कांग्रेस कालीकोटको निर्वाचन क्षेत्र 'ख'का पार्टी प्रवक्ता तथा जिल्ला समिति सदस्य युवा नेता जनम प्रसाद न्यौपाने मान्ममा आयोजित चुनावी सभामा सहभागी भएर सोमबार घर फर्किने क्रममा मोटरसाइकल दुर्घटनामा परेका थिए ।
कालीकोट — मोटरसाइकल दुर्घटनामा पचालझरना-४ लाफाका ३३ वर्षीय कांग्रेस युवा नेता जनम प्रसाद न्यौपानेको निधन भएको छ । कांग्रेस कालीकोटको निर्वाचन क्षेत्र 'ख'का पार्टी प्रवक्ता तथा जिल्ला समिति सदस्य न्यौपाने मान्ममा आयोजित चुनावी सभामा सहभागी भएर सोमबार घर फर्किने क्रममा मोटरसाइकल दुर्घटनामा परेका हुन् ।
मान्मबाट कर्णाली राजमार्ग हुँदै कर्णाली करिडोरतर्फ जाँदै गर्दा भे ६ प ३३३१ नम्बरको मोटरसाइकलमा सवार न्यौपाने खाडाचक्र -२ छहरा नजिकै दुर्घटनामा परेको कालीकोटका प्रहरी प्रमुख डीएसपी हिमबहादुर खत्रीले बताए । 'तीव्र गतिका कारण मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको अनुमान छ,' उनले भने, 'मोटरसाइकल सडकमै पल्टिए पनि न्यौपाने उछिटिएर एक सय मिटर तल भीरमा खसे ।' न्यौपानेलाई भीरबाट निकालेर जिल्ला अस्पताल मान्म नपुर्याउँदै निधन भइसकेको प्रहरीले जनाएको छ ।
दुर्घटनाको खबर आएपछि अस्थायी प्रहरी पोस्ट हुल्मबाट सहायक प्रहरी निरीक्षक रविन शाहीको नेतृत्वमा गएको चार जना प्रहरी टोलीले बाहिरी चोट नदेखिएको अवस्थामा भीरबाट उद्धार गरेर अस्पताल पठाएको थियो ।
कांग्रेस कालीकोटका युवा नेता न्यौपानेको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको पार्टी सभापति अम्मबहादुर शाहीले बताए । न्यौपानेको निधनले कालीकोट जिल्ला शोकाकूल भएको उनले सुनाए ।
