ ग्यास पनि धेरैले किने ।’
शुक्रबार साँझ ग्यास सकिएपछि बजारभरि खोज्दा पनि नपाएको वीरेन्द्रनगर–२ का स्थानीय ईश्वर रानामगरले बताए । कोठा लिएर बस्ने साथी देवीराज कठायतका लागि बिच बजार, मंगलगढी, एरीचोक, बांगेसिमल लगायतका स्थानका ग्यास पाइने पसलमा गएको थिएँ । उनी भन्छन्,‘सबैले छैन मात्र भन्छन् । यतिछिट्टै सकिएको जस्तो लाग्दैन । लुकाएर राखेका छन् जस्तो लागेको छ ।’ ग्यास नभेटिएपछि साना बालबालिका लिएर होट जानुको विकल्प नभएको उनले बताए ।
वीरेन्द्रनगर–१५ रतु घर भई पिपीरा बस्दै आएका प्रेमबहादुर शाहीले धेरै ग्यास पसल धाउँदा पनि ग्यास नपाएको गुनासो गरे । भएको पसलमा चुलो लिएपछि मात्र बेच्ने कुरा व्यापारीबाट आएको बताए । जिल्लामा ग्यासको अभाव भएको उनी बताउँछन् ।
भेरी ग्यासको सुर्खेत विक्रेता विनोद दाहालले भने ग्याल अभाव नभएको बताए । उनका अनुसार ग्यास लिनको लागि उपभोक्ताको भीड पसलमा बिहानैबाट लागेको थियो । अनावश्यक हल्लाले गर्दा एकैदिन धेरै किन्न आएको उनी बताउँछन् । एकै जनाले दुई वा त्यो भन्दा बढी खाली सिलिन्डरहरु भर्न आएकोले भीडभाड देखिएको उनी बताउँछन् ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतले ग्यास तथा इन्धनको कृत्रिम अभाव सिर्जना गरे कारबाही गरिने चेतावनी दिएको छ । व्यापारीहरूले यही मौकाको फाइदा उठाउन खोजेपछि प्रशासनले यस्तो चेतावनी दिएको हो ।
‘यस जिल्लाका विभिन्न उपभोक्ताहरूद्वारा बजारमा खाना पकाउने ग्यास (एलपी ग्यास) तथा इन्धनको सहज प्राप्तिमा कठिनाई भएको भन्ने गुनासो आएकोले कोही कसैले पनि अनावश्यक रूपमा इन्धन तथा ग्यास सिलिन्डर होल्डिङ नगरी ग्यास तथा इन्धन आपूर्तिलाई सहज तुल्याउन हुन अनुरोध छ,’ शुक्रबार सूचना जारी गर्दै प्रशासनले भनेको छ ।
साथै, अनावश्यक रूपमा ग्यास सिलिन्डर होल्डिङ गरेको पाइए, बढी मूल्य लिई ग्यास तथा पेट्रोलियम पदार्थ बिक्री गरेमा र नयाँ सिलिन्डरको बजारीकरण गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गर्ने चेतावनी प्रशासनको छ ।
