हिउँले मतदाता गाउँ फर्किन असहज, बाटो खुलाइदिन वडा कार्यालयको माग

नाम्खा गाउँपालिका वडा नम्बर ६ ले मतदाता गाउँ फर्कनका लागि हिउँ पन्छाएर तत्काल बाटो खुलाइदिन सरकार समक्ष माग गरेको हो।

माघ २९, २०८२

डीबी बुढा

What you should know

जुम्ला — फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हुम्लाको नाम्खा गाउँपालिकाका मतदातालाई गाउँ फर्किन समस्या देखिएको छ ।

बाक्लो हिउँले बाटो अवरुद्ध हुँदा जाडो छल्न बेंसी झरेका मतदाता गाउँ फर्किन सकिरहेका छैनन् । मतदाता फर्किन नसक्दा चुनावमा मत खस्ने सम्भावना समेत कमै देखिएको वडा कार्यालयको भनाइ छ।

नाम्खा गाउँपालिका वडा नम्बर ६ ले हिउँ पन्छाएर तत्काल बाटो खुलाइदिन सरकार समक्ष माग गरेको हो। वडा कार्यालयले पत्र लेख्दै बाटो खुलाउनु पर्ने र नभए मतदान सार्न माग गरेको छ । पत्रमा भनिएको छ,‘नाम्खा गाउँपालिका–६ का मतदाताहरु हाल जिल्ला बाहिर छन् । समुद्री सतहदेखि ५२ सय मिटर उचाइमा रहेको न्यालु लेकमा बाटो अवरुद्ध छ। सडक खोलेर निर्वाध मतदाता गाउँ पुग्ने वातावरण बनाइदिन आग्रह छ ।’

जिल्ला निर्वाचन कार्यालय हुम्लालाई वडा कार्यालयले एकै पटक दुई पत्र पठाएर सडक खुलाउन र त्यो अवस्था नरहे वडाको निर्वाचन दोस्रो चरणमा सार्न माग गरेको छ । नाम्खा ७ लिमीमा ६७२ जना मतदाता छन् । तीन वटा मतदानस्थल तोकिएको उक्त क्षेत्रमा अधिकांश मतदाता जाडो छल्न काठमाडौं, सुर्खेर्त, नेपालगञ्ज र केही मतदाता रोजगारीका सिलसिलामा भारत पुगेका छन् । 

‘यही अवस्था हो भने नाम्खामा मत खस्ने सम्वभान छैन,’ नाम्खा–६ का वडाध्यक्ष पाल्जोर तामाङले भने, ‘सरकारले नारा र न्यालु लेकको हिउँ हटाइदिनुपर्छ । या निर्वाचन सारेर अर्को चरणमा मतदान गर्ने व्यवस्था मिलाइदिनुपर्छ । नत्र कुनै पनि हालतमा मतदाता गाउँ फर्किने अवस्था छैन ।’

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने नाम्खा ६ का लिमी, तिल, जाङ र हल्जी गाउँका बासिन्दा जिल्लाबाहिर छन् । न्यालु लेकमा बाक्लो हिउँ जमेकोले आवतजावतमा समस्या भइरहेको स्थानीयको भनाइ छ । नाम्खा–५ मा पर्ने नारा लेकमा पनि हिउँ जमेर ओहोरदोहोर गर्न सकिने अवस्था नभएको स्थानीय जनप्रतिनिधिहरु बताउँछन् । 

सशस्त्र प्रहरीको सीमा सुरक्षा बेस क्याम्प (बिओपी) हिल्साका इन्चार्ज कृष्ण दाहालले हिमपातले ८ र ९ नम्वर पिलरसम्म  अनुगमनमा जान समेत कठिन भएको बताए । उनका अनुसार नारा र न्यालु लेकमा ३ देखि ४ फिटसम्म हिउँ जमेको छ । ‘मतदाता त गाउँ जानै समस्या छ । त्यो भन्दा बढी मतदान केन्द्रमा कर्मचारी, सुरक्षाकर्मी समेत परिचालन गर्न समस्या देखिएको छ,’ उनले भने ।  

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully