अहिलेको चुनावमा सुरक्षा चुनौती नभए पनि मतदान केन्द्रहरूको सुरक्षा संवेदनशीलताका आधारमा सुरक्षा व्यवस्थापन बलियो बनाएको प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जानकारी दिए ।
जुम्ला — फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लाका सबै मतदान स्थलमा सर्वदलीय बैठक सम्पन्न भएको छ । बैठकले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउने निर्णयसमेत गरेको छ । जिल्लामा कुल ८५ वटा मतदान स्थल छन् । निर्वाचन सामग्रीसहित कर्मचारी मतदान केन्द्रमा पुगेका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाका अनुसार जिल्लाको दुर्गम मानिएका गुठिचौर गाउँपालिकाको चोत्रा, कनकासुन्दरीको सिप्टी मार्फन, काभ्रा, झ्यारी, चौथा तिला गाउँपालिकाको सुडी, घोडे, खोप्री, तातोपानीको ताम्ती, बारागाउँलगायत मतदान स्थलमा कर्मचारीदेखि सुरक्षाकर्मी पुगेको सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सिनाले बताए ।
उनका अनुसार जुम्लाका ८५ वटै मतदान स्थलमा सर्वदलीय बैठक सकिएका छन् । १ सय १० मतदान केन्द्र रहेका छन् । मतदान अधिकृतहरूले सर्वदलीय र सर्वपक्षीय बैठक सम्पन्न गरेको जानकारी पठाएका छन् । बैठकमा राजनीतिक दलका पालिका र वडास्तरीय समितिका पदाधिकारी र सदस्यहरू सहभागी थिए । उनीहरूले निर्वाचनलाई शान्त, मर्यादित, भयरहित र धाँधलीरहित वातावरणमा निर्वाचन गराउन सबैले सहमति जनाएका छन् । मतदान स्थलमा महिला, पुरुष, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिकका लागि मतदानको सहज व्यवस्थापनका लागि लाइन व्यवस्थापनको समेत काम भइसकेको छ ।
जुम्लामा ६ सय ५४ जना कर्मचारी निर्वाचनमा खटिएका छन् । अहिलेको चुनावमा सुरक्षा चुनौती नभए पनि मतदान केन्द्रहरूको सुरक्षा संवेदनशीलताका आधारमा सुरक्षा व्यवस्थापन बलियो बनाएको प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जानकारी दिए ।
