निर्वाचन आचारसंहिता अनुगमन समितिले रास्कोटस्थित कालाशिल्ला माविका प्रधानाध्यापक देवराज चौलागाई र खाडाचक्रस्थित चुलीमालिका माविका प्रधानाध्यापक दीपबहादुर शाहीलाई स्पष्टीकरण सोधेको जनाएको छ ।
What you should know
कालीकोट — निर्वाचन आचारसंहिता उल्लंघनको आरोपमा यहाँका दुई विद्यालयका प्रधानाध्यापकलाई स्पष्टीकरण सोधिएको छ ।
जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिले रास्कोटस्थित कालाशिल्ला माविका प्रधानाध्यापक देवराज चौलागाई र खाडाचक्रस्थित चुलीमालिका माविका प्रधानाध्यापक दीपबहादुर शाहीलाई स्पष्टीकरण सोधेको जनाएको छ । दुवै प्रअ शिक्षक नेता हुन् ।
चौलागाईलाई नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देशसभामा सहभागी भएको र शाहीलाई एकीकृत मालेका उम्मेदवारलाई निर्वाचन कार्यक्रम गर्न दिएको आरोप लगाउँदै आचारसंहिता उल्लंघन गरेकोबारे ३ दिनभित्र लिखित जवाफ पेश गर्न भनिएको छ।
आचारसंहिता अनुगमन अधिकृतको कार्यालयका संयोजक सहायक प्रजिअ जनक शर्माले दुई विद्यालयका प्रअले आचारसंहिता विपरीत काम गरेको गुनासो आएपछि स्पष्टीकरण सोधेको बताए।
प्रअ चौलागाईलाई विद्यालय बन्द गरेर शिक्षक कर्मचारीसहित नेकपाको रास्कोट नगर समितिको बैठक तथा सन्देशसभामा सहभागी भएको र शाहीलाई विद्यालयमा कार्यक्रम गर्न दिएको आरोप लागेको आचारसंहिता अनुगमन अधिकृतको कार्यालयका सदस्य सचिव टंक थापाले बताए ।
माघ ४ देखि निर्वाचन आचारसंहिता जारी भएकोबारे आफू जानकार रहेको जनाउँदै कालाशिल्ला माविमा प्रअ चौलागाईले आफूले आचारसंहिता उल्लंघन नगरेको दाबी गर्दै लिखित पत्र पठाएका छन् ।
उनले बेलुकी ४ बजेपछि शिक्षक कर्मचारीका पेशागत माग नेपाली कम्युनिष्ट पार्टीको चुनावी घोषणा पत्रमा राख्नका लागि सुझाव दिन आफू कार्यक्रममा गएको दाबी गर्दै आफूले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने काम नगरेको बताए ।
त्यस्तै, चुलीकालिका माविका प्रअ शाहीले उम्मेदवार विद्यालय बाहिरको बाटो हुँदै गाउँ जाने क्रममा विद्यालयको भवन अभावलगायतका समस्या सुनाउन हाता बाहिर होस्टेलमा भेटघाट गरेको दाबी गरे ।
