जुम्लाका ५२ मतदानस्थल र ६४ मतदान केन्द्र अतिसंवेदनशील

११० मतदान केन्द्र रहेकोमा ६४ वटा अति संवेदनशील, २५ वटा संवेदनशील र २१ वटा मतदान केन्द्र सामान्य छ ।

माघ २०, २०८२

डीबी बुढा

52 polling stations and 64 polling centers in Jumla are highly sensitive

What you should know

जुम्ला — आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि जुम्लाका ५२ वटा मतदानस्थल र ६४ वटा मतदान केन्द्र अतिसंवेदनशील देखिएको जिल्ला सुरक्षा समिति जुम्लाले जनाएको छ ।

कुल ८५ वटा मतदानस्थल रहेको जुम्लामा ५२ वटा अतिसंवेदनशील, १८ वटा संवेदनशील र १५ वटा सामान्य रहेका छन् । ११० मतदान केन्द्र रहेकोमा ६४ वटा अति संवेदनशील, २५ वटा संवेदनशील र २१ वटा मतदान केन्द्र सामान्य छ ।

भौगोलिक विकट्ता, सञ्चारको पहुँच अभाव, केन्द्रको भौतिक संरचना, सडक सञ्जालको पहुँच, खानेपानी र बिजुली व्यवस्था लगायतका सुरक्षा चुनौतीका आधारमा मतदानस्थल र मतदान केन्द्रको वर्गीकरण गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख रबिनबाबु रेग्मीले जानकारी दिए । 

उनका अनुसार मतदान केन्द्र र मतदानस्थलमा देखिएको समस्या समाधानको लागि स्थानीयतहसँग आग्रह गरिरहेको अवस्था छ । ‘निर्वाचनलाई शान्तिपूर्ण बनाउन मतदानस्थलको अनुगमनदेखि सुरक्षाकर्मीको परिचालन तथा तयारी तीव्र पारिएको छ,’ डिएसपी रेग्मीले भने, ‘मतदानस्थल शान्तिपूर्ण र भयरहित बनाउन भरपुर पहल भइरहेको छ ।’

 जुम्लामा मतदाता संख्या ७१ हजार ७३९ जना छ । जसमा महिला मतदातातर्फ ३४ हजार २८० जना र पुरुष मतदातातर्फ ३७ हजार ४५९ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय जुम्लाका निर्वाचन अधिकारी दीपेन्द्र कंडेलले बताए ।

निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्नका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी नेपाली सेना र निर्वाचन प्रहरी परिचालन गरिने प्रमुख जिल्ला अधिकारी दीपेन्द्र पौडेलले जानकारी दिए । उनले निर्वाचन आचारसंहिताको पूर्णपालना गरेर शान्ति सुरक्षाको अवस्थालाई बलियो बनाइदिन समेत आग्रह गरिएको बताए ।

उनले भने, ‘मतदानस्थल र केन्द्रको अनुगमन भइरहेको छ । जहाँ जे अभाव छ । जस्तो समस्या छ । त्यही समस्या सम्वोधनको लागि सम्बन्धित स्थानीयतहलाई आग्रह गरिएको छ ।’ 

डीबी बुढा बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully