‘म बाल्यकालदेखि नै समाजको सेवामा लागेँ । अहिलेसम्म कुनै अवसर पाइनँ । यो चुनावमा यो माटोले पत्याएको छ । पार्टीले अवसर दिएको छ । सबै मतदाताले मलाई माया गर्दिनुभयो भने म चुनाव जित्छु ।’
What you should know
जुम्ला — नेपाली कांग्रेसका उम्मेदवार एवं पूर्व जिल्ला सभापति दीपबहादुर शाहीले तत्कालीन जिल्ला सभापति स्वर्गीय मानव सेजुवालको शालिकमा अबिर र खादा लगाएर मनोनयन दर्ता गरे ।
२०७० फागुन ४ गते काठमाडौंदेखि जुम्ला आउँदै गरेको नेपाल एयरलाइन्सको जहाज अर्घाखाँचीको मसिने लेकमा दुर्घटना हुँदा तत्कालीन सभापति सेजुवालको निधन भएको थियो । उतिबेला अहिलेका उम्मेदवार शाही उपसभापतिको भूमिकामा थिए । उनले शालिकमा अंकमाल गर्दै आँशुसमेत झारे । त्यसलाई कतिपयले भर्खर विभाजन उन्मुख बनेको कांग्रेसीहरूको मन बटुल्ने औजारका रूपमा प्रयोग गरेको बताएका छन् भने कतिपयले स्वर्गीय सेजुवालको योगदानको कदर गर्दै उनले देखाएको बाटो पछ्याउने अवसरका रूपमा शाहीले सम्मान गरेको अर्थ्याएका छन् ।
कांग्रेस यहाँसम्म पुर्याउन सेजुवालले खेलेको भूमिकाको उच्च मूल्यांकन गरेको र यसले चुनावी मैदानमा कांग्रेसी नेता–कार्यकर्तामा हौसला र प्रेरणा मिल्ने आशाका रूपमा लिएको उम्मेदवार शाहीले प्रतिक्रिया दिएका छन् ।
मनोनयन दर्तापछि उम्मेदवार शाहीले आफू भुइँमान्छेको उम्मेदवार भएको बताए । शाहीले भने, ‘म गलत प्रचार गरेर जनतालाई धोका दिने छैन । म भुइँमान्छे हुँ । भुइँमान्छेको छोरा हुँ । भुइँमान्छेको समस्या सुन्न र सम्बोधन गर्न उम्मेदवारी दिएको हुँ ।’ उनले आफूले जितेपछि सबै बस्तीमा पुगेर समस्याको पोको बनाएर पैदल हिँडेरै संसद् भवन छिर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । उनले भने, 'मेरो जितमा भुइँमान्छेकै भरोसा छ ।'
शाहीले २४ वर्षको उमेरदेखि नै राजनीति सुरु गरेका हुन् । तर कहिल्यै पनि सार्वजनिक पदका लागि मरिहत्ते गरेनन् । बरू आफूलाई आएका कैयन् अवसर उनले मातहतका कार्यकर्तालाई दिलाए । २०७४ सालमा प्रतिनिधिसभा सदस्यका लागि उनलाई उम्मेदवार बन्न अवसर मिलेको थियो तर उनले कांग्रेस नेता देवेन्द्रबहादुर शाहीलाई सहजै रूपमा पद हस्तान्तरण गरे । किनकि, उनी कांगेस सभापति थिए । त्यतिबेला आफूले अवसर लिएमा पार्टी संगठनमा नकारात्मक असर पर्ने आफ्नो सोच भएको उनले बताए ।
तर २०४९ सालमा उनी कालिकाखेत गाविसको अध्यक्ष भने । पाँच वर्षपछिको निर्वाचनमा पनि मतदाताले उनलाई फेरि दोहोर्याए । जनमुखी काम गरेकाले नै दोस्रोपटक २०५४ सालमा पनि आफ्ना प्रतिस्पर्धीभन्दा चार गुणा बढी मतले निर्वाचित भएको उनले सुनाए ।
२०७० सालमा स्वर्गीय मानव सेजुवाल सभापति थिए । उनी उपसभापति । जब जहाज दुर्घटनामा सेजुवालको निधन भयो । शाहीले कार्यबहाक सभापतिको रूपमा जिम्मेवारी निभए । तीन वर्ष कार्यवाहकको जिम्मेवारीमा रहेका शाही फेरि पाँच वर्षका लागि सभापतिमा चुनिए । अहिले जिल्लाको वरिष्ठ नेताको हैसियतमा छन् । कांग्रेसभित्र त्यागी, इमान्दार, निस्वार्थी र सादगी नेताको रूपमा परिचय बनाएका शाहीले यसपटक मतदाताको मन कत्तिको जित्न सक्छन्, त्यो भने हेर्न बाँकी नै छ ।
शाहीले २०७९ को निर्वाचनमा प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि दह्रो दाबी गरे । उनलाई टिकट दिइएन । शाहीले प्रदेशसभा (२) का लागि स्वतन्त्र उम्मेदवारी दिए । केन्द्रीय सभापति शेरबहादुर देउवाले नै फिर्ता लिन आग्रह गरेपछि उनले स्वतन्त्र उम्मेदवारी फिर्ता लिए ।
आर्थिक हिसाबले सामान्य परिवारमा हुर्किए । जनतासँगै खाने बस्ने भएकाले सहजै रूपमा जित्ने अनुमान उनको छ । उनीसँगै राजनीति सुरु गरेका नेताहरूले सांसद लगायतका सरकारी पद धारण गरिसकेका छन् । ‘मसँगै राजनीति सुरुवात गरेका साथीहरू हिजो पनि उम्मेदवार बने । चुनाव जिते । अहिले पनि उम्मेदवार बनेका छन् । चुनाव जित्लान् । भोलि पनि उनीहरू उम्मेदवार नै हुन्छन्,’ शाहीले भने, ‘म बाल्यकालदेखि नै समाजको सेवामा लागेँ । अहिलेसम्म कुनै अवसर पाइनँ । यो चुनावमा यो माटोले पत्याएको छ । पार्टीले अवसर दिएको छ । सबै मतदाताले मलाई माया गर्दिनुभयो भने म चुनाव जित्छु ।’
उनले जनताको माया कहिल्यै डगमगाउन नदिने प्रतिबद्धता पनि जाहेर गरे । जिल्लाको विकासका लागि आफू सहमति, सहकार्य र एकतामा विश्वास गर्ने उम्मेदवार भएको उनको दाबी छ । शाहीलाई २०५४ सालमा तत्कालीन विद्रोही माओवादीले भौतिक कारबाही गर्यो । उनले लामो समय विस्थापित जीवन बिताए । अहिले पनि द्वन्द्वकालीन घाउहरू लिएर घरदैलोमा पुगेको बताउने शाहीले जनताले नै त्यसमा मल्हमपट्टी गरेर निको गराइदिनेमा ढुक्क रहेको बताउँछन् ।
उनीसँगै गाविस अध्यक्ष बनेर राजनीतिमा लागेका बलबहादुर महत एमालेबाट सांसद बनेर पर्यटन राज्यमन्त्री भइसके । पदमबहादुर रोकाया एमालेबाट प्रदेश सांसद बनेर कर्णाली प्रदेशको मन्त्री भइसके । शाहीका अगाडि कांग्रेसको गुमेको साख फर्काउने चुनौती त छ नै, साथसाथै आफूलाई जनताको बीचमा पुनःस्थापित गराउने चुनौती पनि उत्तिकै छ ।
२०६४ सालमा माओवादीसँगै पराजित बनेको कांग्रेसले २०७० सालमा ललितजंग शाहीलाई उम्मेदवार बनाएर जितायो । २०७४ सालमा एमाले र माओवादी गठबन्धन भएकाले कांग्रेसका उम्मेदवार देवेन्द्रबहादर शाही पराजित बने । २०७९ सालमा कांग्रेस–माओवादीको गठबन्धन बन्यो । प्रतिनिधिसभाको उम्मेदवार कांग्रेसले पाएन । गठबन्धनको उम्मेदवार बनेकी गोमा गौतमले पराजय भोगिन् ।
अहिले दीपबहादुर शाही जित दोहोर्याउने दाउमा छन् । तर उनका लागि भर्खरै विभाजनको डिलमा पुगेर बचेको कांग्रेसभित्र नेता–कार्यकर्तालाई सन्तोष तुल्याउने मुख्य चुनौती छ भने आममतदाताको आशीर्वाद र शुभेच्छा बटुलेर निर्वाचित हुने अवसर पनि उत्तिकै छ ।
