कांग्रेस पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काको २०४८ सालदेखि र पूर्वमन्त्री हृदयराम थानीको २०५१ सालदेखिको संसदीय यात्रामा लाग्यो ‘ब्रेक’, खड्काका भाइ विष्णुबहादुर खड्का र थानीका विश्वासपात्र नारायण कोइराला विरासत जोगाउने दाउमा ।
What you should know
सुर्खेत — गत प्रतिनिधिसभा निर्वाचनमा ४२ हजार ६ सय ७ मतसहित सुर्खेत क्षेत्र नं १ बाट विजयी बनेका नेपाली कांग्रेसका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का सातौंपल्ट सांसद बन्ने योजनामा थिए । उनको इच्छाअनुसार नै पुस तेस्रो साता पार्टीको क्षेत्रीय कार्यसमिति, निर्वाचन क्षेत्र नं १ को बैठकले प्रत्यक्षतर्फको उम्मेदवारका रूपमा उनको नाम एकल सिफारिस गर्यो । तर कांग्रेसमा पछिल्लो समय विकसित घटनाक्रमपछि उनले चुनाव नलड्ने घोषणा गरे ।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमै ३४ हजार ६ सय २५ मत ल्याएर सुर्खेत क्षेत्र नं २ बाट विजयी भएका पूर्वमन्त्री हृदयराम थानी पनि सातौंपल्ट चुनावी मैदानमा उत्रिने तयारीमा थिए । पुस २३ गते बसेको क्षेत्रीय कार्यसमिति बैठकले उनीसहित ६ जनाको नाम प्रत्यक्षतर्फको उम्मेदवारमा सिफारिस गरेको थियो । तर माघ १ गते आफ्नो स्वास्थ्यमा समस्या भएको जनाउँदै थानीले निर्वाचन नलड्ने भन्दै विज्ञप्ति जारी गरे ।
खड्काले २०४८ सालदेखि र थानीले २०५१ सालदेखि सबैजसो प्रतिनिधिसभा निर्वाचनमा भाग लिए । तर पहिलोपल्ट उनीहरू संसदीय निर्वाचनबाट बाहिरिएका छन् । खड्काका भाइ विष्णुबहादुर खड्का र थानीका विश्वासपात्र नारायण कोइराला अहिले विरासत जोगाउने दाउमा प्रतिस्पर्धामा उत्रिएका छन् ।
‘उहाँहरू दुवै जना फरक-फरक खेमाको नेतृत्वकर्ता हुनुहुन्थ्यो, समग्रमा कर्णालीको राजनीति उहाँहरूकै वरिपरि निर्भर थियो,’ मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपप्राध्यापक कमल लम्सालले भने, ‘उहाँहरू बाहिर हुँदाको यो निर्वाचनको प्रतिस्पर्धा रोचक हुने देखिएको छ ।’ लामो समयदेखि खड्का शेरबहादुर देउवा र थानी डा. शेखर कोइराला समूहमा क्रियाशील छन् । बाहिर जे कारण देखाए पनि विशेष महाधिवेशनले निर्वाचन आयोगबाट मान्यता पाएपछि दुवै जना निर्वाचनबाट हच्किएको उनको दाबी छ । राजनीतिमा पुस्तान्तरण जरुरी रहेको उनको भनाइ छ ।
खड्का २०४८, २०५१ र २०५६ सालको आमनिर्वाचनमा निर्वाचित भए । २०६४ सालमा समानुपातिक सांसद भएका उनी २०७४ सालको निर्वाचनमा पराजित भए भने २०७० सालको दोस्रो संविधानसभा सदस्य निर्वाचनमा विजयी भइ फेरि संसद् प्रवेश गरे । २०३१ सालबाट राजनीतिक यात्रा सुरु गरेका उनी २०३६ सालमा वीरेन्द्रनगर नगरपालिका प्रमुख बनेका थिए । खड्का उपप्रधानमन्त्री बनिसकेका व्यक्ति हुन् भने उनीसँग गृह, रक्षा, युवा तथा खेलकुद, सञ्चार र उद्योग वाणिज्यलगायत मन्त्रीको अनुभव छ । १० औं महाधिवेशनमा केन्द्रीय सदस्य बनेका उनी सहमहामन्त्री, महामन्त्री हुँदै पार्टीको चौधौं महाधिवेशनमा उपसभापतिमा निर्वाचित भएका थिए ।
नारायण कोइराला र विष्णुबहादुर खड्का
खड्काले लड्दै आएको सुर्खेत निर्वाचन क्षेत्र नं १ मा उनका भाइ विष्णुबहादुर उम्मेदवार छन् । वीरेन्द्रनगर–७ का बासिन्दा खड्का पार्टीका जिल्ला उपसभापति हुन् भने सुर्खेतका स्थापित व्यववसायी पनि । खड्काले माया नर्सिङ होम र न्यू माया आयल स्टोर सञ्चालन गरिरहेका छन् भने मध्यपश्चिमाञ्चल यातायात व्यवसायी प्रालिको अध्यक्ष हुन् । उनले जनपक्षीय कानुन निर्माण, जिल्लाका समस्याबारे सरकारलाई खबरदारी गर्न तथा सुर्खेतको विकास र समृद्धिका लागि आफूले उम्मेदवारी दिएको बताए ।
