चुनावी प्रयोजनका लागि प्रयोग हुने हेलिकप्टोरमा १० देखि १५ वटा वर्ल्डलिंक इन्टरनेट टावर, राउटर लगायतका उपकरण र प्राविधिकको माग गरिएको छ ।
डोल्पा — हिमाली जिल्ला डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पामा इन्टरनेट टावर लगिदिन जनप्रतिनिधिले माग गरेका छन् ।
गत कात्तिकदेखि शे–फोक्सुण्डो गाउँपालिकामा पर्ने भिजेर र साल्दाङ लगायतका सात वटा वडामा इन्टरनेट सेवा अवरुद्ध छ ।चुनावी प्रयोजनका लागि उपल्लो डोल्पा जाने हेलिकप्टोरमा १० देखि १५ वटा वर्ल्डलिंक इन्टरनेटको रिपिटर टावर, राउटर लगायतका उपकरण र जडान गर्ने प्राविधिक समेत लगिदिन जनप्रतिनिधिले माग गरेका हुन् ।
हिमपातका कारण पैदल उपल्लो डोल्पा जान र आवश्यक उपकरण लैजान समस्या छ । आसन्न प्रतिनिधिसभा चुनावका लागि कर्मचारी र निर्वाचन सामाग्री लिएर हेलिकोप्टर उपल्लो डोल्पा जाने भएकाले त्यसमै इन्टरनेटका सामग्री तथा प्राविधिक माग गरिएको उपाध्यक्ष पेम्मा वाङ्छेन गुरुङले बताए ।
‘अहिले पालिकाका १ देखि ७ नं वडासम्म कुनै पनि इन्टरनेट चलेको छैन । धेरैजसो ठाउँमा फोनसम्म लाग्दैन । कोमास र सिमेनबीचमा रिपिटर टावर नभएकै कारण इन्टरनेट अवरुद्ध छ,’ उनले भने ।
५ महिनादेखि फोन र इन्टनरेट सेवा नहुँदा उपल्लो डोल्पावासी ठूलो समस्यामा परेका छन् । 'निर्वाचन आयोग, जिल्ला प्रशासन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय लगायतका निकायले हाम्रो माग सुन्नुपर्यो,' गुरुङले भने ।
भाैगाेलिक रुपमा विकट उपल्लो डाेल्पाका सर्वसाधारण शिक्षा, स्वास्थ्य, सञ्चार, विद्युत् र सडक पूर्वाधारकाे समस्याले पीडित छन् ।
