२०३७ सालमा स्थापना भएको प्राविधिक शिक्षालयको जीर्ण भवन मर्मत गर्ने, पठनपाठन व्यवस्थित बनाउने र कोठा थप गर्ने विषय प्राथमिकतामा नपरे पनि अहिले शिक्षालयलाई विश्वविद्यालय बनाउने आश्वासन दिएर उम्मेदवारहरु घरदैलोमा पुगिरहेका छन् ।
What you should know
जुम्ला — फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवारहरुले कर्णाली प्राविधिक शिक्षालयलाई विश्वविद्यालय बनाउने संकल्प गरेका छन् । केहीले बाचापत्र, केहीले प्रतिज्ञा पत्र त केहीले संकल्प पत्र निकालेर कर्णाली प्राविधिक शिक्षालयको स्तरोन्नति गरेर विश्वविद्यालय बनाउने प्रतिबद्धता जनाएका हुन् ।
एमाले जुम्लाले बाचापत्र निकालेर ३ नम्बर बुँदामा कर्णाली प्राविधिक शिक्षालयलाई कृषि तथा पर्वतीय विश्वविद्यालय बनाउन प्राथमिकता दिने उल्लेख गरेको छ । कांग्रेसले प्रतिज्ञापत्रको २ नम्बरमा शिक्षालयलाई प्राविधिक विश्वविद्यालय बनाउने संकल्प गरेको छ । प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार मनक्रृषि धितालले पनि संकल्प पत्र निकालेर कर्णाली प्राविधिक शिक्षालय सुधारको ठोस योजना बनाउने जनाएका छन् ।
२०३७ सालमा स्थापना भएको प्राविधिक शिक्षालयको जीर्ण भवन मर्मत गर्ने, पठनपाठन व्यवस्थित बनाउने र कोठा थप गर्ने विषय प्राथमिकतामा नपरे पनि अहिले शिक्षालयलाई विश्वविद्यालय बनाउने आश्वासन दिएर उम्मेदवारहरु घरदैलोमा पुगिरहेका छन् । ‘चार दशकसम्म कसैले ध्यान दिएनन्,’ स्थानीय करबहादुर कठायतले भने, ‘अहिले चुनावताका गरेका बाचाले सार्थकता पाउलान् भन्ने विश्वास लागिरहेको छैन ।’
अहिले शिक्षालय पुरानै जीर्ण भौतिक संरचनाको भरमा चलेको छ । प्राविधिक शिक्षाप्रति विद्यार्थीको आकर्षण बढिरहेको देखिन्छ । तर स्तरोन्नति हुन नसकिरहेको शिक्षालयलाई विश्वविद्यालय बनाउने उम्मेदवारको आश्वासनले मतदाताको मन जित्न सकिरहेको छैन ।
२०६४ को संविधानसभादेखि २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित जनप्रतिनिधिको नजरमा यो शिक्षालय परेको देखिदैन । नागरिक समाजका अध्यक्ष राजबहादुर महतले राज्यको स्रोतसाधनले नधान्ने विश्वविद्यालय बनाउने कुरा एजेण्डामै सीमित हुने बताउँछन् । ‘विश्वविद्यालय बनाउने विषय उम्मेदवारको काबुमै छैन । उनीहरुले पहल गर्दा पनि नहुने विषय हो,’ उनले भने, ‘शिक्षालयमा हाल पर्याप्त पूर्वाधार छैन । दलहरु विश्वविद्यालय बनाउने बाचा गरिरहेका छन् । यही शिक्षालय स्तरोन्नति हुनेमा शंका छ । पूरा गर्न नसकिने एजेण्डाले मतदातको मन जित्न सक्दैनन् ।’
कर्णाली प्राविधिक शिक्षालयले ६ हजार बढी दक्ष जनशक्ति उत्पादन गरिसकेको छ । शिक्षालयबाट उत्पादित झण्डै ४ हजार दक्ष जनशक्तिले राज्यका विभिन्न ओहोदामा रहेर काम गरिरहेका छन् । तर तर ४३ वर्ष पुराना संरचनाकै भरमा शिक्षालय सञ्चालन चलिरहेको छ । चुहिने छानाभित्रै छात्राबास चलेका छन् । हाल शिक्षालयमा ५८ वटा भवन छन् । त्यसमध्ये अधिकांश भवन निकै पुराना जीर्ण अवस्थामा रहेका छन् ।
भवन मर्मतका लागि बजेट व्यवस्थापन आवश्यक भएको शिक्षालय प्रमुख विकल अधिकारीले बताए । उनका अनुसार शिक्षालयमा विभिन्न विषयमा ४ सय ९० जना विद्यार्थी अध्ययनरत छन् । जसमा सिभिल तर्फ १३५ जना, फार्मेसी तर्फ ११४, एजी प्लान्ट साईन्स तर्फ १२८, फरेष्टी तर्फ ७५ र एचए तर्फ ३८ जना गरी ४९० विद्यार्थी अध्ययनरत रहेको शिक्षालय प्रमुख अधिकारीको भनाइ छ ।
शिक्षालयलाई विश्वविद्यालय बनाउने भन्दा पनि विपन्नका छोराछोरीले प्राविधिक शिक्षा आर्जन गर्न पाउने नीति, शिक्षालयको भौतिक संरचना सुधारमा ध्यान दिनुपर्ने जुम्लाबासीको माग छ । ‘शिक्षालयलाई विश्वविद्यालय बनाउने संकल्पहरु स्वागतयोग्य नै छन्,’ शिक्षालय प्रमुख अधिकारीले भने, ‘तर शिक्षालयका पुराना संरचना मर्मत गर्नुपर्ने अवस्था छ । सरकारी बजेटमा शिक्षालय प्राथमिकतामा परिरहेको छैन् । चुनावमा एजेण्डा बनाउने तर काम नहुने समस्या छ ।’ शिक्षालय सुधारमा सबैको सहयोग आवश्यक भएकाले ठूला सपना बाँड्नु भन्दा भएका पूर्वाधारको प्रयोग गर्ने माहोल बनाउन आवश्यक रहेको उनले बताए ।
