लुहाम–फलाबाङ–बल्ले–तुलसीपुर सडकखण्डमा बस सञ्चालन

लुहाम–फलाबाङ–बल्ले–तुलसीपुर सडकको स्तरवृद्धिपछि यात्रुवाहक बस सञ्चालनमा आउँदा जिल्लाका बासिन्दाले सहज र छोटो यात्रा गर्न पाएका छन्।

माघ ४, २०८२

विप्लव महर्जन

Bus operation on Luham-Falabang-Balle-Tulsipur road section

What you should know

सल्यान — दाङ–सल्यान खण्डअन्तर्गत राप्ती राजमार्गको वैकल्पिक मार्गका रूपमा चिनिने लुहाम–फलाबाङ–बल्ले–तुलसीपुर सडकमा यात्रुवाहक बस सञ्चालनमा आएको छ। संघीय सरकार तथा स्थानीय सरकारको बजेटमार्फत सडक स्तरवृद्धि गरेपछि उक्त सडकमा यात्रुवाहक बस सञ्चालनमा आएको हो।

लुहाम–फलाबाङ–बल्ले हुँदै तुलसीपुर पुग्ने सडक दुई दशकअघि खन्न सुरु गरिएको थियो। उक्त सडकखण्डमा गत केही वर्षदेखि साना सवारीसाधन मात्र चल्ने गरेका थिए। यात्रुवाहक बस सञ्चालनमा आएपछि त्रिवेणी गाउँपालिका–४ फलावाङवासी मात्र नभई जिल्लावासी खुसी भएका छन्।

लुहामदेखि कपुरकोट हुँदै तुलसीपुर सडकखण्ड ४२ किमी पर्ने र लुहाम–फलाबाङ–बल्ले हुँदै तुलसीपुर पुग्दा जम्मा २७ किलोमिटर मात्र भएकाले १५ किलोमिटर छोटो पर्ने भएकाले सल्यान हुँदै दाङ जाने द्रुत मार्गका रूपमा समेत चिनिने गर्छ। 

राप्ती राजमार्गअन्तर्गत कपुरकोट–राम्री सडकखण्डमा सडक स्तरवृद्धि तथा कालोपत्रेको काम भइरहेको र केही दिनपछि एक महिनासम्म सडक डिभिजन कार्यालय दाङले दैनिक ६ घण्टा बन्द गर्ने निर्णय गरेपछि अबका दिनमा रुकुम, सल्यान, चौरजहारीबाट सल्यानको श्रीनगर हुँदै लुहाम–कपुरकोट–राम्री भएर दाङ, नेपालगन्ज चल्ने साना–ठूला सवारीसाधन लुहाम–फलाबाङ–बल्ले हुँदै तुलसीपुर जान सक्ने भएका छन्।

२०६८ सालमा निर्माण गर्न सुरु गरिएको लुहाम–फलाबाङ–बल्ले–तुलसीपुर सडकखण्डमा गत केही वर्षदेखि हिउँदमा मात्र साना गाडी चल्ने र वर्षात्को समयमा सधैँ बन्द हुने गरेकोमा संघीय सरकारको एक करोड र पालिकाको पटक–पटक गरी १ करोड ५० लाख बजेट खर्च गरेर सडक स्तरवृद्धि गरेपछि यात्रुवाहक बस चल्न थालेको त्रिवेणी गाउँपालिका अध्यक्ष खिमबहादुर रावतले बताए।

सडक कच्ची भए पनि कपुरकोटबाट भन्दा १५ किलोमिटर कम पर्ने भएकाले अहिले धेरै गाडीहरू चल्ने गरेका उनले जानकारी गराए। उनका अनुसार २७ किलोमिटर सडकमध्ये तुलसीपुर क्षेत्रका दुई किलोमिटर कालोपत्रे छन्। ४–५ किलोमिटर ग्राभेल छन्। बाँकी सबै कच्ची छन्। उक्त सडकखण्डमा बाह्रै महिना बस तथा अन्य गाडी सञ्चालनका लागि सडक ग्राभेल र कालोपत्रे गर्न सम्बन्धित निकायसमक्ष पहल भएको छ।

त्रिवेणी गाउँपालिका–४ का वडा अध्यक्ष छविराज शर्माले बस चल्न थालेपछि धेरै सहज भएको बताए। सडक स्तरवृद्धि गरेर चौडा बनाएपछि अबका दिनमा बाह्रै महिना गाडी चल्ने उनले जानकारी गराए। ‘राप्ती राजमार्ग वर्षात्‌को समयमा पहिरो गएर त कहिले निर्माणको क्रममा बन्द हुने गर्थ्यो। यात्रु लामो समय सडकमा बस्नुपर्ने हुन्थ्यो। अबका दिनमा यात्रुले लामो समय कुर्नु पर्दैन,’ उनले भने। उक्त सडक कालोपत्रे भएमा धेरैले प्रयोग गर्ने उनको भनाइ छ।

लुहामदेखि तुलसीपुर जाने धेरै सडक भएकाले फलाबाङ–बल्ले भएर तुलसीपुर जान धेरै छोटो पर्ने फलाबाङका स्थानीय धनबहादुर वलीले बताए। उनले वर्षात्‌को समयमा पनि नियमित गाडी चल्ने बनाउन सम्बन्धित निकायसमक्ष आग्रह गरे।

विप्लव महर्जन महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully