सुर्खेतमा निर्वाचन सुरक्षा तयारी पूरा

जिल्लाको शान्ति सुरक्षाको अवस्थालाई मजबुत बनाउनका लागि जिल्ला सुरक्षा समितिले नियमित रूपमा अनुगमन गरिरहेको प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समितिका प्रमुख जगदीश्वर उपाध्यायले बताए ।

फाल्गुन १४, २०८२

तृप्ति शाही

Election security preparations complete in Surkhet

What you should know

वीरेन्द्रनगर — आगामी फागुन २१ मा हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनका लागि सुर्खेतमा सुरक्षा तयारी पूरा भएको बताइएको छ । जिल्लाका दुवै निर्वाचन क्षेत्रमा सुरक्षाको तयारी अन्तिम चरणमा पुगेको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको हो ।

निर्वाचन सुरक्षाको सम्पूर्ण तयारी पूरा गरिएको प्रमुख जिल्ला अधिकारी जगदीश्वर उपाध्यायले जानकारी दिए । कान्तिपुरसँग कुराकानी गर्दै उनले भने, ‘निर्वाचनका लागि सुरक्षासँगै अन्य सम्पूर्ण जनशक्ति खटाइसकिएको छ । निर्वाचन केन्द्रित शान्ति सुरक्षा प्रयोजनका लागि खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना खटिसकेको छ । थप सुरक्षाकर्मी र अन्य कर्मचारी १८ गतेभित्र सम्बन्धित स्थानमा पुग्ने गरी कार्ययोजना बनाएका छौं ।’

जिल्लाको शान्ति सुरक्षाको अवस्था बलियो बनाएको दाबी उनले गरे । उनका अनुसार जिल्लामा अहिलेसम्म १२ स्थानमा नेपाली सेना, ३२ ठाउँमा सशस्त्र प्रहरी र १ सय ४० मतदान स्थल र अन्य प्रत्येक पालिका समेट्ने गरी १ सय ७९ स्थानमा नेपाल प्रहरी खटिएको छ । हालसम्म जिल्लामा कुनै अप्रिय घटना नभएको उनले बताए । शान्तिपूर्ण तरिकाले निर्वाचन सम्पन्न गराउनका लागि सबै तहका सुरक्षा निकाय सक्रिय रूपमा परिचालित भएको उनको भनाइ छ । 

जिल्लामा सबै राजनीतिक दल र उम्मेदवारले सौहार्दपूर्ण रूपमै आमसभा लगायतका कार्यक्रम आ–आफ्नो समय लिएर गरिरहेका छन् । उनले भने, ‘मतपेटिका ढुवानीका लागि पनि कार्ययोजना बनाएर सवारीसाधनको व्यवस्थापनको तयारी अन्तिम अवस्थामा पुर्‍याएका छौं ।’

१ सय ४० मतदान स्थल भएको जिल्लामा २ अस्थायी मतदान स्थल छन् । ३ सय ५ वटा मतदान केन्द्र छन् । जसमा २० मतदान स्थललाई अति संवेदनशीलको सूचीमा राखिएको छ । ८७ मतदान स्थललाई संवेदनशीलको सूचीमा राखिएको छ भने अन्यलाई सामान्यमा राखिएको छ । विकटता, भौगोलिक अवस्था, विगतमा भएका घटनाको आधारमा जिल्ला सुरक्षा समितिले मतदान स्थलको वर्गीकरण गरेको हो । 

निर्वाचनका लागि जिल्लामा ९ सय ३५ नेपाल प्रहरी, २ सय ३८ सशस्त्र प्रहरी, ५ सय १२ नेपाली सेना खटिनेछन् । यस्तै १ हजार ८ सय ४० निर्वाचन प्रहरी पनि निर्वाचनको सुरक्षाका लागि खटिनेछन् ।

जिल्लाको शान्ति सुरक्षाको अवस्थालाई मजबुत बनाउनका लागि जिल्ला सुरक्षा समितिले नियमित रूपमा अनुगमन गरिरहेको प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समितिका प्रमुख उपाध्यायले बताए । 

अहिलेसम्म जिल्लामा लिखित रूपमा निर्वाचन आचारसंहिता उल्लंघनका घटनाको उजुरी नपरेको उनले बताए । मौखिक रूपमा आएका घटनालाई सम्बोधन गरिएको बताउँदै उनले घटनाहरू दोहोरिन नपाएको बताए ।

यो पटक सामाजिक सञ्जालमा हुने निर्वाचन आचारसंहिता उल्लंघनका घटनालाई पनि निगरानी गरिएको छ । यसका लागि जिल्लामा साइबर सेलको स्थापना गरिएको छ । यसमा प्रहरीको साइबर सेल हेर्ने टिम र नेपाल टेलिकमका कर्मचारीलाई निगरानीका लागि राखिएको छ । उनीहरूले सामाजिक सञ्जाललाई निगरानीमा राख्दै काम गरिरहेका छन् ।

तृप्ति शाही शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully