बाक्लो हिमपातले बाटो बन्द हुँदा जाडो छल्ल काठमाडौं, नेपालगन्ज, सुर्खेत, चीनको ताक्लाकोट लगायतका स्थानमा पुगेका मतदाता अझै गाउँ फर्किन सकेका छैनन् ।
What you should know
वीरेन्द्रनगर — प्रतिनिधिसभा सदस्य चयनका लागि मतदान हुन अब १० दिन मात्र बाँकी छ । चुनाव नजिकिएसँगै मुलुकभर प्रचारप्रसार र मतदाता आकर्षित गर्ने होडबाजी चलिरहेको छ । जिल्लामा निर्वाचन सामग्री, मतपत्र ढुवानीदेखि कर्मचारी खटनपटनको काम भइरहेको छ ।
तर, कर्णाली प्रदेशका हिमाली गाउँमा उम्मेदवार र मतदाता पुग्न सकेका छैनन् । प्रदेशका हुम्ला, डोल्पा र मुगुका हिमाली क्षेत्र मतदाताविहीन छन् । बाक्लो हिमपातले बाटो बन्द हुँदा जाडो छल्ल काठमाडौं, नेपालगन्ज, सुर्खेत, चीनको ताक्लाकोट लगायतका स्थानमा पुगेका मतदाता अझै गाउँ फर्किन सकेका छैनन् । हिमपातले स्थलमार्ग बन्द हुँदा उम्मेदवारहरू पनि चुनावी प्रचारका लागि गाउँ पुग्न सकेका छैनन् ।
न्यालु र नारा लेकको हिँउले बान्टो बन्द हुँदा गाउँमा मतदाता पुग्न नसकेको हुम्लाको नाम्खा–६ का वडाध्यक्ष पाल्जोर तामाङले जानकारी दिए । उनका अनुसार वडाका हल्जी, जाङ र तिल गाउँका स्थानीयले चिसो छल्नका लागि गाउँ छोडेका थिए । बाटो बन्दका कारण उनीहरू अहिलेसम्म पनि फर्किन सकेका छैनन् । ‘गाउँका ६ सय ७२ मध्ये २० प्रतिशत मतदाता मात्र छन्,’ उनले भने, ‘विकल्प खोज्नका लागि निर्वाचन आयोगलाई भनेका थियौं । केही सुनुवाइ भएको छैन । मतदातै नभएपछि कसरी चुनाव हुन्छ भन्ने लागेको छ ।’
हिमाली गाउँमा चुनावी सामग्री र कर्मचारीलाई हेलिकप्टरबाट ओसारिएको छ । सामग्री उपलब्ध भए पनि मतदाताको अभावमा चुनाव कसरी गर्ने भन्ने चिन्ता भइरहेको उनले बताए । ‘हिमपातले ५ हजार मिटरको न्यालु र ४६ सय मिटर उचाइको नारा लेकको बाटो पूर्ण रूपमा बन्द भएको छ,’ उनले भने, ‘चुनावका लागि गाउँ पर्किन खोज्ने मतदाता पनि फर्किन पाएका छैनन् ।’
डोल्पाको शे–फोक्सुन्डोका ११ मतदान स्थलमध्ये ८ वटामा हिउँकै कारण मतदाता जान सक्ने अवस्था नभएको गाउँपालिका अध्यक्ष धावा सम्डुक गुरुङले जानकारी दिए । जाडो छल्ल बेसी झरेका मतदाता गाउँ फर्किने सम्भावना कमै रहेको उनले बताए । मुगुको कार्मारोङ गाउँपालिका अध्यक्ष छिरिङ क्याप्रे लामाले १ देखि ४ नम्बर वडासम्मका अधिकांश गाउँमा मतदाता नभएको बताए । मौसममा थप सुधार नभएर यही अवस्था कायम रहेमा मतदान गर्न गाह्रो हुने उनको भनाइ छ ।
हिमपातले गर्दा यस क्षेत्रका उम्मेदवारलाई पनि घरदैलो गर्न सकस भइरहेको छ । उनीहरू सबै गाउँमा घरदैलोका लागि पुग्न सकेका छैनन् । हुम्लाबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार टासी ल्हान्जोम आफ्नै गाउँ लिमीमा पुग्न सकेकी छैनन् । बाक्लो हिमपातले गर्दा अहिलेसम्म गाउँ पुग्न नसकेको उनले बताइन् । जिल्ला प्रशासनले बाटो खुलाउन प्रयास जारी रहेको जनाएकाले सुधारका लागि पर्खिरहेको उनले बताइन् ।
हिमपातले अवरुद्ध बाटो खुलाउन निरन्तर छलफल भइरहेको हुम्लाका प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले बताए । तत्काल न्यालु लेकबाट सम्भव नभएकाले सिमकोट–हिल्सा सडक खण्डमा पर्ने यारीबाट स्थलमार्ग खोल्ने विषयमा प्राविधिक अध्ययन भइरहेको उनले बताए । चुनावको समयको मौसमी रिपोर्टका आधारमा के गर्ने भन्ने छलफल केन्द्रित हुनेछ ।
नेपाली सेनाको स्काई ट्रकबाट हुम्ला, डोल्पा र मुगुमा निर्वाचन सामग्री पुर्याइसकिएको छ । सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर प्रयोग गरेर निर्वाचन सामग्री पुर्याइएको थियो । निर्वाचनका लागि आवश्यक सामग्री र कर्मचारी हेलिकप्टरको प्रयोगबाट सम्बन्धित स्थानमा पुर्याउने तयारी भइरहँदा मतदाता भने गाउँमा पुग्न सकेका छैनन् ।
