नेपाल प्रहरी र सशस्त्र प्रहरीमार्फत भर्ना गरिएका १ हजार १ सय ९८ जना प्रहरीका लागि बेतबाँसको लठ्ठीसहित पोशाक कालीकोट पुगिसकेको जिल्ला प्रहरी प्रमुख डिएसपी हिमबहादुर खत्रीले बताए ।
कालीकोट — आगामी फागुन २१ गतेको चुनावमा खटिने निर्वाचन प्रहरीको ड्रेससहितको बन्दोबस्तीको सामान कालीकोट पुगेको छ ।
यहाँका २ सय ९८ महिलासहित १ हजार १ सय २ जना नेपाल प्रहरी अर्न्तगत र ९६ सशस्त्र प्रहरी मार्फत भर्ना गरिएका निर्वाचन प्रहरीकालागि जाकेट, टोपी, सट, पाइन्ट, बुट, बेल्ड र लाठी स्थलमार्ग हुँदै बिहीबार साँझ मान्म पुगेको हो ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीमार्फत भर्ना गरिएका १ हजार १ सय ९८ जना प्रहरीका लागि बेतबाँसको लठ्ठीसहित पोशाक कालीकोट पुगिसकेको जिल्ला प्रहरी प्रमुख डिएसपी हिमबहादुर खत्रीले बताए । उनले जिल्ला सदरमुकाम मान्मसहित रास्कोट, पचालझरना, नरहरिनाथमा निर्वाचन प्रहरीका लागि सुरक्षा तथा अनुशासन तालिम संचालन भइरहेकोले शुक्रबारदेखि जिल्ला सदरमुकामबाहिर पठाइने जानकारी दिए ।
सदरमुकाममा ठूलो संख्याका निर्वाचन प्रहरीलाई तालिम दिने ठाउँ अभाव र खान बस्न पनि असुविधा हुने भएकोले इलाका प्रहरी चौकी भएका ठाउँमा पनि तालिम संचालन गरिएको प्रहरीले जनाएको छ ।
बुधबार मान्ममा निर्वाचन प्रहरी र मतदाता शिक्षा खटिने अनुगमनकर्ताका लागि नमूना मतदान अभ्यास पनि गरिएको जिल्ला निर्वाचन अधिकृत विश्व मंगल शर्माले बताए । नमुना मतदानमा मतदाताको सुरक्षा, मत दिने ठाउँको गोपनीयता, मतपेटिकाको सुरक्षा, मतपत्र दिने ठाउँ र मतदान गर्ने तरिकाबारे जानकारी गराइएको उनले बताए ।
कालीकोटका ७ वटा स्थानीय तहका केन्द्रसम्म गाडी चल्ने भए पनि महाबै र पलातामा सिधा गाडीको पहुँच नहुँदा भरियाबाट बोकाएर निर्वाचन सामग्री पुर्याउने तयारी गरिएको छ ।
