हुम्लामा कांग्रेसका जयपति रोकाया विजयी

नेकपा उम्मेदवार रोकायाले ७ हजार २ सय ४३ मत ल्याएका छन् । उनको जीतसॅगै कांग्रेसले ८ वर्षपछि आफ्नो विरासत फर्काएको छ ।

फाल्गुन २४, २०८२

कान्तिपुर संवाददाता

Congress' Jayapati Rokaya wins in Humla

सुर्खेत — हुम्लाबाट प्रतिनिधिसभा सदस्यमा ८ हजार ७ सय ९७ मतसहित नेपाली कांग्रेसका उम्मेदवार जयपति रोकाया विजयी भएका छन् ।

उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार दीपेन्द्र रोकायालाई १ हजार ५ सय ५४ मतान्तरले पराजित गरेका हुन् । नेकपा उम्मेदवार रोकायाले ७ हजार २ सय ४३ मत ल्याएका छन् । उनको जीतसॅगै कांग्रेसले ८ वर्षपछि आफ्नो विरासत फर्काएको छ । 

विजयी रोकाया कांग्रेसका पूर्व जिल्ला सभापति हुन् । उनले प्रत्यक्षतर्फ पहिलोपल्ट प्रतिनिधिसभाका लागि प्रतिस्पर्धा गरेका थिए । नेपाल विद्यार्थी संघ र तरुण दल हुम्लाको अध्यक्ष हुँदै उनी दुई कार्यकाल हुम्लाको पार्टी सभापति बनेका थिए ।

२०४० सालदेखि नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका उनी अहिले पार्टीको कर्णाली प्रदेश कार्यसमितिका सदस्य हुन् । २०७४ र २०७९ सालको प्रतिनिधिसभा सदस्यका लागि उनी समानुपातिक सूचीमा थिए । तर सांसद बन्ने अवसर पाएनन् ।

२०३५ सालमा जन्मिएका ४७ वर्षीय रोकाया सिमकोट गाउॅपालिकास्थित तल्लोगाउॅका बासिन्दा हुन् । उनले एसएलसीसम्मको अध्ययन पूरा गरेका छन् । गत प्रतिनिधिसभा निर्वाचनमा पूर्व माओवादीका छिरिङ डम्डुल लामा (भोटे) विजयी भएका थिए भने २०७४ को निर्वाचनमा स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामाले निर्वाचन जितेका थिए । पछि उनी माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

दोस्रो संविधानसभाको निर्वाचनमा क्षेत्र नं. १ बाट कांग्रेसका जीवनबहादुर शाही निर्वाचित भएका थिए । त्यसयता हुम्लामा प्रतिनिधिसभा सदस्यमा कांग्रेस उम्मेदवार विजयी हुन सकेका थिएनन् । 

विजयी भएसॅगै रोकायाले पिछडिएको जिल्लाको आवाज संसद्सम्म पुर्‍याउने र जिल्लालाई समृद्ध बनाउन आफूले पहल गर्ने बताए ।

‘हुम्लालाई मूलधारको राजनीतिसँग जोड्दै यहाँका भौगोलिक, सामाजिक, आर्थिक समस्या समाधानका लागि मेरो पहल हुनेछ,’ उनले भने, ‘भावनात्मक राजनीति होइन, परिणाम देखिनेगरि काम गर्न संसद्‍मा क्रियाशील हुनेछु ।’
-कृष्णप्रसाद गौतम 

कान्तिपुर

Link copied successfully