डोल्पाबाट चौथो पटक निर्वाचित धनबहादुर बुढा जनता नै आफ्ना लागि भगवान् भएको भन्दै अहिले उनीहरूसँग भेटघाट गर्न गाउँ पुगेका छन् ।
डोल्पा — डोल्पाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित धनबहादुर बुढा अहिले मतदातालाई धन्यवाद दिन गाउँघरमा पुगिरहेका छन् ।निर्वाचित भएको भोलिपल्टै उनी आफूलाई मत दिने मतदातालाई भेट्न ठूलीभेरी नगरपालिका-६ मा पर्ने काँडाताली पुगेका हुन् ।
डोल्पाबाट चौथो पटक निर्वाचित बुढा जनता नै आफ्ना लागि भगवान् भएको भन्दै उनीहरूसँग भेटघाट गर्न गाउँ पुगेको बताए । जितेलगत्तै गाउँघरमा पुगेका बुढालाई जनताले पनि फूलमाला, खादा, कोसेली र बाजागाजासहित स्वागत गर्दै बधाई दिएका छन् ।
‘मैले २०७० सालबाटै डोल्पाबाट चुवान लड्न सुरु गरेको हुँ । त्यतिबेलादेखि नै म चुनावको सुरुमा र निर्वाचित भएलगत्तै काँडाताली गाउँ पुग्ने गरेको छु,’ बुढाले भने, ‘यो गाउँ धार्मिक हिसाबमा पनि महत्त्वपूर्ण छ । मष्टा देवताको मन्दिर भएकाले त्यहाँ दर्शन गरेपछि मात्र मेरो चुनावी प्रचार–प्रचार अभियान सुरु हुन्छ । जितेपछि पनि सुरुमै यही ठाउँबाट मतदातालाई भेट्ने कार्यक्रम सुरुवात गर्छु ।’
आफ्ना लागि काँडाताली गाउँ शुभ संकेत दिने ठाउँ भएको समेत उनले बताए । सुरुवात गरिसकेकाले समय मिलाएर मतदाता भेट्न जिल्लाका आठवटै पालिकामा पुग्ने उनको भनाइ छ ।
नेपाली कम्युनिस्ट पार्टीको उम्मेदवार बनेका धनबहादुर बुढा डोल्पाबाट प्रतिनिधिसभा निर्वाचनमा ६ हजार ८ सय २ मत ल्याएर निर्वाचित भएका थिए ।
