पुसयता तीन जनाको ज्यान लिएको बाघ बस्तीनजिकैको जंगलमा दिनहुँ देखिन थालेपछि कालिमाटी गाउँपालिका– ५, ६ र ७ का बासिन्दा त्रसित बनेका छन्।
What you should know
सल्यान — गत पुस दोस्रो साता सल्यानको कालिमाटी गाउँपालिका–६, ७ र सुर्खेतको सिमानामा गरी पाटे बाघले तीन जनाको ज्यान लियो ।
बाघले मान्छेको ज्यान लिए लगत्तै वडा ७ को घुईयाबारी आसपासका क्षेत्रमा दैनिकजसो किसानका पशुचौपाया मार्यो । तीन जनाको ज्यान लिएको बाघ बस्तीनजिकैको जंगलमा देखिन थालेपछि कालिमाटी गाउँपालिका–७ घुईयावारी आसपास, ६ र ५ दम्दवाली, हात्तीदमारका बासिन्दा त्रसित बनेका छन्।
तीन वडाका जंगलनजिकै बस्ती भएका स्थानीयको ज्यान उच्च जोखिममा परेपछि वन कार्यालयले बाघ नियन्त्रणमा लिन तथा मार्न बाँके राष्ट्रिय निकुन्जलाई पत्र लेख्यो । निकुन्जबाट खटिएका सुरक्षकर्मीले हिंस्रक बाघको खोजी गरे । सुरक्षाकर्मीले न नियन्त्रणमा लिन सकेको छ न मार्न नै । बाघ अहिले पनि उक्त क्षेत्रका बस्तीनजिकको जंगलमा बेलाबेलामा देखिने गरेको छ । बाघको आतंकका कारण अहिले पनि स्थानीय घरबाट एक्लै निस्कन सकेका छैनन् ।
बाघको आतंकका कारण ज्यान उच्च जोखिममा परेपछि घुईयावारी, दम्दवाली, हात्तीदमार, हात्तीढुंगाका स्थानीयले आन्दोलन गरे । निकुन्ज खारेजी तथा निकन्ज आसपासमा भएका बस्ती स्थानान्तरणको माग राखे । स्थानीयको मागको कुनै सुनवाई भएन ।
आफुहरुले राखेको मागको सुनुवाई नभएपछि फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको प्रचारप्रसारमा गएका राजनीतिक दल, उमेदवारसँग कालिमाटी गा ५ दम्दवाली, हात्तीदमार, ७ घुईयावारी, ६ हात्तीढुंगालगायत जंगल आसपास भएका बस्तीका बासिन्दाले बाँके राष्ट्रिय निकुन्ज खारेजी वा निकुन्ज आसपासमा भएका बस्ती स्थानान्तरणको पहल गरिदिन माग राख्दै आएका छन् ।
बाघको डरले कामकाजका लागि घरबाट बाहिर निस्कन समेत गाह्रो भएको र एक्लै कतै जान नसकिने अवस्था भएपछि तीन वडाका स्थानीयले उमेदवारसँग निकुन्ज खारेजी वा बस्ती स्थानान्तरणको पहल गर्न माग राखेका हुन् ।
निकुन्जबाट छिरेका बाघका कारण सर्वसाधारणलाई सास्ती मात्र नभई घरायसी कामकाज सबै प्रभावित भएको छ भने बालबालिका डराउँदै विद्यालय जान बाध्य भएका छ । कालिमाटी ५, ६ र ७ का स्थानीयले आफ्नो माग पूरा गर्नेलाई निर्वाचनमा सघाउने भन्दै शर्त राखन थालेका छन् ।
स्थानीय रातो बस्नेतले सम्बन्धित निकायमा बारम्बार धाउने मात्र नभई आन्दोलन नै गरे पनि कुनै चासो नदिएपछि उम्मेदवारलाई पहल गरिदिन माग राख्नु परेको बताए । ‘बाघको आतंकका कारण झन्डै एक महिनादेखि घरबाट बाहिर निस्कन सकेका छैनौं । घाँसदाउराका लागि घरनजिकैको जंगलमा जान चटक्क छुटेको छ । सबैजसो कामकाज प्रभावित भएको छ । रातिको समयमा कोही विरामी भएमा स्वास्थ्यसंस्था पुर्याउन पनि समस्या हुने गरेको छ,’ उनले भने, ‘घरबाट बाहिरी काममा निस्कदा छ, सात जनाको समूह बनाउनु पर्छ । यिनै उम्मेदवारले सघाउँछन् कि भन्ने आशा लागेको छ ।’
यता कालिमाटी गाउँपालिका ५ का चन्द्रबहादुर गाहा मगरले अन्य विकास निर्माण भन्दा नरभक्षी बाघको आक्रमणबाट कसरी सुरक्षित हुने बढी महत्व भएकाले निकुन्ज खारेजी वा बस्ती स्थानान्तरण व्यवस्थाका लागि पहल गरिदिन माग गर्नुपरेको बताए । उनका अनुसार बाघ आतंकका कारण वडा ७ का निकुन्जको सिमा क्षेत्रमा भएका दुई/तीन बस्तका सबै विस्थापित भएपछि बस्ती सुनसान भएका छन् ।
जंगलनजिकै घरभएकी हरिकला गाहाले बाघबाट बचाउन सक्रियताका साथ लाग्नेलाई नै निर्वाचनमा सहयोग गर्ने बताएकी छिन् । घरनजिकैको जंगलमा कहिले बाघको पाइला देखिने, कहिले दिउँसै कराउने गर्दा र कहिले रातिको समयमा गोठमै छिरेर चौपाया मारेर खान थालेपछि धेरै असुरक्षित महशुष गरेको उनले बताइन् ।
कालिमाटी गाउँपालिका ५ का वडाध्यक्ष टोपबहादुर कार्कीले सरकारले सर्वसाधारणको ज्यान भन्दा बाघलाई बढी महत्व दिँदा जंगल आसपास बसोबास गर्दै आएका सर्वसाधारणको ज्यान उच्च जोखिममा परेकाले सबै वडाबासीले निकुन्ज खारेजी नभए बस्ती स्थानान्तरण र त्यो पनि नसकिए निकुन्ज आसपासको क्षेत्रमा घेरबारको पहल गरिदिन माग राखिएको बताए ।
विगतमा खासै समस्या नभए पनि निकुन्जपछि बाघको संख्या बढेकै कारण सर्वसाधारणको ज्यान जोखिममा परेको उनले बताए । अहिलेसम्म निकुन्जका बारेमा माग राख्दा एमालेका उक्मेदवार गुलाबजंग शाह र रास्वपाका उम्मेदवार ललित चन्दले माग पूरा गर्न पहल गर्ने प्रतिबद्धता जनाएको उनले बताए ।
कालिमाटी गाउँपालिका ४ घरभएका वन उपभोक्ता महासंघ सल्यानका अध्यक्ष पुरुषोत्तम भट्टराईले वन ऐन संशोधन नगर्दासम्म जति आन्दोलन गरे पनि कुनै असर नपर्ने भन्दै निर्वाचनमा विजयी भएर गएका नेताले राष्ट्रिय निकुन्ज सम्बन्धी वन ऐन २०२९ संशोधन गर्नका लागि पहल गर्न माग राखेका छन् ।
