शान्तिलालको जुम्लामा पहिलो बन्ने कसरत

‘जुम्लामा एमाले पहिलो पार्टी हो । तर पार्टीभित्रको प्राविधिक कमजोरी चुनाव हराउने साधन बनिरहेको छ । यस पटकको चुनावमा त्यो हुन दिन्नौं,’ जुम्लाका एमाले उम्मेदवार शान्तिलाल महतले भने, ‘यसपटक चुनाव जितेर लामो समयदेखि गुमेको साख फिर्ता ल्याउने अभियानमा छौं ।’

माघ ८, २०८२

डीबी बुढा

Shantilal's effort to become first in Jumla

What you should know

जुम्ला — कर्णालीमा राम्रो पकड भए पनि नेकपा एमाले जुम्लामा २०५६ सालदेखि उम्मेदवार जिताउन सकेको छैन । कहिले उपविजेता त कहिले तेस्रो स्थानमै चित्त बुझाउँदै आएको छ । तर यसपटक एमाले जुम्लाका अध्यक्ष ६२ वर्षीय शान्तिलाल महतले विजेता बन्ने दौडमा आफ्नो उम्मेदवारी दर्ता गराएको बताउँछन् ।

एमाले जिल्ला कमिटीले सबैको समर्थनमा एकल सिफारिस भएको र नेता–कार्यकर्ताको अपार साथ भएकाले यसपटक विजेता भएर छाड्ने उनको दाबी छ । जुम्लाको चन्दननाथ नगरपालिका–७ महतगाउँमा स्थायी घर भएका महत यसअघि सामाजिक सेवामा क्रियाशील थिए । 

मंगलबार मुख्य निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गरेसँगै महतले नेता–कार्यकर्ता र समर्थकसँगको भेटघाट तीव्र पारेका छन् । उसो तर खलंगा आसपासका बस्तीमा घरदैलो गरेर मत मागिरहेका छन् । सुरुदेखिको सक्रियता र विगतदेखि सिकेको पाठलाई सफलताको सूत्रका रूपमा अघि सारेका महत अनेक एजेन्डा लिएर मतदाताको मन जित्ने कसरतमा लागेको बताउँछन् । 

एमाले जुम्लाले २०५६ सालको निर्वाचनमा देवीलाल थापालाई यहाँबाट जितायो । त्यहाँदेखि भएका कुनै पनि चुनाव आफ्नो अनुकूल बनाउन सकेको छैन । आन्तरिक कलह तीव्र हुनु र नेता–कार्यकर्तामा एकरूपता नहुनुले पराजित हुनुपरेको एमालेका समर्थकहरू बताउने गर्छन् । ‘पार्टीभित्रको अन्तरसंघर्ष मात्र रोक्न सके पनि महत विजेता बन्ने निश्चित छ,’ एक एमाले कार्यकर्ताले भने ।

२०६४ सालको चुनावमा एमालेका नेता डिल्लीबहादुर महत उम्मेदवार बने । उतिबेला तत्कालीन नेकपा माओवादीको जगजगी भएकाले उनी तेस्रो स्थानमा धकेलिए । जुम्लामा उनी एमालेभित्र प्रभावशाली नेता मानिन्थे । २०७० सालको चुनावमा पदम रोकायालाई उम्मेदवारका रूपमा अघि सार्‍यो । उनी दोस्रो स्थान ल्याउन सफल भए । 

२०७४ सालमा नेकपा माओवादी र एमाले मिलेर नेकपा बन्यो । माओवादीका गजेन्द्रबहादुर महतले गठबन्धनको उम्मेदवार पाए । एमालेले उम्मेदवार नपाउने अवस्थामा महतलाई सहयोग गर्‍यो । २०७९ सालमा नेकपा एमालेका केन्द्रीय सदस्य रतननाथ योगी चुनावमा प्रत्यक्ष उम्मेदवारका रूपमा मैदानमा होमिए । उनी तेस्रो स्थानमा थन्किए । राप्रपाका ज्ञानबहादुर शाही विजय बने । 

यी सबै चुनावबाट पाठ सिक्दै यसपटक शान्तिलाल महतलाई एमालेले चुनावी मैदानमा पठाएको छ । महतले राष्ट्रियता विरोधी, भौतिक संरचना जलाउनेदेखि हिंसात्मक कार्यका विरुद्धमा आफ्नो उम्मेदवारी रहेको बताउँदै आएका छन् । देशमा राजनीतिक स्थिरता कायम गर्न र सुखी नेपाली, समृद्ध नेपाल साकार पार्न पनि नेपाली जनताले एमालेलाई पहिलो पार्टीका रूपमा देख्न चाहेको उनको तर्क छ । 

२०३८ सालदेखि नेमकिपाबाट भूमिगत रूपमा पार्टी सदस्यता प्राप्त गरेका महत २०४७ मा नेकपा माले हुँदै नेकपा एमालेको राजनीतिमा लागेका हुन् । वडाध्यक्षदेखि सकुम्बासी आयोगको अध्यक्षसम्म हुँदै लामो समय गैरसरकारी संस्थामा लागेर उनले समाजसेवा गरेका छन् । 

२०७४ सालको स्थानीय तहको निर्वाचनमा चन्दननाथ नगर प्रमुखका रूपमा उम्मेदवारी दर्ता गरे । कांग्रेसकी कान्तिका सेजुवालसँग पराजित भए । उनी २०७७ देखि हालसम्म पार्टीको जिल्ला कमिटी अध्यक्ष छन् । निर्वाचनमा पहिलो बन्नका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराएका नौ जना प्रतिस्पर्धीलाई पराजित गर्नुपर्ने चुनौती छ ।

अहिले मुख्य प्रतिस्पर्धीका रूपमा रहेका नेकपाका नरेश भण्डारी, कांग्रेसका दीपबहादुर शाही र राप्रपाका ज्ञानबहादुर शाहीले भन्दा धेरै मत ल्याउनुपर्नेछ । जसका लागि नरम प्रचार शैली, मतदाताको मन जित्ने एजेण्डा तर्जुमा गरेर बस्तीमा प्रवेश गर्नुबाहेकको विकल्प नरहेको महत स्वयं पनि स्वीकार्छन् । ‘जुम्लामा एमाले पहिलो पार्टी हो । तर पार्टीभित्रका प्राविधिक कमजोरी चुनाव हराउने साधन बनिरहेको छ । यस पटकको चुनावमा त्यो हुन दिन्नौं,’ महतले भने, ‘यसपटक चुनाव जितेर लामो समयदेखि गुमेको साख फिर्ता ल्याउने अभियानमा छौं ।’

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully