महिलालाई नेतृत्वमा पुर्‍याउन जोड

महिला नेतृत्वबिना दिगो विकास र सामाजिक न्याय सम्भव नभएको भन्दै सहभागीहरूले राजनीतिक दललाई महिला नेतृत्व विकासमा गम्भीर हुन आग्रह गरेका छन् ।

माघ २०, २०८२

ज्योति कटुवाल

Emphasis on bringing women into leadership

What you should know

सुर्खेत — मुलुकको राजनीतिमा महिलाको सहभागिता बढे पनि नेतृत्वदायी भूमिकामा उनीहरूको उपस्थिति कमजोर रहेको राष्ट्रियसभा सदस्य रेणु चन्दले बताएकी छन् । महिलालाई निर्णयको तहसम्म पुर्‍याउन दल, राज्य र समाजको सोच एकैसाथ परिवर्तन हुनुपर्ने उनको भनाइ छ ।

दलित महिला केन्द्रले मंगलबार आयोजना गरेको ‘निर्वाचन प्रक्रियामा महिलाका सहभागिता प्रबन्धका लागि संवाद’ कार्यक्रममा बोल्दै सहभागितामा मात्र सीमित नगरेर महिलालाई नीति निर्माण तहमा पुर्‍याउनु पर्नेमा उनले जोड दिइन् । ‘नेतृत्वमा पुगेका महिलाले मात्र आफ्ना वास्तविक समस्या र आवश्यकता प्रभावकारी रूपमा उठान गर्न सक्छन्,’ उनले भनिन्, ‘पितृसत्तात्मक सोच, सामाजिक विभेद, आर्थिक परनिर्भरता र पार्टीभित्रकै संरचनागत अवरोधले उनीहरू नेतृत्वदायी भूमिकामा पुग्न सकिरहेका छैनन् ।’

दलले महिलालाई मतदाता र प्रचारकका रूपमा प्रयोग गरिरहेको उनले बताइन् । नीति निर्माण तहमा पुर्‍याउन महिलालाई नेतृत्वमा शिक्षा, राजनीतिक प्रशिक्षण र अवसर जरुरी रहेको उनले बताइन् । ‘महिलालाई सक्षम बनाउने कुरा भाषणमा सीमित हुनु हुँदैन,’ उनले भनिन्, ‘उम्मेदवार छनोट, संगठन विस्तार र जिम्मेवारी बाँडफाँटमा महिलालाई प्राथमिकता दिनुपर्छ ।’ संवैधानिक व्यवस्था अनुसार संसद् र स्थानीय तहमा महिलाको प्रतिनिधित्व सुनिश्चित गरिएअपनि कार्यकारी र निर्णायक पदमा पुरुषको वर्चस्व कायमै रहेको उनले बताइन् । 

नेकपा एमाले प्रचार विभाग प्रमुख गंगाराम तिमिल्सिनाले महिलाले आफै पनि राजनीतिक रूपमा सक्रिय र संगठित हुनु आवश्यक रहेको बताए । ‘नेतृत्व आफैं खोजेर आउँदैन,’ उनले भने, ‘महिलाले अधिकारका लागि आवाज उठाउनुपर्छ, चुनौती स्वीकार गर्नुपर्छ ।’ राजनीतिमा महिलाको नेतृत्व सुदृढ भए लोकतन्त्र बलियो हुने र समावेशी शासन प्रणाली स्थापित हुने कार्यक्रमका सहभागीले जोड दिएका थिए ।

महिला नेतृत्वबिना दिगो विकास र सामाजिक न्याय सम्भव नभएको भन्दै सहभागीहरूले राजनीतिक दललाई महिला नेतृत्व विकासमा गम्भीर हुन आग्रह गरेका थिए । कार्यक्रममा विभिन्न राजनीतिक दल, नागरिक समाज, महिला अधिकारका क्षेत्रमा काम गर्ने संघसंस्थाका प्रतिनिधि सहभागी थिए । उनीहरूले महिलालाई सबैखाले निर्वाचनमा उम्मेदवार बनाउने विषयमा प्रतिबद्धतासमेत जनाएका थिए ।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully