‘पानीको व्यवस्थापन गर्नेलाई भोट’

पानी अभावकै कारण १० वर्षको अवधिमा ५० प्रतिशत स्थानीय गाउँबाट अन्यन्त्र बसाइँ सरिसकेका छन् ।

फाल्गुन ५, २०८२

तृप्ति शाही

'Vote for those who manage water'

What you should know

वीरेन्द्रनगर — पानी व्यवस्थापनको लागि चौकीदार राख्दै आएका रेक्चा गाउँबासीले यो पटक पनि पानीको व्यवस्थापन गर्नेलाई भोट दिने बताएका छन् । पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–५ को उत्तरी भागमा पर्ने यो गाउँका मानिसहरु वर्षौंबाट खानेपानीको चरम अभावले पिल्सिएका छन् ।पानी अभावकै कारण धेरैले गाउँ नै छोडेर गएका छन् ।

रेक्चाबासीलाई पिउने पानीकै अभाव छ । गाईवस्तुको लागि पनि पर्याप्त पानी नहुने यस गाउँका स्थानीयले यसपटक खानेपानीको पहुँचलाई चुनावी मुद्दा बनाएका छन् । सधैं आश्वासन मात्र पाउने तर मतदानपछि धोका पाएका कारण मत माग्न आउने नेतासँग कसरी बलियो रुपमा आफ्नो माग राख्ने भन्नेबारेमा गाउँले छलफलमा रहेको स्थानीय तपेन्द्र बुढाक्षेत्री बताउँछन् । 

उनका अनुसार सधैंको आश्वासनमात्रैले गाउँबासी रुष्ट छन् । प्रत्येक निर्वाचनमा विकासको नारा लगाउँदै पुग्ने उम्मेदवारहरु फेरि फर्केर नआउने भएपछि यो पटक सोच्नपर्ने अवस्था आएको उनी बताउँछन् । सोही कारण यसपटक छलफल गरी सशक्त रुपमा माग राख्ने योजना गाउँलेहरुले बनाएका छन् । 

'Vote for those who manage water'

गाउँलेहरु आफ्ना माग कसरी राख्ने भन्नेबारेमा तयार रहे पनि अहिलेसम्म कुनै नेताहरु मत माग्न गाउँ पुगेका छैनन् । पानी अभावकै कारण १० वर्षको अवधिमा ५० प्रतिशत स्थानीय गाउँबाट अन्यन्त्र बसाइँ सरिसकेका छन् । पुर्ख्यौली थलोबाट विस्थापित भएकाहरु चौकुने, पञ्चपुरी र कैलालीसम्म पुगेका छन् । अहिले गाउँमा ७० घरधुरी मात्र छन् ।

पुराना र जीर्ण इनारको पानी पालो लगाएर प्रयोग गर्ने गरिएको स्थानीय लोकबहादुर बुढा क्षेत्रीले बताए । उनका अनुसार खडेरीको समयमा इनारमा चौकीदार राखिन्छ । ‘सबैलाई पानी पुर्‍याउन चौकीदार राख्नुपरिरहेको छ, पानी मात्र होइन, बिजुली पनि छैन । सडक पनि नाम मात्रको छ, गाडी चल्दैन,’ उनले दुखेसो गरे ।

गाउँमा १८ कुवाँ भएकोमा १० वटाबाट मात्र पानी निकाल्ल्न मिल्छ । अरु जीर्ण छन् । १ कुवाबाट दिनमा तीन गाग्री जति मात्र पानी आउने गरेको वडा सदस्यसमेत रहेका तपेन्द्र बताउँछन् । लामो समयदेखि विभिन्न निकायमा धाउँदासमेत पानीको जोहो गर्न नसकिएको गुनासो गरे ।

उनले भने,‘अदालतले खानेपानीको व्यवस्था गर्न आदेश दिँदा पनि सम्बन्धित निकाय बेखबरजस्तै छन् । पानी पनि अड्कलेर खाइरहेका छौं । भएको पानीमा पनि भ्यागुत्ता, सर्पहरुको बासस्थान बनेको छ । यस्तो अवस्था हुँदा पनि कसैले चासो देखाएका छैनन् ।’

कादुरी नामक एउटा संस्थाले गाउँमा पानीको समस्या समाधान गर्न डिप बोरिङ खन्ने तयारी गरेको छ । तर विद्युत् नपुग्दा डिप बोरिङ गर्ने कामसमेत हुन सकेको छैन । गाउँमा बत्ती, सडकको काम अधुरै छ । 

'Vote for those who manage water'

चार वर्षको बीचमा आधाभन्दा बढी जनसंख्या बसाइँ सरिसकेको वडा कार्यालयको तथ्याङ्कमा छ । 

२०४८ पछिको निर्वाचनका पानीको आश्वासन देखाएर नेताहरुले भोट माग्दै आए पनि अहिलेसम्म काम कसैले नगरेका लक्षिराम बुढाले बताए । यहाँ ३ सय बढी मतदाता छन् ।

केही समय अघि दातृ निकायबाट जीर्ण तथा पुराना इनार मर्मत गरिएको थियो । त्यो बाहेक अरु काम हुन नसकेको पालिकाका अध्यक्ष खड्क विकले जानकारी दिए । उनका अनुसार अब रेक्चामा पानीको लागि काम हुँदैछ । कादुरी संस्थाको सहयोगमा पानीको काम अघि बढ्ने उनको भनाइ छ । ‘प्रदेश, संघ सरकारलाई पानीको समस्याबारे बारम्बार भने पनि काम भएन,’ उनले भने, ‘अब हामी संस्थाको भर परेका छौं । डिप बोरिङ खन्ने सडक पनि बनिसकेको छ । बत्तिको लागि पनि काम अघि बढेको छ ।’

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully