हुम्लाको नाम्खा र मुगुको मुगमकार्मारोङसहित डोल्पाको सेफोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका २० मतदान केन्द्रका झण्डै ४ हजार मतदाता बाहिर । अत्यधिक हिमपातले मतदाता शिक्षा र प्रचारप्रसार प्रभावित, मतपेटिकालगायत निर्वाचन सामग्री ढुवानीमा हेलिकोप्टरको विकल्प छैन ।
What you should know
सुर्खेत — गत शनिबार भएको भारी हिमपातले हुम्लाको नाम्खा गाउँपालिका–५ हिल्सा र ६ नम्बर वडाको लिमीमा आउजाउ बन्द भएको छ । यसअघि गत कात्तिक महिनामा परेको हिउँ नपग्लिँदै हिमपात भएपछि सदरमुकाम सिमकोटसँग ती गाउँको सम्बन्ध विच्छेद भएको हो ।
सदरमुकामबाट लिमी र हिल्सा जान झण्डै ५ हजार मिटरका न्यालु र नारा लेक काट्नुपर्छ । ‘अहिले कम्तीमा तीन फिट हिउँ परेको छ,’ नाम्खा–५ का वडाध्यक्ष पाल्जोर तामाङले टेलिफोनमा भने, ‘अब हिउँ नपग्लिउँन्जेलसम्म आउजाउ नै बन्द भयो ।’
लिमीका तीन मतदान केन्द्रमा ६ सय ७२ मतदाता छन् । त्यसमध्ये गाउँमा मुस्किलले एक सय जनासम्म रहेको उनको भनाइ छ । स्थानीयहरू जाडो छल्न, व्यापार–व्यवसाय र अध्ययनका लागि बाहिर गएका हुन् । लिमीका तीन गाउँमध्ये तील र हल्जीमा मात्र गाउँ कुरुवा छन् भने जाङ गाउँका सबै घरमा ताला लागेको वडाध्यक्ष तामाङले बताए । हिल्सामा रहेका झण्डै ५० घरधुरी पनि अहिले मानवविहीन छन् । हिमपातअघि हिल्सामा करिब दुई दर्जन होटल सञ्चालनमा थिए । सिमकोट–हिल्सा सडक कात्तिक दोस्रो सातादेखि नै बन्द छ ।
लिमीमा कात्तिक महिनामा दुईपल्ट हिमपात भएको थियो । ‘पुस महिनामा भने हिउँ परेको थिएन, माघमा फेरि ठूलो हिउँ पर्यो,’ चिसो छल्न सुर्खेतको वीरेन्द्रनगर आएका लिमीस्थित हल्जीका ग्याल्जेन तामाङले भने, ‘नारा र न्यालुको हिउँ बिलाउन कम्तीमा दुई महिना लाग्छ, त्यो बेलासम्म चुनाव भइसक्छ, घर फर्किनै समस्या भयो ।’
वीरेन्द्रनगरमा भेटिएका हिल्साका कुन्साङ तामाङले यसपालि भोट हाल्न नपाइने हो कि भन्ने चिन्ता भएको बताए । हिमपात भएपछि आफ्नै गाउँमा प्रचारप्रसार गर्न जान नसकिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार टासी ल्हान्जोमले बताइन् ।
लिमीका ३ वटा र हिल्सामा एक मतदान केन्द्र छन् । ती मतदान केन्द्रमा मतदान सामग्री पुर्याउन हेलिकोप्टर चार्टरको विकल्प नभएको गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामाले बताए । ‘हिमाली जिल्लामा फागुनमा चुनाव गराउनै अव्यवहारिक छ,’ उनले भने, ‘मतदाता पनि न्यून छन्, प्रचारप्रसारमा पनि समस्या देखियो ।’ उनका अनुसार लिमीका तीनमध्ये भृकुटी प्रावि मतदान केन्द्रमा जाङगाउँमा मतदाताको संख्या शून्य छ । ‘उनीहरू त हिउँ पर्नुअघि नै चिसो छल्न बाहिर गइसके,’ उनले भने, ‘अरू गाउँमा पनि कुरुवा मात्र बसेका छन् ।’ यही अवस्थामा मतदान भए हिमशिखर प्रावि लितगाउँ र सुनखानी प्राविको मतदान केन्द्रमा भने ३० देखि ४० प्रतिशत मत खस्ने उनको अनुमान छ ।
