आसन्न फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएका कुनै पनि उम्मेदवार भोट माग्न धो गाउँ पुगेकै छैनन् ।
What you should know
डोल्पा — डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पामा चुनावी चहलपहल शून्य देखिएको छ । उम्मेदवारहरू तल्लो डोल्पा मात्र केन्द्रित भएपछि उपल्लो डोल्पामा पर्ने शे–फोक्सुण्डो, डोल्पोबुद्ध र छार्काताङ्सोङ गाउँपालिकामा चुनावी चहलपहल शून्य देखिएको हो ।
नेपालकै ठूलो जिल्ला डोल्पाको सत्तरी प्रतिशत भूगोल ओगटेको उपल्लो डोल्पामा आसन्न फागुन २१ मा तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएका कुनै पनि उम्मेदवार हालसम्म भोट माग्न धो गाउँ नआएको स्थानीय बताउँछन् ।
निर्वाचनमा होमिएका पुराना र नयाँ दलका सात जना उम्मेदवारहरू तल्लो डोल्पामै घरदैलो एवं मतदाता भेटघाट कार्यक्रममा व्यस्त भएपछि उपल्लो डोल्पामा कोही पनि नआएको धोका स्थानीयको गुनासो छ ।
‘चुनाव आउन धेरै दिन बाँकी छैन । तर पनि उपल्लो डोल्पामा हालसम्म कुनै पनि चुनावी गतिविधि देखिँदैन । कोही पनि उम्मेदवार आएका छैनन्,’ डोल्पोबुद्ध गाउँपालिकामा पर्ने ताक्सीका स्थानीय युवा पेमा छेवाङ गुरुङले भने ।
‘सर्वसाधारणहरू आफ्नै घरायसी कामकाजमा व्यस्त छन् । सञ्चारको पहुँचबाट टाढा उपल्लो डोल्पाका कतिपय स्थानीयलाई चुनावका बारेमा नै थाहा छैन । वास्तवमा यतिबेला उम्मेदवारहरू आएर जनतासँग भेटघाट गरेर भोट माग्नुपर्ने हो ।’
‘उपल्लो डोल्पाका नागरिकको भोट सबैलाई चाहिएको छ । तर उनीहरूलाई भेट्ने हतारो कसैलाई छैन । उम्मेदवारहरू पुगेको भए उनीहरूका एजेन्डा, बाचा एवं प्रतिबद्धता माग्न पाइन्थ्यो । तर, तल्लो डोल्पामा दोहोर्याएर घरदैलो गर्न भ्याउने उम्मेदवारहरू उपल्लो डोल्पालाई बेवास्ता गरेजस्तै देखिन्छ,’ उनले थपे ।
जिल्लाको प्रतिनिधित्व गर्ने भनेर निर्वाचनमा होमिएका उम्मेदवारहरूले उपल्लो डोल्पावासीका पीडा र समस्याहरू बुझ्नु पर्ने उनको भनाइ छ ।
धो-तराप संसारकै अग्लो मानव बस्ती समेत हो । जिल्लाका सबै नेतृत्वले विगतदेखि नै उपल्लो डोल्पालाई भोट बैंकको रूपमा मात्र प्रयोग गरेको शे–फोक्सुण्डोका स्थानीयको समेत गुनासो छ ।
उपल्लो डोल्पाका नागरिकहरू अहिले पनि शिक्षा, स्वास्थ्य, यातायात, विद्युत्, सञ्चार लगायतका अत्यावश्यक सेवाबाटै बञ्चित हुनुपरेको उनीहरूको भनाइ छ ।
उपल्लो डोल्पाका तीन पालिकामा कुल ४ हजार ३ सय ६६ मतदाता छन् ।
