भारतमा सिलिन्डर बिष्फोट घटना: डीएनए परीक्षण ढिलाईले परिवार राहतबाट बञ्चित

एक महिनाअघि उक्त विष्फोटमा परेर दुई परिवारका ९ जनाको मृत्यु भएको थियो । मृतकका परिवारले अहिलेसम्म भारत सरकार र सम्बन्धित पालिकाबाट कुनै सहयोग पाएका छैनन् ।

माघ २९, २०८२

विप्लव महर्जन

What you should know

सल्यान — भारतको हिमाञ्चल प्रदेशस्थित सोलान जिल्लाको अर्कीमा पसल रहेको घरमा आगलागीका कारण ग्याँस सिलिन्डर विष्फोट हुँदा ज्यान गुमाएका सिद्धकुमाख गाउँपालिका–२ टाकुराका बासिन्दाका परिवार राहतबाट बञ्चित भएका छन् ।

एक महिनाअघि उक्त विष्फोटमा परेर दुई परिवारका ९ जनाको मृत्यु भएको थियो । मृतकका परिवारले अहिलेसम्म भारत सरकार र सम्बन्धित पालिकाबाट कुनै राहत तथा सहयोग पाएका छैनन्।

मृतकको डीएनए परीक्षणमा ढिलाई हुँदा आफन्तले राहत पाउन नसकेका हुन् । गत पुस २७ गते राति विष्फोटमा परेर जिल्लाका ३३ वर्षीय धनबहादुर विक, उनकी श्रीमती कविता, छोरी राधा, रेनुका र छोरा राजनको मृत्यु भएको थियो । त्यस्तै घटनामा ४७ वर्षीय काशीराम विक, उनकी श्रमती टीका, छोरी १२ वर्षीया अनु र ७ वर्षका छोराको मृत्यु भएको थियो । 

घरमा बसेर दुई छाक जोहो गर्न समस्या भएपछि मजदुरी गर्न टाकुराका बासिन्दा दुई वर्षअघि अर्की गएका थिए । मृतक काशीरामका भाई मोहनले भारत सरकारले डीएनए परीक्षणमा ढिलाई गरेकाले राहतको प्रक्रिया अगाडि बढ्न नसकेको बताए । सिलोन जिल्लाको अर्कीमै ठेकेदारको काम गर्दै आएका उनका अनुसार सिलोनको स्थानीय सरकारले डीएनए परीक्षणसँगै मृत्यु–जन्मदर्ता, नागरिकता लगायत कागजपत्र तयार गर्न भनेको छ । ‘यी कागजात तयार भएपछि मात्रै राहतको प्रक्रिया अगाडि बढाउँछौ भन्छ,’ उनले भने, ‘तर डीएनए रिर्पोट समयमै नआउँदा कागजपत्र तयार गराउन सकिएको छैन र घर फर्कन पनि पाएका छैनौं ।’

स्थानीय सरकारले राहत उपलब्ध गराउने भनेपछि काशीरामका छोरा सुशील र ११ अभिषेकको नाममा खाता खोलिदिएका उनले जानकारी दिए । राहतस्वरुप कति रकम उपलब्ध हुन्छन भन्ने पत्तो नभएको उनले बताए । ‘सिलोन सरकारले अहिलेसम्म किरिया खर्च वापत २५ हजार रुपैयाँ दिएको छ,’ उनले भने, ‘डीएनए रिपोर्ट नआउँदासम्म थप राहतकालागि कागजपत्र जुटाउन घर फर्किन सकेको छैन ।’  

धनबहादुरका दाई रामबहादुरले घटनामा भाइको परिवारै गुमाएपछि अर्की पुगेर मृतकको दाहसंस्कार र किरिया गरेर फर्किएको बताए । डीएनए परीक्षणमा ढिलाई भएपछि राहतका लागि चाहिने मृत्यु दर्ता लगायतका कागजपत्र तयार गर्न घर फर्किएको उनले जानकारी गराए । ‘त्यहाँको पत्रिकाले लेखे अनुसार मृत्यु भएका प्रत्येकले ४ लाख राहत पाउने भन्ने छ,’ उनले भने, ‘डीएनएको रिपोर्ट नआएकाले तयार गरिएका कागजपत्र बुझाउन सकेका छैन ।’

जिल्लास्थित पालिकाले किरिया खर्च वापत जनही २५/२५ हजार दिने भन्ने निर्णय गरेको सुने पनि अहिलेसम्म नपाएको रामबहादुरले बताए । सिद्धकुमाख–२ का वडाध्यक्ष मेघबहादुर बुढाथोकीले मृतकका परिवारलाई किरिया खर्च वापत २५/२५ हजार उपलब्ध गराउने निर्णय गरेको बताए । 

कागजपत्र पेस गर्न ढिलाई गरेकाले रकम उपलब्ध नगराएको उनले जानकारी गराए । ‘वडा र पालिकाले अन्य राहतकालागि थप केही गर्न सकेको छैन,’उनले भने, ‘मृत्यु दर्तालगायतका कागजपत्र बनाउन लाग्ने शुल्क छुट गर्‍यो त्यत्ति नै हो ।’ 

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully