०३२ मा जुम्लाबाट अलग्गिएर बनेको ७५ औँ जिल्ला कालीकोटबाट निजामती सेवातर्फ सहसचिव ओहोदामा पुग्ने उनी पहिलो हुन् ।
कालीकोट — कालीकोटको पचालझरना–४, राम्नाकोटका मानबहादुर बम निजामती सेवातर्फ जिल्लाबाट पहिलो सहसचिव बनेका छन् ।
लोकसेवा आयोगले लिखित परीक्षा उत्तीर्ण गरेपछि गत माघ २१ गतेको अन्तर्वार्ताबाट खुला सहसचिवमा छनोट भएर माघ २५ गते नियुक्ति पाएका हुन् । आयोगले ७ जना सहसचिव माग गरेको थियो ।
मन्त्रिपरिषद्ले पदस्थापन नगर्दासम्म उनी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा हाजिर भइरहेका छन् । ०३२ मा जुम्लाबाट अलग्गिएर बनेको ७५ औँ जिल्ला कालीकोटबाट निजामती सेवातर्फ सहसचिव ओहोदामा पुग्ने उनी पहिलो हुन् । उनी सहसचिव बनेपछि कालीकोटका अन्य युवामा पनि लोकसेवा पढ्नुपर्छ भन्ने सन्देश जाने उनका साइला दाइ मोतीराजले बताए । सानैदेखि लगनशील, मिहिनेती, अनुशासित र इमान्दार भएकाले पढाइमा दाजु–भाइको तर्फबाट पनि सक्दो सहयोग गरेको मोतीराजले सुनाए ।
लिखित र अन्तर्वार्ताबाट जिल्लाकै पहिलो सहसचिव बनेका बम निजामतीतर्फ उपसचिव बन्ने पनि पहिलो व्यक्ति भएको मीमबहादुर शाहीले बताए । संस्थानतर्फ विद्युत् प्राधिकरणका मोतीलाल महतारा र सशस्त्र प्रहरीतर्फ बमकै काइँला दाइ अशोककुमार एसएसपी भए पनि निजामतीमा उनी पहिलो सहसचिव भएको शाहीले सुनाए ।
‘लोकसेवाबाट लिखित र मौखिक परीक्षा पास गरेर छनोट हुने बमजी पहिलो हुन्,’ आयोगका पूर्व शाखा अधिकृत शाहीले भने, ‘जिल्लावासीका लागि गर्वको विषय हो ।’ जुम्लाका भूपेन्द्र थापा, जयराज आचार्य, गगन हमाल र खडानन्द अधिकारी सहसचिव छन् । यतिखेर सिफारिस ७ जना मध्ये बम सबैभन्दा कान्छा हुन् ।
०४० मा जन्मिएका उनी पढाइमा सानैदेखि अब्बल थिए । गाउँको विद्यालयमा अध्ययन गर्दा पनि सधैँ कक्षा प्रथम हुने बम भलिबल, कराते, हाइजम्प, दौड र पौडी खेल्न पनि सिपालु थिए । स्कुल बिदा भएको दिन गाई बाख्रा चराउन जाँदा झोलामा अङ्ग्रेजी डिक्सनरीसहित मौसमअनुसार काँक्रो, मकै, गहुँका हरिया उमा बोकेर जान्थे । घरबाट दुई घण्टा उकालो–ओरालो हिँडेर विद्यालय शिक्षा पूरा गरेका उनले ०५५ मा ज्ञानोदय मावि राम्नाकोटबाट प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेका थिए । त्यसै वर्ष इन्जिनियरिङ पढ्न पोखरा पुगेका थिए ।
अङ्ग्रेजी साहित्यमा रुचि भएकाले त्यहाँको पढाइ छाडेर ०५६ मा काठमाडौंको लैनचौरस्थित सरस्वती क्याम्पसमा भर्ना भए । ०५८ मा प्रवीणता प्रमाणपत्र तहमा क्याम्पस टप गरेपछि ०५९ मा शंकरदेव क्याम्पसमा बीबीएसमा भर्ना भए । त्यहीँबाटै ०६५ मा स्नातकोत्तर तह उत्तीर्ण गरे ।
६ दाजुभाइमध्ये बम कान्छा हुन् । जेठा दीपबहादुर गाउँमा कृषिकर्म गर्छन् । माइला हरिबहादुर अहेवबाट अवकाश प्राप्त हुन् । साइला मोतीराज प्रजातान्त्रिक धारका साहित्यकार हुन् । अर्का पर्वजंग कृषक छन् । काइँला अशोककुमार सशस्त्र प्रहरीका एसएसपी छन् । दाजु–भाउजूको हौसला, प्रेरणा र सहयोगले पढाइलाई निरन्तरता दिँदै सफलता प्राप्त गर्न सकेको उनले बताए ।
काठमाडौंको डल्लुस्थित डेरामा बस्ने क्रममा अर्घाखाँची घर भएका अहिले संघीय मामिला मन्त्रालयका उपसचिव भेषराज खनालको सल्लाहअनुसार लेखा अधिकृतको पाठ्यक्रम लिएर कालीकोट गएको उनले सुनाए । पहिलो पटक लेखा समूहको तयारी गर्दा ०६६ मा सफल भए । लेखा अधिकृतका रूपमा साबिक काभ्रे जिविसमा हाजिर भएका उनले ५ वर्ष वन विभाग र बर्दिया जिविसमा सेवा गरे ।
०७४ मा सामान्य प्रशासनतर्फ उपसचिवमा लिखित पास भएर अन्तर्वार्तामा सफल हुन नसकेका बमले ०७५ मा प्रशासन, लेखा र राजस्व समूहको उपसचिवमा लोकसेवा उत्तीर्ण गरेपछि कर्णाली प्रदेशको पहिलो लेखा नियन्त्रकका रूपमा काम गरे ।
