कर्णालीमा महिनावारी स्वास्थ्य तथा न्यायसम्बन्धी मार्गदर्शन जारी

किशोरी तथा छात्राको महिनावारी स्वास्थ्य तथा न्यायसम्बन्धी समस्यालाई लैंगिक समानता तथा वातावरणीय न्यायका आधारमा न्यूनीकरण गर्न मन्त्रालयले मार्गदर्शन निर्माण गरेको हो ।

माघ ३, २०८२

कान्तिपुर संवाददाता

Guidelines on menstrual health and justice issued in Karnali

What you should know

सुर्खेत — कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले महिनावारी स्वास्थ्य तथा न्यायसम्बन्धी मार्गदर्शन जारी गरेको छ ।

किशोरी तथा छात्राको महिनावारी स्वास्थ्य तथा न्यायसम्बन्धी समस्यालाई लैंगिक समानता तथा वातावरणीय न्यायका आधारमा न्यूनीकरण गर्न आवश्यक भएको भन्दै मन्त्रालयले मार्गदर्शन निर्माण गरेको हो । शुक्रबार एक कार्यक्रमबीच सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले मार्गदर्शनको सार्वजनिक गरे । 

कर्णालीमा छाउपडीलगायत वेथितिको अन्त्य गर्न पनि मार्गदर्शन महत्वपूर्ण रहेको उनको भनाइ छ । ‘महिनावारीसँग जोडिएको छाउपडी प्रथाको इतिहास धार्मिक विश्वास, पितृसत्तात्मक सोच र मानसिक संरचनाको मिश्रणबाट बनेको हो, यसलाई हटाउन पनि मार्गदर्शन अनिवार्य देखियो,’ मन्त्री भण्डारीले भने, ‘नेपालको संविधानको धारा ३८(३) मा पनि प्रत्येक महिलालाई सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्यसम्बन्धी हक पनि प्रदान गरिएको छ, त्यसको पूर्णरुपमा कार्यान्वयनका लागि प्रादेशिक योजना पनि निर्माण गरेका छौ ।’

राष्ट्रिय जनगणना–२०७८ अनुसार कर्णालीमा कक्षा ६ देखि १२ सम्म ३ लाख १३ हजार छात्राहरु अध्ययनरत छन् । उनीहरुका लागि संघीय सरकारले निःशुल्क महिनावारी व्यवस्थापन सामग्री वितरण गरिरहेको छ । 

महिनावारीसम्बन्धी कानुनी र नीतिगत व्यवस्थाको कार्यान्वयनका लागि प्रदेशस्तरमा मन्त्रालयका सचिवको संयोजकत्वमा र स्थानीय तहका प्रमुख वा उपप्रमुखको संयोजकत्वमा सहजीकरण समिति बनाइएको छ ।

मन्त्रालयका सचिव धोलकराज ढकालले महिनावारी व्यवस्थापनलाई एकीकृत रुपमा सञ्चालन गर्न मार्गदर्शनले टेवा पुर्‍याउने बताए । ‘किशोरी तथा विद्यालयहरुमा अध्ययनरत छात्राहरुको भविश्य उज्वल बनाउन, वृत्तिविकास तथा रोजगारीका अवसर प्रदान गर्न पनि महिनावारीको सुरक्षित व्यवस्थापन हुनुपर्ने देखियो,’ उनले भने, ‘यसले हानीकारक सामाजिक प्रचलनमा कमी ल्याउन र वातावरणीय नकारात्मक असरलाई न्यून गर्न सहयोग गर्नेछ ।’   

मन्त्रालयका अनुसार सुर्खेतको पञ्चपुरी नगरपालिका र बराहताल गाउँपालिकामा महिनावारी स्वास्थ्य तथा न्यायसम्बन्धी परियोजना सञ्चालन गरिएको छ । दुई पालिकाका १२ वडामा सुशासन प्रवर्द्धनका लागि युवा (वाईजीजीपी)ले महिनावारी दुखाइ न्यूनीकरणसम्बन्धी अभियान सञ्चालन गरिरहेको हो।

अभियानमा ३ सय ६० किशोरीहरु आवद्ध भएको संस्थाका कार्यकारी निर्देशक घनश्याम केसीले बताए । ‘सुरक्षित महिनावारी अभियानले छाउ प्रथा न्यूनीकरण भएको छ,’ उनले भने, ‘ग्रामीण क्षेत्रमा महिनावारी सचेतना, सरसफाईका भौतिक पूर्वाधार निर्माण र महिनावारी व्यवस्थापन सामग्रीको वितरण प्रभावकारी बन्दै गएको छ ।’

कान्तिपुर संवाददाता

Link copied successfully