आर्थिक वर्ष २०८१/०८२ को कार्यसम्पादन मूल्यांकनमा कुल अंकमा ६४ दशमलव २ प्रतिशत अंक प्राप्त गरेको हो ।
जुम्ला — राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्यांकनमा जुम्लाको हिमा गाउँपालिका जिल्लाकै पहिलो बनेको छ । यहाँका एक नगरपालिकासहित ७ गाउँपालिकामा हिमा उत्कृष्ट अंकसहित पहिलो बनेको हो ।
आर्थिक वर्ष २०८१/०८२ को कार्यसम्पादन मूल्यांकनमा कुल अंकमा ६४ दशमलव २ प्रतिशत अंक प्राप्त गरेको हो । आर्थिक वर्षको राजस्व र आय, व्यायको अनुमान समयमा गाउँसभामा पेस गरे/नगरेको देखि समयमा बजेट पास भए/नभएको, स्थानीय तहले प्रदेश तथा संघमा पठाउनुपर्ने राजस्व समयमा पठाएको, शिक्षा, स्वास्थ्य, राजस्व तथा विद्यार्थी भर्ना, चालु तथा पुँजीगत खर्चसम्मका विभिन्न १७ वटा सूचांकको आधारमा वित्त आयोगले स्थानीयतहको मूल्यांकन गरेको थियो । वित्त आयोगको रिपोर्टले आगामी दिन अझै प्रभावकारी रुपमा काम गर्ने उर्जा मिलेको हिमा गाउँपालिकाले जनाएको छ ।
जिल्लाको कनकासुन्दरी गाउँपालिकाले ६० दशमलव ८४ प्रतिशत अंक प्राप्त गरेर दोस्रो र सिंजा गाउँपालिकाले ५७ दशमलव ९५ प्रतिशत अंक ल्याएर तेस्रो स्थान ल्याउन सफल भएका छन् ।
तातोपानी गाउँपालिकाले ५७ दशमलव ८८, गुठिचौरले ५४ दशमलव २८, चन्दननाथ नगरपालिकाले ४८ दशमलव ६५ अंक प्राप्त गरेको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । यस्तै तिला गाउँपालिकाले ४७ दशमलव ९० प्रतिशत अंक पाएको छ । सबैभन्दा कमजोर पातारासी गाउँपालिकाले ४४ दशमलव १६ प्रतिशत अंक प्राप्त गरेको वित्त आयोगको तथ्यांकमा उल्लेख गरिएको छ ।
