अन्तरविरोधकाबीच चुनावी प्रचारमा जुट्यो रुकुम पश्चिम कांग्रेस

जिल्ला सभापति प्रेमप्रकाश वलीले जिल्ला कार्यसमितीले गरेका निर्णय कार्यन्वयन गरेर जाने कुरामा आफू प्रतिवद्ध रहेको भए पनि पार्टीभित्र अन्तरविरोध र असन्तुष्टि भने कायम रहेको बताए ।

माघ १७, २०८२

महेश केसी

Rukum West Congress engages in election campaign amid internal conflicts

What you should know

रुकुम पश्चिम — प्रतिनिधि सभाको चुनाव नजिकिँदै गर्दा बिभिन्न अन्तरबिरोधकाबीच नेपाली कांग्रेस रुकुम पश्चिमका उम्मेदवार राजु केसीले चुनाबी प्रचार सुरु गरेका छन् । 

बिहीबार र शुक्रबार जिल्ला पार्टी कार्यालयमा बसेको जिल्ला कार्यसमितीको बृहत बैठकबाट कार्यतालिका बनाएर प्रचार–प्रसारमा लागेका हुन् ।

कांग्रेस रुकुम पश्चिमका जिल्ला सभापति प्रेमप्रकाश वलीले राजु केसीलाई उम्मेदवार बनाइएकोमा सार्वजनिक असन्तुष्टि व्यक्त गरेपछि बढेको मतभेद उक्त बैठकले अन्त्य गरेको सहसचिब यज्ञ विष्टले बताए । 

‘जिल्ला कार्यसमितीको बैठकबाट यही माघ १७ देखि फागुण ८ गतेसम्म घरदैलोमै पुगेर मतदाता भेटघाट गर्ने र फागुण ९ देखि १४ गतेसम्म पालिका स्तरीय चुनावी सभा गर्ने तय भएको छ,’ उनले भने, ‘अब पार्टीभित्र कुनैपनि प्रकारको अन्तरबिरोध र मतभेद छैन । केही भएको भए पनि हामीले एकअर्कामा माझिएर चुनावी प्रचारमा होमिने सर्वसम्मत निर्णय गरेका छौँ ।’ 

उपसभापति हर्कसिंह खत्रीको संयोजकत्वमा ३ सय १ सदस्यीय निर्वाचन परिचालन समिति पनि गठन गरिएको छ।

जिल्ला सभापति प्रेमप्रकाश वलीले जिल्ला कार्यसमितीले गरेका निर्णय कार्यन्वयन गरेर जाने कुरामा आफू प्रतिवद्ध रहेको भए पनि पार्टीभित्र अन्तरविरोध र असन्तुष्टि भने कायम रहेको बताए । जिल्लाबाट आफ्नो र गोपालजीजंग शाहको नाम सिफरिस गरिएको तर केसीले टिकट पाएकोमा उनले खुलेरै असन्तोष व्यक्त गरे । 
Rukum West Congress engages in election campaign amid internal conflicts

‘म त चुनाबी प्रचारमा लाग्छु, तर अरु साथीहरुको भन्न सकिन्न,’ वलीले कान्तिपुससँग भने, ‘केही पार्टीका नेता–कार्यकर्ता त अहिलेपनी अरु पार्टीमा प्रवेश गर्ने क्रम सुरु भएको छ । यसले पनि हामीलाई घाटा नै पुर्‍याउछ । राजुजी सीमित मान्छेहरुकाबीचमा नै रमाइरहनुभएको छ । यसले उहाँ स्वयं र रुकुम पश्चिम कांग्रेसलाई घाटा नै हुन्छ ।’ 

सहसचिव बिष्ट भने अन्तरविरोध र मतभेदहरु सबैतिर हुने तर त्यसलाई हल गरेर जाने कुरामा लाग्नुपर्नेमा जोड दिन्छन्। ‘सभापतिज्यू पनि प्रचारमा लाग्नुपर्छ र लाग्नुहुन्छ,’ उनले भने, ‘कांग्रेसको जिम्मेवारीमा रहेका कोही कसैले पनि यो अवस्थामा गैरजिम्मेवार बन्न मिल्दैन । यदि पार्टी अनुशासन बाहिर गएर कसैले कुनै गतिविधि गरेमा त्यो विधानतः कारबाहीको भागिदार हुनुपर्छ ।’

पार्टी कार्यालय बाहिर उम्मेदवारको सम्पर्क कार्यालय

उम्मेदवार राजु केसीले जिल्ला कार्यालयभन्दा करिब ५ सय मिटर टाढा छुट्टै कोठा भाडामा लिएर ‘सम्पर्क कार्यालय’ खोलेका छन् । यसले पनि कांग्रेस रुकुम पश्चिमको अन्तरविरोधलाई संकेत गर्छ ।

उम्मेदवार होस वा अरु कोही पार्टीसंग जोडिएको गतिविधि कार्यालयभित्रैबाट हुनुपर्ने कुरामा जोड दिँदै सभापति वलीले सम्पर्क कार्यलय खोलिएको बिषयमा अनविज्ञता प्रकट गरे । मुसिकोट नगरपालिका–१ स्थित खलंगा बजारमै कांग्रेसको १५ कोठा र एउटा हल भएको ठूलो पार्टी कार्यालय छ । तर उम्मेदवार केसीको सम्पर्क कार्यालय कालिका मन्दिर नजिकै एउटा निजी घरमा कोठा भाडामा लिएर खोलिएको छ । 

Rukum West Congress engages in election campaign amid internal conflicts

उपसचिब विष्टले भने उम्मेदवारको सहजताका लागि निजी सचिवालय खोलिएको र पार्टीसँग जोडिएका गतिविधि कार्यालयबाटै हुने उल्लेख गरे । उनले यसो भनिरहँदा कार्यालयमा राखिएको बोर्डमा भने ‘निजी सचिवालय’ उल्लेख छैन ।

‘नेपाली कांग्रेस प्रतिनिधि सभा उम्मेदवार राजु के.सी.को सम्पर्क कार्यालय’ भनेर लेखिएको छ । स बिषयमा केसीले भने जिल्ला कार्यसमितिको बैठकभन्दा अघि उक्त कार्यालय स्थापना गरिएको तर अब पार्टी कार्यालयबाटै काम गर्ने बताए ।

‘यो तत्काल साथीहरुसँग सम्पर्क र समन्वय गर्न सहज होस् भनेर सबैको सल्लाहले स्थापना गरिएको कार्यालय हो,’ उनले भने, ‘तर अब यसलाई हटाएर जिल्ला पार्टी कार्यालयबाटै सबै काम हुनेछ ।’ 

महेश केसी केसी कान्तिपुरका रुकुम संवाददाता हुन् ।

Link copied successfully