जुम्लामा रास्वपाकी कठायतसहित ६ जनाको जमानत जफत

जुम्लामा १० वटा उम्मेदवार थिए । कुल सदर मतको १० प्रतिशत पनि कटाउन नसकेपछि उनीहरुको जमानत जफत भएको हो

फाल्गुन २५, २०८२

डीबी बुढा

जुम्ला — देशभर राष्ट्रिय स्वतन्त्र पार्टीको वर्चश्व भइरहँदा जुम्लामा भने विनिता कठायतले आफ्नो जमानत पनि बचाउन सकिनन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार उनी लगायत ६ जनाको जमानत जफत भएको छ ।

जुम्लामा १० वटा उम्मेदवार थिए ।  कुल सदर मतको १० प्रतिशत पनि कटाउन नसकेपछि उनीहरुको जमानत जफत भएको हो ।

रास्वपाकी कठायत, नेपाल मजदुर किसान पार्टीका बिर्खबहादुर रावत, नेकपा माओवादीका बिर्खबहादुर शाही, नेपाल जनता पार्टीका रनिल विक्रम शाही, प्रगतिशील लोकतान्त्रिक पार्टीका मनऋषि धिताल र स्वतन्त्र उम्मेदवार भक्तबहादुर रावलको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय जुम्लाले जनाएको छ ।

जुम्लामा रहेका कुल ७१ हजार ७३९ मतदाता मध्य प्रत्यक्षतर्फ ४० हजार ८७८ मत खसेको थियो । खसेको मतमध्ये गणना गर्दा १७ सय ५ मत बदर भएकोमा सदर भएको ३९ हजार १७३ मतको १० प्रतिशत मत ल्याउन नसक्ने उम्मेदवारहरुको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख दिपेन्द्र कंडेलले जानकारी दिए । 

रास्वपाले मुलुकभर जनलहर ल्याइरहँदा जुम्लामा जीत त धेरै टाढाको विषय थियो तर जमानत समेत जोगाउन सकिनन् । उनले ४२१ मत मात्रै प्राप्त गरिन । निर्वाचन सम्बन्धी ऐनमा गणना भएको सदर मतको १० प्रतिशत मत अनिवार्य ल्याउनु पर्ने व्यवस्था छ ।

‘६ उम्मेदवारले सदरमत ३९ सय १७ ल्याउनु पर्ने थियो । त्यो मत नआएपछि जमानत जफत भएको हो’ जिल्ला निर्वाचन अधिकारी कँडेलले भने । प्रगतिशील लोकतान्त्रिक पार्टीका मनऋषि धितालले १ सय १२ मत नेमकिपाका विर्षबहादुर रावतले ४ सय मत, नेकपा (माओवादी) का बिर्खबहादुर शाहीले ७१, नेपाल जनता पार्टीका रनिल विक्रम शाहीले ४३ र स्वतन्त्र उम्मेदवार भक्तबहादुर रावलले १४ मत प्राप्त गरे ।

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully