पछिल्लो समयमा स्थानीयले तिला नदीको पानी सुद्धीकरण गरेर घरघरमा धारा पुर्याइदिन माग गरेका छन् ।
What you should know
जुम्ला — जुम्ला तातोपानी–१ बाइराँका गाउँका मीनबहादुर शाही २०६४ सालदेखिका हरेक चुनावमा खानेपानी आयोजना बनाइदिनुपर्ने भन्दै उम्मेदवारसामु आवाज उठाइरहन्छन् । उतिबेला हरेक उम्मेदवारले आफ्नो प्राथमिकता खानेपानी आयोजना भएकोमा बाचा गर्दै आएका छन् ।
तर, जब चुनाव जितेर संसद्मा प्रवेश गर्छन् अनि बाइराँका गाउँमा बाचा विर्षन्छन् । अहिले बाइराँका गाउँका मतदाताले उम्मेदवारहरु प्रति विश्वास मान्न छाडेका छन् ।
उनले भने, ‘ हामीले वर्षौंदेखि पानी माग्यौं । उनीहरुले बचन दिइराखे । तर पानी पुर्याइदिएनन् । पाँच दशकदेखि यहाँको खानेपानीको माग अहिलेसम्म सम्बोधन हुन सकेन ।’ अहिले गाउँमा एक धारो छ । त्यही धारोमा पनि घन्टौंसम्म ट्यांकीमा पानी जम्मा पारेपछि मात्रै पानी खस्छ । एकाबिहानै गाग्री बोकेर लाइनमा बस्नुपरेको स्थानीय शान्ति शाहीले दुखेसो पोखिन् ।
उनले भने, ‘पानी भर्न पालो कुनुपर्ने बाध्यता छ । तर हरेक चुनावमा पानी ल्याइदिने बाचा यथावत छ ।’ गाउँलेहरु अहिले नजिकै रहेको तिला नदीमा गएर खानेपानी बोकिरहेका छन् । २०५६ सालमा नेकपा एमालेका देविलाल थापाले चुनाव जिते । उतिबेला पनि यहाँको खानेपानीको माग चर्को रुपमा उठेको थियो । त्यो अहिलेसम्म कायम छ ।
‘२०६४ सालमा गाउँलेहरु आन्दोलनमा उत्रिए । उनीहरुले जिल्ला प्रशासन कार्यालयमा पुगेर धर्ना दिए । रित्ता गाग्री र जर्किनहरु प्रदर्शन गरे । न राज्यले सुन्यो नत जनप्रतिनिधिको ध्यान नै पुग्यो,’ स्थानीय तिलबहादुर शाहीले भने, ‘बाइराँका गाउँप्रति राज्य किन अनुदार छ । यहाँको खानेपानी समस्याले बस्ती संकटमा छ ।’
जिल्ला प्रशासन कार्यालयमा पटक–पटक डेलिगेशन जाने देखि, अनसन बस्ने र तत्कालीन जिल्ला विकास समितिमा तालासमेत स्थानीयले लगाए । गाउँ नजिकै पानीका मुहान छैनन् । छिमेकी गाउँहरुमा मुहान खोज्न धेरै पहल गरे । तर पानीको मुहान भेटिएन । पछिल्लो समयमा स्थानीयले तिला नदीको पानी सुद्धिकरण गरेर घरघरमा धारा पुर्याइदिन माग गरेका छन् । अहिलेसम्म गाउँमा चार जना उम्मेदवार पुगेका छन् ।
उनीहरुले खानेपानी पुर्याइदिने बाचा दोहोर्याएका छन् । तर मतदाताले विश्वास मानिरहेका छैनन् । नदीको पानी लिफ्टिङ गरेर गाउँ पुर्याउने प्रयास पनि भए तर निकै महँगो पर्ने भएकोले स्थानीयले धान्न सकेनन् ।
‘हरेक चुनावमा हामीले पानी माग्यौं, उम्मेदवारले भोट मागिरहे । तर पानी पुगेन । उम्मेदवारले जितेर संसदमा पुगे । न खानेपानी समस्याका बारेमा बोले नत बाइराँकाबासीको माग पूरा गर्न तदारुकता नै देखाए । तिला नदीको दुषित पानी पिउनुपरेको छ,’ तिलबहादुरले थपे । हिउँदमा नदीको पानी खासै फोहोर देखिदैन् तर वर्षायाममा धमिलो पानी आइरहने भएकोले चिन्ता मानीमानी पिउनु परेको छ । बाइराँकाबासीले अहिले कि खानेपानी पुर्याइदिन त कि बसाइँ सारिदिन माग गरेका छन् । गाउँमा पहिले सानो मुहान थियो । उतिबेला सानो बस्ती भएकोले त्यही पानीले पुगेको थियो । अहिले जनसंख्या थपिएको छ । बस्ती विस्तार भएको छ । हरेक वर्षमा पानीको संकट थपिरहेको छ । अहिले पिउने पानी मात्रै नभइ सरसफाइ गर्ने, गाइवस्तुलाई नदिमै लैजानुपर्ने अवस्था छ ।
अहिले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार गाउँमा भोट माग्न आइरहन्छन् । उनीहरुलाई मतदाताले साझा समस्याका रुपमा खानेपानी संकटको विषय जोडदारले उठाइरहन्छन् । खानेपानी नयाँ समस्या होइन । स्थानीय तह, प्रदेश र संघको निर्वाचनमा पटक–पटक उठ्दै आएको छ । सबै दलका उम्मेदवार पुगे तर बाइराँकाबासीको स्वच्छ खानेपानी पिउने सपना पूरा हुन सकेन ।
अहिले गाउँमा १७० घर छन् । ति मध्ये ८५ घर दलित समुदायका छन् । गाउँको माथि सुख्खा डाँडा भएकोले पानीको मुहान छैनन् । ‘निर्वाचनको बेला सबै आउँछन् । पानी सपना बाँडिरहन्छन् । तर जितेपछि गाउँ नफर्किने बानी जुम्ली जनप्रतिनिधिको बानी नै बसेको छ,’ कालीबहादुर शाहीले भने, ‘अहिले पनि गाउँको खानेपानीको बारेमा नसोचिए झनै संकट सिर्जना हुने देखिएको छ ।’
अहिलेसम्म प्रतिनिधिसभाका ६ चुनाव भए । सबै चुनावमा यहाँको खानेपानीको विषय उठिरहृयो । तर अहिलेसम्म पानी पुग्न सकेको छैन । प्रदेशसभा र स्थानीयतहले त बजेट समेत अभाव देखाउँदै बाहना बनाइरहन्छन् ।
स्थानीय युवा अगुवाका अनुसार अहिले स्थानीयतहसँग समन्वय गरेर एउटा गैरसरकारी संस्थाले खानेपानीको काम गर्ने भनिरहेको छ । अहिले सर्भेदेखि गाउँमा खानेपानीको अवस्थाका बारेमा अध्ययन गरिरहेको छ ।
