घाँस पलाउने आशमा स्थानीयले नै लगाउँछन् डढेलो

घाँस छिटो पलाउने भन्दै हिउँद सकिएपछि स्थानीयबाटै वनमा आगो लगाइदा रुखविरुवा जलेर डाँडापाखा नाड्गा हुने गरेका छन् ।

फाल्गुन २८, २०८२

तुलाराम पाण्डे

Locals set fires in the hope of making grass grow

What you should know

कालीकोट — माघ २५ को बिहान ९ बजे खाडाचक्र–३ स्थित पाल्त महादेव सामुदायिक वनमा पर्ने चौथामूनिको गोगनपानी वनमा आगलागी भयो । सदरमुकाम मान्म बजारनजिकैको सल्लेरी पाखोमा आगो सल्किएको खबर सुनेर सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष रविलाल पाण्डेले डिभिजन वन कार्यालय मान्ममा फोन गरेर अग्नी नियन्त्रणका औजारसहित कर्मचारी बोलाए । वनकर्मी र उपभोक्ताको समूह २ घण्टा लगाएर आगो निभाउन सफल भयो । 

जिल्ला वन कार्यालयको अगुवाईमा ०४५ मा विरुवा रोस्ने गरेको सल्लेरी वनमा स्थानीयले झारपात नष्ट गर्न वर्सेनि आगो झोस्ने गरिएको स्थानीय चक्रबहादुर शाहीले बताए । बुधबार बेलुकी मान्मस्थित नैनेलमाडु सामुदायिक वनको पाखोमा सुरु भएको आगो बिहीबार बिहान मात्र स्थानीयले नियन्त्रण गर्न सके । आगालागीले दुई वर्षअघि रोपिएका ५ सय सल्लो, धुपी, टिमुर, कोइरालोलगायतका विरुवा नष्ट भएको स्थानीय बिमल विष्टले बताए ।

घाँस छिटो पलाउने भन्दै हिउँद सकिएपछि वनमा आगो लगाइदा रुखविरुवा जलेर डाँडापाखा नाड्गा हुने गरेका छन् । गएको मंसिर ११ मा खाडाचक्र–४ स्थित सालडाँडा सामुदायिक वनमा बिहान ५ बजे सुरु भएको डढेलो स्थानीयको सक्रियतामा दिउँसो २ बजे नियन्त्रणमा आएको थियो । आगोले ३ वर्षअघि रोपिएका ५ हजार विरुवा जलेर नष्ट भएको खाडाचक्र–४ का वडाध्यक्ष प्रभानन्द आचार्यले बताए । उनका अनुसार आगो लगाउनेलाई गाउँमै केही नगद जरिवाना गरेर छाडिएको थियो । 

गएको पुस १३ मा तिलागुफा नगरपालिका ४ राचुलीको महाबैपातल सामुदायिक वनसहित खाडाचक्र, शुभकालिका, नरहरिनाथ, तिलागुफा, पलातालगायतका स्थानीय तहका सामुदायिक वनमा डढेलो लागेको थियो । ती सबै वनमा स्थानीयले आगो लगाएको जिल्ला प्रहरी प्रमुख हिमबहादुर खत्रीले बताए । ‘छिटो घाँस पलाउँछ भनेर आगो लगाउने अचम्मको चलन रहेछ,’ उनले भने, ‘वन, वनस्पति र वन्यजन्तुको क्षतिबारे समुदायमा सतेतना छैन ।’ उनले अघिल्लो महिना तिलागुफा–९ भात्तडीको स्याउ बगैंचामा आगलागी हुँदा ५ सय स्याउ र ओखरका विरुवा जलेर नष्ट भएको जानकारी दिए । 

माघे संक्रान्तिको राति खाना पकाउने क्रममा पलाता–४ रिज्यूलेखीसथत भेडीगोठमा आगलागी हुँदा स्थानीय कृष्णलाल रोकायाका ५५ भेडा मरे । आगो निभाउने क्रममा उनी पनि घाइते भए । त्यस्तै, माघ १३ मा खाडाचक्र ३ दहवनस्थित पुरीलाल पाण्डेको गोठमा आगलागी हुँदा उनकी ८५ वर्षीया आमा कला जलेर घाइते भइन् । उपचारको लागि जिल्ला अस्पताल मान्म, सुर्खेत हुँदै काठमाडौं पुर्याए पनि बचाउन नसकिएको उनका नाति खगेन्द्र पाण्डेले बताए । उनको फागुन २ मा मृत्यु भएको थियो । 