‘म उहाँ (पूर्णबहादुर) को भाइ त हुँ नै, राजनीति, व्यवसाय र समाजसेवामा मेरो पनि छुट्टै पहिचान छ,’ उनले भने, ‘पार्टीको बलियो संगठन र क्रियाशिलताका कारण पनि हामी सजिलै विजयी हुन्छौं ।’ खड्काको समाजसेवी भावना, नेतृत्वदायी भूमिका र गहिरो जनसम्बन्ध जितको आधार भएको कांग्रेस सुर्खेतका सभापति खडकबहादुर पोखरेलले बताए ।
क्षेत्र नं १ मा एमालेबाट ध्रुवकुमार शाही, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट जितबहादुर राना, रास्वपाबाट टेकबहादुर सिंहलगायत १३ जना उम्मेदवार छन् । एमाले उम्मेदवार शाहीले नै २०७४ सालमा ३६ हजार ७ सय ५९ मत ल्याएर खड्कालाई हराएका थिए भने २०७९ सालमा ३० हजार ९ सय ८८ मत पाएर पराजित भए ।शाही एमाले प्रदेश कमिटी सचिव हुन् ।
त्यस्तै पूर्वमन्त्री थानी २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ गरी ६ वटा निर्वाचनमा उम्मेदवार बने । उनको जित र हार बराबर छ । २०५६, २०६४ र २०७९ सालमा सांसद बनेका उनी पार्टीको पूर्व केन्द्रीय सदस्यसमेत हुन् । नेपाल विद्यार्थी संघबाट राजनीति थालेका थानी दुईपल्ट राज्य व्यवस्था समितिको सभापति बने भने सहकारी तथा गरिबी निवारणमन्त्री भइसकेका व्यक्ति हुन् ।
यसपल्ट क्षेत्र नं २ क्षेत्रीय कार्यसमितिले उनीसहित ६ जनाको नाम सिफारिस गरी पठाएको थियो । ‘उहाँ शेखर कोइराला पक्षबाट टिकट पाइन्छ भन्ने आशामा हुनुहुन्थ्यो, सुरुमा उहाँ पनि विशेष महाधिवेशनको पक्षमा हुनुहुन्थ्यो,’ उनी निकट एक कांग्रेस नेताले भने, ‘तर कोइराला पक्षले विशेष महाधिवेशनलाई समर्थन नगरेपछि व्याक हुनुभयो ।’
दुई महिनादेखि खुट्टाको नसामा समस्या देखिएपछि हिँडडुल गर्नसमेत नसकेका कारण यसपल्ट निर्वाचनमा उम्मेदवार नबनेको थानीले बताए । ‘जेन–जी आन्दोलनपश्चात् मुलुकमा थुप्रै अप्रत्यासित राजनीतिक घटनाक्रम भयो, त्यसैमा मेरो स्वास्थ्यले पनि साथ दिएन,’ उनले भने, ‘प्रतिकूल स्वास्थ्य अवस्थामा चुनावी अभियानमा सक्रिय हुन नसक्ने भएपछि उम्मेदवार नबनेको हुँ ।’
सुर्खेत क्षेत्र नं २ बाट उम्मेदवारी दिएका वीरेन्द्रनगर–९ का स्थायी बासिन्दा कोइरालाले नेपाल विद्यार्थी संघबाट राजनीति थालेका थिए । उनी नेपाली कांग्रेसका पूर्व क्षेत्रीय सभापति हुन् भने सुर्खेत उपत्यका नगर विकास समितिको अध्यक्षसमेत बनिसकेका छन् । नगर विकास समितिको अध्यक्ष हुँदा उपत्यकाको योजनाबद्ध विकासमा उनको उल्लेख्य भूमिका रहेको कांग्रेस जिल्ला सचिव देवकुमार सुवेदीले बताए ।
‘बुलबुले उद्यान र दोभान पार्कलाई व्यवस्थित बनाएको जस उहाँलाई नै जान्छ, उहाँ भिजनरी लिडर हो,’ उनले भने, ‘सरल स्वभाव, बौद्धिक छवि, इमानदार र स्वच्छ छवि उहाँको जितका आधार हुन् ।’ सुर्खेत क्षेत्र नं २ मा एमालेका कुलमणि देवकोटा, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का झकबहादुर मल्ल र रास्वपाका जिल्ला अध्यक्ष रमेश सापकोटा चुनावी प्रतिस्पर्धामा छन् ।
उम्मेदवारहरू नयाँ भए पनि राजनीति र सामाजिक काममा दुवैको उल्लेख्य योगदान भएकाले दुवै क्षेत्रमा आफूहरूले जित हात पार्ने कांग्रेस जिल्ला सभापति खडकबहादुर पोखरेलले बताए । ‘उसै पनि सुर्खेत कांग्रेसको बलियो गढ हो,’ उनले भने, ‘योग्य उम्मेदवार छनोट, मतदाताप्रति स्पष्ट दृष्टिकोण र पार्टीको बलियो एकताका कारण उहाँहरूले पुरानो विरासत जोगाउनुहुन्छ ।’
