तीमध्ये नेकपाका नरेश भण्डारी र राप्रपाका ज्ञानबहादुर शाही दोहोरिने दाउमा चुनावी मैदानमा उत्रिएका छन् ।
जुम्ला — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मंगलबार भएको मनोनयन दर्ता रोचक बन्यो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार १० जनाले उम्मेदवारी दर्ता गराए ।
तीमध्ये नेकपाका नरेश भण्डारी र राप्रपाका ज्ञानबहादुर शाही दोहोरिने दाउमा चुनावी मैदानमा उत्रिएका छन् ।
नरेश भण्डारी २०६४ सालको संविधानसभा सदस्य निर्वाचनमा निर्वाचित सांसद हुन् । उनले २१ हजार १२७ मत ल्याएर चुनाव जितेका थिए । उतिबेला नेपाली कांग्रेस मुख्य प्रतिस्पर्धी थियो । कांग्रेसका दिनबन्धु श्रेष्ठले १२ हजार मत ल्याए । उनी झन्डै दोब्बर मतले विजयी बने ।
२०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा राप्रपाका ज्ञानबहादुर शाहीले चुनाव जितेका थिए । उतिबेला कांग्रेस र माओवादीको चुनावी गठबन्धन थियो । शाहीले २२ हजार ८ सय १९ मत ल्याएर जितेका थिए । गठबन्धनकी उम्मेदवार गोमा गौतम कुँवरले ११ हजार ९ सय ५९ मत ल्याएकी थिइन् । शाहीले पनि दोब्बर मतले गठबन्धनलाई हराएपछि उनको चर्चा चुलिएको थियो ।
अहिले शाही दोस्रो पटक चुनावी मैदानमा छन् । सामाजिक सञ्जालहरूमा शाही र भण्डारीकै चुनावी महाभिडन्त हुने विषय चर्चाको विषय बनेको छ ।
मनोनयन दर्ताका क्रममा नेकपाका उम्मेदवार नरेश भण्डारीले आफूले गरेको विकास योजनाको समीक्षा गर्दै जुम्ली जनताले फेरि दोहोर्याउने विश्वास व्यक्त गरे । उनी सोमबार नै टिकट लिएर जुम्ला पुगिसकेका थिए । तर ज्ञानबहादुर शाही सुर्खेत क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने भन्दै रोकिएका थिए । तर अन्तिम समयमा उनी जुम्लाबाटै मनोनयन गर्न पुगे ।
शाहीले विमानस्थलमा पुग्ने बित्तिकै मातृभूमि सम्झिएर चुनावी मैदानमा होमिएको प्रतिक्रिया दिए । सुर्खेत र जुम्ला कुन ठाउँबाट चुनाव लड्ने भन्ने अन्योलताका बीच जुम्ला आइपुगेको उनको भनाइ थियो ।
‘गत चुनाव जिताउनुभयो । आधा मात्रै काम गर्न पाएँ । सोचेका काम पूरा हुन सकेनन् । अहिले फेरि फर्किएको छु । जिताउने–हराउने तपाईँहरूकै जिम्मा छ,’ शाहीले भने ।
उनले घरकी आमासँग आफ्नो ठाउँको तुलना गर्दै भने, ‘रुँदै जुम्ला फर्किएको छु । सांसद हुँदासम्म जुम्लालाई के गर्ने भन्ने मेरो हातमा थियो, अब तपाईँको हातमा छ । हराउने कि जिताउने जिम्मा तपाईँहरूकै छ ।’
सांसद शाही चर्को बोल्ने र कर्णालीको आवाज दुरुस्त बोल्ने सांसदका रूपमा चिनिन्छन् ।
यता नेकपाका भण्डारीले आफू सांसद हुँदा गरेका कामको बेलिबिस्तार लगाए । उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना, चुकेनी जलविद्युत् आयोजनाको कामदेखि धौलिघाट खानेपानी आयोजनाको शुभारम्भ आफ्नै पहलमा भएको दाबी गरे । आफू जितेर गएपछि प्रदेशसभा र प्रतिनिधिसभाका लागि तयार भएको सिञ्जा विधेयकसमेत पारित गराएर विश्वको ध्यान जुम्लातर्फ केन्द्रित गराउन लागिपर्ने बताए ।
नेकपाका केन्द्रीय सदस्यसमेत रहेका भण्डारीले जेन-जी आन्दोलनको म्यान्डेट सम्बोधन गर्न र जुम्लालाई विकास र समृद्धिको मोडलका रूपमा स्थापित गर्न आफ्नो उम्मेदवारी रहेको बताए ।
‘विगतको संकल्प र सोच सुदृढ गर्ने र बाँकी अभिभारा पूरा गर्न उम्मेदवारी दिएको छु । एक पटक जुम्लाको माटो र जुम्ली जनताले नेकपाको नेतृत्व खोजिरहेको छ । जुम्ली जन र माटोको आशीर्वाद प्राप्त हुने विश्वास राखेको छु,’ भण्डारीले भने ।
आफू सांसद हुँदा जनमुखी र देखिने काम गरेकोले जनताको विश्वास रहेको उनको भनाइ छ । भण्डारी २०७४ सालमा कर्णाली प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । उनी कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका थिए ।
यी दुई जनाको प्रतिस्पर्धाबीच एमाले पहिलो पटक जित्ने प्रणमा रहेको छ भने कांग्रेस दोस्रो जित खोजिरहेको छ । अहिले एक मात्र निर्वाचन क्षेत्र रहेको जुम्लामा भण्डारी र शाहीबीच कडा टक्कर हुने आकलन गरिएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेकपाका भण्डारी, राप्रपाका शाही, एमालेका शान्तिलाल महत, कांग्रेसका दीपबहादुर शाही, रास्वपाकी विनीता कठायतलगायत १० जनाको उम्मेदवारी परेको छ ।