गत वर्षको चैत २ मा खाडाचक्र–५ दाहा घोडेनाको ढाडगाउँस्थित नवदुर्गा सामुदायिक वनको खर पाखोमा आगलागी हुँदा बाख्रा चराउन गएका ५० वर्षीय नन्दाराम चौलागाई र उनकी १२ वर्षीया छोरी हेमन्ती जलेर घाइते भए । नन्दाराम बिहान ९ बजे ५१ वटा बाख्रा लिएर चराउन वनमा गएका थिए भने छोरी हेमन्ती दिउँसो बुबालाई खाजा रोटी पुर्याउन गएकी थिइन् । डढेलोमा परेर घाइते बाबुछोरीको उपचारको क्रममा सुर्खेतमा मृत्यु भएको थियो । आगलागीमा परेका उनका ४५ बाख्रा मरे भने ६ घाइते भए । त्यतिबेला कसैले चुरोटको ढुटो ननिभाएर भूँइमा फ्याक्दा खरपाखो मात्र भएको वनमा आगो सल्किएको प्रहरीको अनुमान थियो । प्रहरीले आगो फ्याकेको आशंकामा एक जनालाई मुद्दा चलाए पनि अदालतबाट सफाई पाइसकेका छन् ।

कालीकोटमा घाँस पलाउने लोभमा वनमा डडेलो लगाउने प्रबृति रहेको प्रहरी निरीक्षक गणेश ज्ञावालीले बताए। ‘भीरपाखोमा घाँस छिटो उम्रिएला भनेर आगो लगाउने चलन रहेछ,’ उनले भने, ‘यो अक्षम्य अपराध हो । चैतदेखि जेठसम्मको सुक्खा समयमा डढेलोका घटना बढी हुन्छन् ।’  

दुई वर्षअघि कालीकोट र अछामको सिमानामा पर्ने नरहरिनाथ–८ स्थित सालघारी सामुदायिक वनमा आगलागी हुँदा काठ चिरानको लागि गएका लालुका अदानसिंह विष्ट र खाडाचक्र २ का जैपाल कामीको जलेर मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार तीन वर्षमा डढेलोमा परेर जिल्लामा ७  जनाको मृत्यु भएको छ। यो अवधिमा ९ जना घाइते भएका छन् । गत भदौयता जिल्लामा १५ वटा आगलागीका घटना भएका छन् । वनमा आगो लाग्दा यस वर्ष मात्र ५९ पशुचौपाया मरेको प्रहरीको तथ्यांक छ । वनमा आगो लगाउनेलाई कानुनी कारवाही नहुँदा आगलागीका घटना बढ्दै गएको नागरिक समाजका अगुवा दिलिपकुमार शाहीले बताए । उनले चैत/वैसाखमा जंगलमा आगलागी हुने जोखिम भएकाले जंगली जनवार पनि संकटमा पर्ने अवस्था रहेको सुनाए । 

जिल्लामा आगलागीका घटना बढ्दै गएपछि प्रहरीले सचेतनाका अभियान संचालन गरिरहेको जानकारी दिँदै डिएसपी खक्रीले मंसिरयता मात्र ५६ वटा आगलागी सम्बन्धी सचेतनामूलक कार्यत्रम संचालन गरेको सुनाए । उनले सचेतीकरण अभियान संचालन गर्न मातहतका सबै प्रहरी युनिटलाई परिपत्र गरिएको सुनाए । 

कालीकोटका भिरालो पाखामा आगलागीको जोखिम बढी भएकाले सचेत रहन र वनको संरक्षणमा जुट्न सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी र समूहका सदस्यलाई भनिएको डिभिजन वन कार्यालयले जनाएको छ ।  

तुलाराम पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

Link copied successfully