हिमपातले नाग्म–गमगढी सडक बन्द

मंगलबार रातिदेखि वर्षासँगै परेको हिमपातका कारण सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।

माघ १४, २०८२

डीबी बुढा

Nagam-Gamgadhi road closed due to snowfall

जुम्ला — हिउँ बाक्लो जमेपछि कर्णाली राजमार्ग हुँदै सिञ्जादेखि मुगु जोड्ने नाग्म–गमगढी सडक अवरुद्ध भएको छ । पहिलो पटक हिमपात हुँदा दुई दिनमा डोजर लगाएर खुलाइएको यो सडक दोस्रो पटकको हिमपातले पुनः अवरुद्ध भएको छ ।

मंगलबार रातिदेखि वर्षासँगै परेको हिमपातका कारण सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । अहिले यो सडकमा सवारीसाधन चलेका छैनन् । स्थानीय प्रशासनले पनि जोखिम मोलेर यात्रा नगर्न आह्वान गरेको छ ।

सडकमा बाक्लो हिउँ जमेको छ । ‘हिउँ पर्दापर्दै सडक खुलाउन सकिने अवस्था छैन,’ सडक डिभिजन कार्यालयले भनेको छ, ‘सडकको अवस्था हेरेर मात्र यात्रा गर्नुहोला ।’ हिउँ रोकिने बित्तिकै डोजर लगाएर पन्छाउन सुरु गरिने सडक डिभिजन कार्यालयका फिल्ड कर्मचारी तुलराज उपाध्यायले जानकारी दिए ।

सडक डिभिजन कार्यालय जुम्लाले हिउँले सडक ठप्प भएको र हिउँ नरोकिएसम्म खुलाउन नसकिने जनाएको छ । अहिले सडकमै डोजर तयारी अवस्थामा राखिएको छ । तर हिउँ रोकिएपछि मात्रै खुलाउने काम सुरु हुनेछ । हिउँले सडक अवरुद्ध भए पनि यात्रुहरू मर्कामा परेका छन् । अहिले मुगुदेखि जुम्ला, सुर्खेत र नेपालगन्ज जाने सवारीसाधन चल्न सकेका छैनन् ।

नेपालगन्ज, सुर्खेत र जुम्लाबाट मुगु जाने गाडीहरू समेत बीचैमा रोकिएका छन् । जुम्लामा यो पटक गरेर दोस्रो पटक हिमपात भएको छ । हिमपातले किसानहरू उत्साहित छन् । बिहानैदेखि सडक मार्ग र हवाई मार्ग दुवै अवरुद्ध भएको छ ।

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully