जिल्ला अस्पताल १५ शय्याको छ । बेड र विशेषज्ञ सेवा अभावमा गम्भीर बिरामी पर्दा यहाँका बासिन्दा उपचारका लागि दाङ, नेपालगन्ज, काठमाडाैं, लखनउ धाउन बाध्य छन् ।
What you should know
सल्यान — प्रत्येक संसदीय निर्वाचनमा दलका नेता तथा उम्मेदवार जिल्लाका मतदातासित राप्ती राजमार्ग कालोपत्र, ५० शय्याको जिल्ला अस्पताल, ग्रामीण पक्की सडक, एक घर एक रोजगारी दिने वाचा गर्छन् । ०४६ यताका निर्वाचनमा उम्मेदवार फेरिए पनि उनीहरुका प्रतिवद्धता बद्लिएका छैनन् ।
मतदातालाई मक्ख पार्न घर–घरमा पानी, बिजुली बत्ती, पालिकामा आधारभूत अस्पताल, आधुनिक कृषि व्यवसायका नारा पनि दिन्छन् । ०४६ यता राप्रपा, एमाले, कांग्रेस, तत्कालीन माओवादी केन्द्र, नेकपा समाजवादीका नेता विजयी भएर संसदमा पुगिसकेका छन् । केही नेता दोहोरिएर मन्त्री पनि बने । ‘समृद्ध’ जिल्ला बनाउने उनीहरुका एजेन्डाले गाउँ बस्तीलाई छुन सकेका छैनन् ।
जिल्ला अस्पताल १५ शय्याको छ । बेड र विशेषज्ञ सेवा अभावमा गम्भीर बिरामी पर्दा यहाँका बासिन्दा उपचारका लागि दाङ, नेपालगन्ज, काठमाण्डौ, लखनउ धाउन बाध्य छन् । स्वास्थ्य सेवा मात्र होइन एक गाग्री पिउने पानीका लागि दूर्गम बस्तीका बासिन्दा डेढ घन्टासम्म हिँड्न बाध्य छन । यहाँका बस्ती अहिले पनि सोलार टुकीमा निर्भर छन् । सरकारी विद्यालयमा गुणस्तरीय शिक्षा अभाव छ ।
आफूले उत्पादन गरेका कृषिजन्य वस्तु बिक्री गर्नका लागि विचौलियाको भर पर्दै आएका छन् । भौतिक पूर्वाधारको अवस्था दयनीय छ । खलंगा–कालिमाटी–घुइयाबारी–चप्परगौरी–कोहलपुर सडक निर्माण गरिने आश्वासन पूरा भएको छैन । जसले गर्दा आफ्नै पालिकाको केन्द्रपनि सुर्खेत नत्र भने नेपालगन्ज र दाङ हुँदै पुग्नुपर्छ । यहाँका बृद्धबृद्धा सामाजिक सुरक्षा भत्ता बुझ्न बाँकेको कोहलपुर जानुपर्ने कालिमाटी गाउँपालिका–७, का रातो बस्नेतले बताए । सडक गतिलो नभएकाले बिरामी पर्दा अस्पताल पुग्नै कठिनाई भइरहेको उनले बताए । उनका अनुसार वडाका बस्तीमा बिजुलीका तार जडान भएपनि अहिलेसम्म बत्ती बलेको छैन ।
अहिलेसम्म चारपटक मतदान गरेकी कुमाख गाउँपालिका–२ की रमा ओलीले उम्मेदवारले खानेपानी, बिजुली, विद्यालय र स्वास्थ्यसंस्थाको स्तरोन्नति गर्ने प्रतिवद्धता जनाए पनि अहिलेसम्म पूरा नगरेको बताइन् । ‘खोलाको पानी खानु परेको छ,’ उनले भनिन, ‘स्वास्थ्य चौकी पुग्न दुई घन्टा हिँड्नुपर्छ ।’ पोल गाडे पनि बिजुलीको लाइन जडान नभएकाले सोलार टुकी प्रयोग गर्नुपरेको उनले बताइन् ।
कुमाख गाउँपालिकाले बस्ती नजिकबाट कच्ची सडक निर्माण गरेको छ । तर, सडकमा गाडी सञ्चालन छैनन । आधा घण्टा हिँडेर गाडी चढ्ने गरेको उनले बताइन् । राप्ती राजमार्गमा प्रत्येक वर्ष बजेट विनियोजन भए पनि प्रभावकारी काम नहुँदा वर्षातका बेला सास्ती भोग्नु परिरहेको शारदा नगरपालिका–१ का लीलधर बुढाले बताए । चुनाव जितेर गएका नेताले सर्वसाधारणको हित हुने काम नगरेको उनले बताए । ‘निर्वाचन जितेर गएका र पटकपटक मन्त्री भएकाले सर्वसाधारणको बारेमा सोचेको भए अहिले समस्या भोग्नु पर्थेन,’ उनले भने ।
‘एक घर एक रोजगारी’ नारा बनाए पनि अहिलेसम्म कमाइको ठेगान नभएर मजदुरी गर्न भारत जानु परिरहेको सिद्धकुमाख गाउँपालिका–२ की लक्ष्मी बिकले बताइन् । मुलुकमै रोजगारीको व्यवस्था नहुँदा भारत जानु परेको र धेरै सर्वसाधरणले ज्यान गुमाउनु परेको उनले सुनाइन् ।
आलु उत्पादन पकेट क्षेत्रका रुपमा चिनिने बाग्चौर नगरपालिका–११ र १२ वाफुखोलाका किसान वीरबहादुर वलीले ०६४ सालबाट उमेदवारसँग ‘कोल्डस्टोर’ निर्माण गरिदिन माग गर्दै आए पनि अहिलेसम्म माग सुनुवाई नभएको बताए । ‘कोल्डस्टोर’ नहुँदा अहिले पनि खरिदकर्ताले तोकेको मूल्यमा आलु बिक्री गर्नु परिरहेको उनले जानकारी गराए । ‘कोल्डस्टोर भइदिए बेसिजनमा पनि आलु बिक्रि गर्न सकिन्थ्यो,’ उनले भने, ‘मूल्य पनि चित्त बुझ्दो मिल्थ्यो ।’ वाफुखोलाबाट वार्षिक १२ करोडको आलु बिक्री हुने गरेको उनले बताए ।