प्रदेश प्रहरी कार्यालय संकलन गरेको तथ्यांकअनुसार उच्च हिमाली बस्तीका २० वटा मतदान केन्द्रमा अत्यधिक हिमपात हुन्छ । ती क्षेत्रका झण्डै ४ हजार मतदाता बाहिर रहेको प्रदेश प्रहरीको तथ्यांक छ ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक रामप्रकाश शाहले अत्यधिक चिसो हुने कर्णालीका १० वटा प्रहरी चौकी कात्तिक दोस्रो सातादेखि जिल्ला प्रहरी कार्यालयमा विस्थापित भएको बताए । ‘ती चौकीहरू गाउँ फर्काउन पहल थालिएको छ,’ उनले भने, ‘अबको २ साताभित्र सबै चौकीहरु पुनर्स्थापित भइसक्छन् ।’
मुगुको मुगमकार्मारोङ गाउँपालिकास्थित मुगुगाउँ, कीर्ति, डोल्फु, किम्री, कार्तिलगायत गाउँका अधिकांश मानिस बाहिर छन् । मुगुगाउँका मात्रै झण्डै ४ सय जना जाडो छल्न गाउँबाहिर गएको मुगमकार्मारोङ गाउँपालिका अध्यक्ष छिरिङक्याप्ने लामाले बताए ।
‘अरू गाउँमा त धेरैजसो गाउँमै छन्,’ उनले भने, ‘कोही पालिकाको केन्द्र पुलुआसपासका गाउँमा बसिरहेका छन्, गमगढी गएकासम्मलाई गाउँ फर्काउन सकिएला, जिल्लाबाहिरका लाइ त कसरी फर्काउने हो र ?’ उनले मुगुगाउँमा त गुम्बाका पुजारीमात्र रहेको जानकारी दिए ।
शनिबार भएको हिमपातका कारण ती गाउँहरूमा झण्डै दुई फिटसम्म हिउँ जमेको उनले जानकारी दिए । उच्च हिमाली वस्तीका वडा कार्यालय र स्वास्थ्य चौकीका कर्मचारीलाई पालिकाको केन्द्र पुलु बोलाइएको उनको भनाइ छ ।
मुगुका प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले सुरक्षा निकायबाट कति मतदाता बाहिर छन् भन्ने तथ्यांक संकलन गर्न थालेको बताए । उनका अनुसार बढी हिमपात हुने मुगमकार्मारोङका ५ वटा मतदान केन्द्रमा हेलिकोप्टरबाट मतपेटिका र निर्वाचन सामग्री ओसार्नुको विकल्प नभएको बताए । ‘ती मतदान केन्द्रसम्म जान सडक सुविधा छैन, हिमपात भइरहेने क्षेत्र भएकाले बोकाएर पठाउन सकिँदैन,’ उनले भने, ‘त्यसैले निर्वाचन सामग्रीका लागि हेलिकोप्टरको व्यवस्था गर्नुपर्ने बाध्यता छ ।’
हुम्लाका प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले मतदान आउन अझै डेढ महिना बाँकी भएकाले आत्तिनुपर्ने अवस्था नभएको बताए । उनले मतदाता शिक्षा र प्रचारप्रसारको काममा भने केही समस्या आउने बताए । उनका अनुसार लिमीमा झण्डै ५० प्रतिशत मानिसले गाउँ छोडेका छैनन् । ‘अहिले त तराइतिर जानेभन्दा पनि यता आउनेको फ्लो बढिरहेको छ,’ उनले भने, ‘मतदानको दिनसम्म त हिउँ पनि बिलाउला, बाटोघाटो पनि खुल्ला ।’ उनका अनुसार गत प्रतिनिधिसभा निर्वाचनमा लिमीका ३ मतदान केन्द्रमा ७२ प्रतिशत मतदान भएको थियो ।
फागुन पहिलो सातासम्म अधिकांश मतदाता फर्किसक्ने उनको दाबी छ । लिमी प्रहरी चौकी पनि फर्काउने तयारी भइरहेको उनले जानकारी दिए । फागुन १ गतेदेखि नाम्खाका विद्यालय खोल्ने गाउँपालिकाले तयारी गरेको छ । ‘विद्यालय खुलेपछि मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न सहज होला,’ गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामाले भने, ‘चुनावसम्म मतदातालाई गाउँमा फर्काउन पहल भइरहेको छ ।’
