कर्णालीका पूर्वमुख्यमन्त्री शर्मा सांसदबाट पदमुक्त

पूर्वमुख्यमन्त्री राजकुमार शर्मा पछिल्लो समय जनार्दन शर्माको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)मा लागेका थिए । प्रलोपामा लागेपछि उनलाई नेकपाले साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको जानकारी प्रदेश सभालाई गराएको थियो ।

फाल्गुन १३, २०८२

कृष्णप्रसाद गौतम

सुर्खेत — कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्मा प्रदेश सभा सदस्यबाट पदमुक्त भएका छन् । साविक माओवादी केन्द्रबाट रुकुम पश्चिम क्षेत्र नम्बर १ (२)बाट प्रदेश सभा सदस्यमा २० हजार १ सय ६० मतसहित निर्वाचित शर्मा २७ पुस २०७९ देखि २१ चैत २०८० सम्म कर्णालीको मुख्यमन्त्री बनेका थिए । 

पछिल्लो समय पूर्वमुख्यमन्त्री शर्मा जनार्दन शर्माको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)मा लागेका थिए । प्रलोपामा लागेपछि  उनलाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको जानकारी प्रदेश सभालाई गराएको थियो । नेकपा संसदीय दलले गरेको निर्णयका आधारमा कर्णाली प्रदेश सभा सचिवालयले बुधबार सूचना जारी गर्दै उनलाई सांसद पदबाट पदमुक्त गरेको औपचारिक जानकारी दिएको हो ।

सचिवालयका अनुसार शर्मालाई राजनीतिक दलसम्बन्धी ऐन–२०७३ को दफा ३४ को उपदफा (१)बमोजिम पार्टीबाट निष्कासन गरिएको पत्र दर्ता भएको थियो ।

राजनीतिक दलसम्बन्धी ऐनअनुसार जुन दलबाट निर्वाचित भएको हो सोही दलले निष्कासनको सूचना प्रदेश सभामा जानकारी गराएपछि सांसद पद रिक्त हुने कानुनी व्यवस्था रहेको सचिवालयका कानुन अधिकृत मदन खड्काले बताए । उनका अनुसार अब कर्णाली प्रदेशसभा ३९ सदस्यीय बनेको छ ।

कृष्णप्रसाद गौतम गौतम कान्तिपुरका सुर्खेत संवाददाता हुन् ।

Link copied successfully