बाघको आतंक बढेपछि विद्यालय जाने बालबालिकालाई सेनाले दिन थाल्यो सुरक्षा

बाघले बस्तीनजिक दैनिक आतंक मच्चाउन थालेपछि विद्यालय आउजाउ गर्ने बालबालिकालाई बाँके राष्ट्रिय निकुन्जमा खटिएको नेपाली सेनाको टोलीले सुरक्षा दिन थालेको हो ।

फाल्गुन ४, २०८२

विप्लव महर्जन

Army starts providing security to school children after tiger scare increases

What you should know

सल्यान — बाघले बस्ती नजिकै आएर आतंक मच्चाउन थालेपछि विद्यालय जाने कालीमाटीका बालबालिकालाई सेनाले सुरक्षा दिन थालेको छ ।

बाँके राष्ट्रिय निकुन्जबाट छिरेको बाघले गत पुस दोस्रो साता कालीमाटी गाउँपालिका–६ हात्तीढुंगा र ७ को पर्सेनीका दुई जना, कालीमाटी र सुर्खेतको समानामा एक गरी तीन जनाको ज्यान लिएको थियो । त्यसयता बाघले बस्तीनजिक दैनिक आतंक मच्चाउन थालेपछि विद्यालय आउजाउ गर्ने बालबालिकालाई बाँके राष्ट्रिय निकुन्जमा खटिएको नेपाली सेनाको टोलीले सुरक्षा दिन थालेको हो । 

बाघको आक्रमणबाट बचाउन विद्यालयमा जाने बालबालिकाको सुरक्षाको ब्यवस्था गर्न भन्दै वडा कार्यालयले माग गरेपछि कालीमाटी गाउँपालिका–७ स्वामीबास, हाउखोला, बाटुले, ऱ्याङबाट नेपाल राष्ट्रिय मावि घुईयाबारी पढ्न जाने विद्यार्थीलाई निकुन्जमा रहेको सेनाको टोलीले सुरक्षा दिन थालेको हो । 

बाघले पुस महिनामा तीन जनाको ज्यान लिएको र आक्रामक भएर बस्ती नजिकैमा घुमिरहँदा पनि सुरक्षाकर्मीले नियन्त्रणमा लिन तथा मार्न नसकेपछि हाउखोला, बाटुले, स्वामिबास र ऱ्याङका एक सय भन्दा बढी बालबालिका एक महिनादेखि नियमित विद्यालय जान सकेका थिएनन् । सेनाले सुरक्षा दिन थालेपछि अहिले सबै बालबालिका नियमित विद्यालय जान थालेका छन् । 

सेनाले विद्यालय जाने र घर फर्किने समयमा सुरक्षा दिन थालेपछि अहिले विद्यालयमा पढ्न जाने प्रभावित बस्तीका बालबालिकाले सुरक्षाको महशुष गर्दै आएका छन् । दैनिक आफ्ना बालबालिकालाई विद्यालय छाड्न जाने अभिभावकलाई पनि सजिलो भएको छ। 

तीन जनाको ज्यान लिने बाघलाई नियन्त्रणमा लिन तथा मार्न वन कार्यालयले आदेश दिए पनि नेपाली सेनाले नियन्त्रणमा लिन नसकेपछि त्रासका कारण विद्यालय जान नसकेका बालबालिकालाई पढाइबाट बन्चित हुन नदिन सेनाको सहयोग मागेको कालीमाटी–७ का वडाध्यक्ष मित्रलाल रिजालले बताए । सुरक्षाको माग गरेपछि सेनाको टोलीले अहिले बिहान विद्यालय जाने र बेलुकी घर फर्कने समयमा सुरक्षा दिन थालेको उनले बताए ।

‘स्वामिबास, बाटुले, हाउखोला र ऱ्याङका बालबालिकालाई घुईयाबारीमा रहेको नेरामाविमा पुग्न जंगल छेउको बाटो डेढ घन्टासम्म लाग्ने गर्छ । सेनाले बिहान र बेलुकी सुरक्षा दिन थालेपछि स्थानीय बालबालिकालाई धेरै राहत भएको छ,’ उनले भने । बाघ दैनिकजसो बस्ती नजिकै जंगलमा कराउने गर्दा स्थानीय कामकाजका लागि एक्लै घरबाट निस्कन र जंगलमा गएर घाँसदाउरा गर्न नसकेको उनले सुनाए ।  

सेनाले सुरक्षा दिन थालेपछि केही दिनयता आफ्ना बालबालिकालाई विद्यालय छाड्न र लिन जान नपरेको ऱ्याङका रातो बस्नेतले बताए । बाघको त्रासले ८/१० जनाको समूह बनाएर मात्र निस्कन बाध्य भइरहेको उनले बताए । 

हाउखोलाका पोलेन्द्र घर्ती मगरले नेपाली सेनाले सुरक्षा दिन थालेपछि बल्ल गाउँका स्थानीयले बालबालिकालाई विद्यालय पठाउन थालेको बताए । सधैंभरी सेनाले सुरक्षा दिइरहन नसक्ने र बाघको डर यथावत रहेकाले सरकारले बस्ती स्थानान्तरण गरे ठिक हुने उनले बताए।  

२०६४ मा बाँके राष्ट्रिय निकुन्ज स्थापना गरिएपछि बढ्दै गएको बाघलगायत अन्य जंगली जनावरको त्रासका कारण एक दशकमा कालीमाटी गाउँपालिका–७ का केही बस्तीका दर्जनौं स्थानीय घरबार, सम्पत्ति छाडेर बिस्थापित भएको नारायण सुनारले बताए ।  

विप्लव महर्जन महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully