कर्णालीमा खटिए ८ हजार ६ सय कर्मचारी र साढे १८ हजार सुरक्षाकर्मी

कर्णालीमा ४ सय ४१ मतदान केन्द्र अति संवेदनशील मानिएका छन् । त्यस्तै ३ सय १ सामान्य र ६ सय ५१ संवेदनशील सूचीमा रहेको प्रदेश प्रहरी प्रमुख डीआईजी जयराज सापकोटाले बताए ।

फाल्गुन १९, २०८२

कृष्णप्रसाद गौतम

8,600 employees and 18,500 security personnel deployed in Karnali

What you should know

सुर्खेत — बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनका लागि कर्णालीमा ८ हजार ६ सय ३५ कर्मचारी र १८ हजार ५ सय २८ जना सुरक्षाकर्मी खटिएका छन् । १२ निर्वाचन क्षेत्र रहेको कर्णालीमा १० लाख ३७ हजार २ सय ५० मतदाता छन् । जसका लागि ९ सय ४१ मतदान स्थल र १ हजार ४ सय ३७ मतदान केन्द्र कायम गरिएको छ । 

प्रदेश निर्वाचन कार्यालयका अनुसार सबैभन्दा बढी सुर्खेतमा १ हजार ८ सय १८ र सबैभन्दा कम हुम्लामा ३ सय ६९ कर्मचारी खटाइएको हो । ‘प्रदेशभरिका सबै मतदान केन्द्रमा आवश्यक सामग्रीसहित कर्मचारी पुगिसकेका छन्,’ प्रदेश निर्वाचन अधिकारी लालबहादुर गुरुङले भने, ‘मतदान केन्द्रहरूमा आवश्यक व्यवस्थापनका काम सुरु भइसकेका छन् ।’

निर्वाचनका लागि कर्मचारीहरूसहित ५१ प्रकारका सामग्री मतदान केन्द्रमा पुगिसकेको उनले जानकारी दिए । उनका अनुसार निर्वाचनका लागि मतपत्र, मतपेटिका, स्वस्तिक छापलगायत सामग्री सम्बन्धित मतदान केन्द्रमा पठाइएको हो ।

कर्णालीका पहाडी र सडक सुविधा पुगेका मतदान केन्द्रहरूमा पैदल तथा सडक मार्गबाट कर्मचारी र सुरक्षाकर्मी पठाइएको हो भने उच्च हुम्ला र डोल्पाका २४ मतदान केन्द्रमा हेलिकप्टरमार्फत कर्मचारी र निर्वाचन सामग्री पठाइएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । उनले निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । 

त्यस्तै कर्णालीभरि १८ हजार ५ सय २८ जना सुरक्षाकर्मी खटाइएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार नेपाल प्रहरीले निर्वाचन प्रहरीसहित १५ हजार ३ सय २८ सुरक्षाकर्मी खटाएको हो । त्यस्तै सशस्त्र प्रहरी बलले निर्वाचन प्रहरीसहित ३ हजार २ सय प्रहरी खटाएको छ ।

कर्णालीमा ४ सय ४१ मतदान केन्द्र अति संवेदनशील मानिएका छन् । त्यस्तै ३ सय १ सामान्य र ६ सय ५१ संवेदनशील सूचीमा रहेको प्रदेश प्रहरी प्रमुख डीआईजी जयराज सापकोटाले बताए । ‘सबै मतदान केन्द्रमा सुरक्षाकर्मीको टोली पुगिसकेको छ, अहिलेसम्म सबै अवस्था नर्मल छ,’ उनले भने, ‘जिल्ला र प्रदेशस्तरमा पनि थप सुरक्षाकर्मी हाइ अलर्ट अवस्थामा राखेका छौं ।’

कृष्णप्रसाद गौतम कान्तिपुरका सुर्खेत संवाददाता हुन् ।

Link copied successfully