कर्णालीमा बर्सेनि बढ्दै कुष्ठरोगका बिरामी

प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले स्थानीय तहमा गएर कुष्ठरोगका नयाँ बिरामी पत्ता लगाउने कार्य गरिरहेको जनाएको छ ।

माघ २१, २०८२

तृप्ति शाही

Leprosy patients increasing year by year in Karnali

What you should know

वीरेन्द्रनगर — सरकारले नेपालबाट कुष्ठरोग निवारण गरिसकेको छ । तर, कर्णाली प्रदेशमा भने बर्सेनि कुष्ठरोगका बिरामी बढिरहेका छन् । प्रदेशमा नयाँ बिरामी फेला पर्ने, पत्ता लाग्ने दर बढिरहेको हो । पाँच वर्षको अवधिमा उपचार पूरा गर्ने बिरामीको संख्या पनि बढ्दै गएको छ ।

आर्थिक वर्ष २०७७/२०७८ देखि नयाँ कुष्ठरोगका बिरामी थपिँदै गएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । आव ०७७/०७८ मा ६७ बिरामी फेला परेकामा ०७८/०७९ मा ६८ जना पुगे । आव ०७९/०८० मा बढेर ७३ जना पुगे । यस्तै आव ०८०/०८१ म ८० जना पुगे भने ०८२/०८३ मा ८३ जना नयाँ विरामीहरू थपिएको क्षयकुष्ठ फोकल पर्सन पदम केसीले जानकारी दिए ।

यो अवधिमा नयाँ बिरामी पत्ता लाग्ने दर पनि बढ्दै गएको छ । आव २०७७/०७८ मा ३.६७ रहेकामा त्यसपछि ४ पुग्यो । यो पछिल्लो वर्ष ४.२, ४.७ र आव २०८२/०८३ मा ४.८७ पुगेको केसीले बताए । 

उनका अनुसार उपचारमा बिरामीको संख्या पनि बर्सेनि बढेको छ । सुरुमा ७७ जना बिरामीको उपचारमा गर्दै आएकामा त्यसपछि ८४ जना भए । त्यसपछि ९२ जना पुगेकामा अर्को वर्ष १ सय २ पुगे । आव २०८२/०८३ मा १ सय ११ जना कुष्ठरोगका बिरामी उपचारमा छन् ।

बिरामी बढेसँगै उपचार पूरा हुनेहरू पनि बढेका छन् । सुरुमा ६४ जनाले उपचार पूरा गरेर गए । त्यसपछि ६८ जना, ६९ जना, ७६ जनाले उपचार पूरा गरे । आव २०८२/०८३ मा ७५ जनाले उपचार पूरा गरेका फोकल पर्सन केसीले बताए ।

निर्देशनालयले स्थानीय तहमा गएर कुष्ठरोगका नयाँ बिरामी पत्ता लगाउने कार्य गरिरहेको जनाएको छ । साथै नियमित उपचारपछि यातायात खर्च एक हजार र भर्ना हुने प्रभावितलाई थप एक हजार उपलब्ध गराउने कार्य पनि निर्देशनालयबाट भइरहेको छ । अनुगमलाई पनि निरन्तरता दिएको केसी बताउँछन् ।

कुष्ठरोगका बिरामीलाई साइनिङ अस्पताल आइएनएफ सुर्खेतमा निःशुल्क उपचार गरिन्छ । अस्पतालबाट ओपीडी सेवाका साथै आवासीय उपचार सेवा पनि दिने गरिएको अस्पताल प्रमुख ललितबहादुर सारुले बताए ।

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully