वीरेन्द्रनगरको पसलमा लागेको आगो नियन्त्रण गर्न सकस

राजदलका गणपति भद्रबहादुर सिंह ठकुरीले बिजुलीको काम गर्ने क्रममा सर्ट भएर आगो लागेको बताए । पसलभित्र टायर, रबर र छिटो आगो सल्किने वस्तु रहेकाले नियन्त्रण कठिनाइ भइरहेको छ ।

माघ ५, २०८२

ज्योति कटुवाल

Fire at Birendranagar shop under control

सुर्खेत — सुर्खेतको वीरेन्द्रनगरस्थित मानिकेज ऊर्जा पसलमा सोमबार दिउँसो लागेको आगो नियन्त्रण गर्न सकस भएको छ । वीरेन्द्रनगर–३, जुम्ला रोडस्थित पसलमा आगलागी भएको चार घन्टा बिते पनि नियन्त्रण गर्न सकिएको छैन । 

आगो नियन्त्रण गर्न खटिएको सेनाको राजदल गणका गणपती भद्रबहादुर सिंह ठकुरीले बिजुलीको काम गर्ने क्रममा सर्ट भएर आगो लागेको बताए । पसलभित्र टायर, रबर र छिटो आगो सल्किने वस्तु रहेकाले नियन्त्रण कठिनाई भइरहेको बताए । 

उनका अनुसार उपसेनानी मनोज कुँवर र प्रहरी निरीक्षक राजन भट्टराइको टोलीले जलिरहेको घरबाट वीरेन्द्रनगर–६, कि ७० वर्षीया तुलसी भुषालको उद्धार गरेको थियो । भवनको चौथो तलाबाट बेहोस अवस्थामा बृद्धाको उद्दार गरिएको थियो । उद्धार गर्न भवनको भित्ता फोड्नु परेको थियो । 

आगो नियन्त्रणमा लिन नेपाली सेना, नेपाल र सशस्त्र प्रहरी बलको संयुक्त टोली परिचालित छ । नेपाल आयल निगम सुर्खेतको दमकल र डिभिजन वन कार्यालयको पानी टयांकरको सहयोगले आगो नियन्त्रणमा लिने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully