निमित्त प्रमुख जिल्ला अधिकारी मीनबहादुर रावलको अध्यक्षतामा बसेको बैठकले ग्यासको कृत्रिम अभाव हुन नदिने निर्णय गरेको हो ।
जुम्ला — एलपी ग्यासको कृत्रिम अभाव रोक्ने जिल्ला प्रशासन कार्यालय जुम्लाले डिलरहरुले ग्यास किनेको र बेचेको अभिलेख राख्नुपर्ने निर्णय गरेको छ ।
निमित्त प्रमुख जिल्ला अधिकारी मीनबहादुर रावलको अध्यक्षतामा बसेको बैठकले ग्यासको कृत्रिम अभाव हुन नदिने निर्णय गरेको हो । 'जिल्लामा ग्यासको कृत्रिम अभाव देखिन थालेको छ, यसलाई रोक्न डिलरहरुले अभिलेख अनिवार्य राख्न भनिएको छ,’ निमित्त प्रमुख जिल्ला अधिकारी मीनबहादुर रावलले भने ।
कसैले निर्वाचनमा मालबहाक गाडी चल्न नपाएको त कसैले ग्यास महँगिने भन्दै नल्याई सदरमुकाम खलंगामा ग्यास अभाव गराइरहेको उपभोक्ताको गुनासो छ । बजारमा ग्यास अभाव हुन थालेपछि उपभोक्ताहरु चिन्तित छन् । उनीहरुले सहजै रुपमा ग्यासको बिक्रीवितरण गर्ने वातावरण सिर्जना गर्न आग्रह गरेका छन् ।
जुम्ला प्रशासन कार्यालयका अनुसार खलंगामा २ हजार सिलिल्डर ग्यास आवश्यक पर्ने देखिएको छ । अहिले कृत्रिम अभाव देखाउँदै व्यापारीहरुले ग्यास लुकाएको भन्ने आरोप छ ।
निमित्त प्रमुख जिल्ला अधिकारी मीनबहादुर रावलले भने, ‘ग्यासको कृत्रिम अभाव हुन नदिने र सहजै रुपमा ग्यास पाउनुपर्ने उपभोक्ताले पाउनुपर्ने व्यवस्था मिलाउन प्रशासन सचेत छ ।’
बैठकले जिल्लामा हुन सक्ने एलपी ग्यासको अभाव हुन नदिन डिलरको पहिचान गरेको छ । जिल्लामा बुढा जनरल स्टोर र लगन स्टोर एण्ड सप्लायर्सले ग्यास बेच्ने गरेको पाइएको छ । निमित्त प्रमुख जिल्ला अधिकारी रावलले भने, ‘ग्यास वितरण गर्दा अभिलेख राखेर वितरण गर्ने र डिलरबाट लिएको ग्यास सिलिण्डरबाट उपभोक्तालाई वितरण गरेको अभिलेख दिनुपर्ने निर्णय गरेको छ ।
ग्यास बेचेको देखि जिल्ला भित्रिएको समेत प्रशासन कार्यालयमा अभिलेख बुझाउनुपर्नेछ ।'
शनिबार मात्रै ८ सय सिलिण्डर ग्यास जुम्ला आइपुग्ने डिलरहरुले बताएका छन् ।
अहिले खलंगामा प्रतिग्यास सिलिण्डर २२ सयदेखि २२ सय ५० सम्ममा किनबेच भइरहेको छ ।
