अपांग–अशक्त मैत्री छैनन् सल्यानका मतदानस्थल

जिल्लामा अधिकांश मतदानस्थल विद्यालयमा छन् । मतदान केन्द्रसम्म पुग्ने सडकको अवस्था गतिलो नभएकाले मतदान केन्द्र अपांग, अशक्त मैत्री बन्न नसकेका हुन् ।

फाल्गुन ९, २०८२

विप्लव महर्जन

Polling stations in Salyan are not disabled-friendly

What you should know

सल्यान — फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि सल्यानमा १ सय १७ मतदानस्थल र २ सय ५ मतदान केन्द्र छन् । पछिल्लो समय धेरैजसो मतदानस्थल नजिकैसम्म सडक पुगे पनि अपांग र अशक्तमैत्री बन्न सकेका छैनन् ।

जिल्लामा अधिकांश मतदानस्थल विद्यालयमा छन् । मतदान केन्द्रसम्म पुग्ने सडकको अवस्था गतिलो नभएकाले मतदान केन्द्र अपांग, अशक्त मैत्री बन्न नसकेका हुन् । 

जिल्लामा अहिले अपांगता भएकाहरुको संख्या ७ हजार बढी रहेको छ । त्यसमध्ये क र ख वर्गका अपांगता भएका मतदाता मात्रै ४ हजार जना बढी छन् । मतदानस्थल अपांगमैत्री नहुँदा क र ख वर्गका अशक्त अझ बढी समस्यामा पर्दै आएका छन् ।

भौगोलिक विकटताका साथै सडक गतिलो नहुँदा अपांगता भएका पुरुष तथा महिलालाई अहिले पनि मतदानस्थल तथा मतदान केन्द्रसम्म पुग्न कठिनाई हुने गरेको छ । जसका कारण अपांगता भएका, अशक्तले एक्लै तथा हिृवलचियरमा जान नसक्ने हुँदा सहज रुपमा मतदान गर्नबाट बन्चित हुँदै आएका छन् । मतदानका लागि उनीहरुले विभिन्न किसिमको सास्ती भोग्नु परेको छ । 

मतदानस्थल तथा मतदान केन्द्र अपांग, अशक्त, जेष्ठ नागरिक मैत्री नभएपछि समस्यामा परेकाले आफ्नो मतदान गर्ने अधिकारबाट बन्चित हुन नपरोस् र सहज रुपमा मतदान गर्न पाउन भन्दै मानव अधिकार रक्षक सञ्जाल सल्यानले प्रमुख जिल्ला अधिकारीलाई मतदानस्थल अपांग, अशक्त, जेष्ठ नागरिक मैत्री बनाउन समेत माग राखेको छ । 

गतिलो सडक नभएको, मतदान केन्द्रभित्र छिर्नका लागि बनाएको सिढीलगायत अन्य व्यवस्थापन नभएकाले मतदानस्थल तथा मतदान केन्द्र अपांग, अशक्त मैत्री नभएको कल्याणकारी अपांग संघ सल्यानका अध्यक्ष कृष्ण बुढाथोकीले बताए । गाडी पुग्ने भए भन्दैमा मतदानस्थल अपांगमैत्री नहुने उनले बताए । ‘धेरै मतदानस्थल तथा मतदान केन्द्रमा गाडी पुग्ने सडक छ । सडक गतिलो नहुँदा ह्विलचियरमा एक्लै जान सकिँदैन। अपांगता भएका तथा अशक्तलाई बस्नको लागि, पानी, शौचालयको उचित ब्यवस्थापन पनि हुँदैन । कसरी हुन्छ अपांग तथा अशक्त मैत्री,’ उनले भने । प्रत्येक निर्वाचनमा मतदानस्थल, मतदान केन्द्र अपांग, अशक्त मैत्री बनाउन सम्बन्धित निकाय समक्ष माग राख्दै आए पनि कुनै सुनुवाई नभएको उनको भनाई छ । 

निर्वाचन कार्यालयले जहिले पनि शान्त र सुरक्षित वातावरणमा निर्वाचन सम्पन्न गर्ने कुरालाई मात्रै जोड दिँदै आएको र मतदानस्थल तथा मतदान केन्द्र अपांग, अशक्त मैत्री बनाउन नसकेको कल्याणकारी अपांग संघ सल्यानका सचिव टेकबहादुर चलाउनेले बताए । अपांग तथा अशक्त मैत्री नभएकै कारण निर्वाचनका बेला मतदान गर्न जाँदा धेरै गाह्रो हुने गरेको उनले बताए ।

उनका अनुसार जिल्लाका सबैजसो मतदानस्थल तथा मतदान केन्द्र विद्यालयमै छन् । परम्परागत तथा आधुनिक रुपमा बनाइएका विद्यालय भवन अपांगमैत्री नभएकाले समस्या भएको छ । ‘मेरो एउटा खुट्टाले काम गर्दैन, त्यही भएर हिँडेर कतै जान सक्दिन । चार पांग्रे स्कुटी चलाएर मतदानस्थल बाहिरसम्म सजिलै जान सक्छु तर साँघुरो सडक र सिढीका कारण भित्र जाने बेला साथी चाहिन्छ,’ उनले भने, ‘सामान्यलाई त खासै समस्या छैन बहुअपांगता भएकालाई धेरै गाह्रो छ ।’ 

क वर्गको अपांगता भएका शारदा नगरपालिका–७ कजेरी घरभएका ६० वर्षीय तोकलाल खड्काले आधा घन्टाको दुरीमा रहेको कालिमा माविमा रहेको मतदानस्थल गतिलो सडक नभएकाले मतदान गर्नका लागि अरुको भर पर्दै आएको बताए । आउजाउमै समस्या हुने भएकाले कतिपटक मतदान नै नगरेको उनले बताए । ‘मतदानस्थलभित्र पुग्न सके त पालो पनि कुर्न पर्दैन, तर आउजाउमा धेरै समस्या हुन्छ,’ उनले भने। 

बन्गाड कुपिण्डे नगरपालिका–१२ निगालचुलामा दुई मतदान केन्द्र रहेकोमा दुबै अपांग, अशक्त मैत्री नभएको वडाध्यक्ष लालबहादुर घर्तीले बताए । अपांगता भएका, अशक्तलाई सधैं आफन्तले बोकेर ल्याउनु पर्ने अवस्था रहेको उनले बताए । 

प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटाले १ सय १७ मतदानस्थल र २ सय ५ मतदान केन्द्र मध्ये धेरैजसो संवेदनशील भएकाले सुरक्षाको दृष्टिले अनुगमन भइरहेको बताए । मतदान केन्द्रलाई अपांग, अशक्त, जेष्ठ नागरिक मैत्री बनाउने प्रयास पनि भइरहेको बताए । मतदानस्थलसम्म पुग्ने सडक गाडी गुड्ने लायकको बनाउन, खानेपानी, शौचालयको ब्यवस्था गर्न पालिकालाई सहयोगका लागि आग्रह गरिएको उनले बताए ।  अपांगता भएका अशक्त, जेष्ठ नागरिकको लागि छुट्टै मतदानस्थलको ब्यवस्था गर्न नसकिए पनि उनीहरुलाई लाईनमा बसेर लामो समय पालो कुर्न नपर्ने उनको भनाई छ । 

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully