जडीबुटीको प्रशोधन, लेबलिङ र प्याकेजिङको व्यवस्था हुन सके मात्र कर्णाली आर्थिक रुपमा बलियो हुने जडीबुटी संकलकहरु बताउँछन्।
What you should know
जुम्ला — प्रशोधन उद्योग नहुँदा कर्णालीका बासिन्दा बहुमल्य जडीबुटी सस्तोमै बेच्न बाध्य छन्। निकै मेहनत गरेर संकलन गरेको जडीबुटी सस्तो भाउमै बेच्नुपर्दा दुःख लाग्ने गरेको उनीहरुको गुनासो छ ।
स्थानीय जडीबुटी व्यापारी हेमराज बोहोरा प्रशोधन उद्योग भएको भए कच्चा पदार्थ निर्यात गर्नुपर्ने बताउँछन्। ‘अहिले जंगलबाट ल्याएको जडीबुटी विना प्रशोधन निर्यात गर्नुपर्दा मूल्य पाइरहेको छैन,’ उनले भने, ‘कर्णालीको जडीबुटीप्रति सरकारी ध्यान छैन ।’
अहिले पाटनमा पाइने ७९ प्रकारका जडीबुटी कर्णालीले बेचिरहेको छ। कर्णालीको जुम्ला, डोल्पा, हुम्ला, मुगु र जाजरकोटका पाटनमा प्रशस्त जडीबुटी पाइने गरेको छ। जुम्लाले मात्र यार्चा, गुच्ची च्याउलगायत २२ प्रकारको जडीबुटी बेच्ने गरेको छ। ‘कर्णालीमा न जडीबुटी प्रशोधन उद्योग छ, न राम्रो बजार नै,’ बोहोराले भने, ‘कौडीको भाउमा ठूला व्यापारीको दैलोमै जडीबुटी पुर्याउनु परिरहेको छ ।’ उनले जडीबुटीको प्रशोधन, लेबलिङ र प्याकेजिङको व्यवस्था हुन सके मात्र आर्थिक रुपमा कर्णाली बलियो हुने बताए।
ज्यानको बाजी लगाएर गरेको जडीबुटी संकलन सस्तो मूल्यमा बेच्नु पर्दा निकै पीडा हुने गरेको स्थानीय ओमबहादुर बुढाले बताए। उनले भने, ‘भीर, पहरा, चिसो केही नभनेर जडीबुटी संकलन गर्छौं, व्यापारीले कौडीको भाउमा गाउँबाटै उठाइदिन्छन् । हामी सबैभन्दा बढी मर्कामा छौं ।’
डिभिजन वन कार्यालयको तथ्यांक अनुसार पछिल्लो ६ वर्षमा १ हजार २ सय ७७ टन जडीबुटी जिल्ला बाहिर निकासी भएको छ। तर निर्यात भएको तथ्यांक बमोजिमको राजश्व संकलन हुन सकिरहेको छैन। यी ६ वर्षमध्ये चालु आर्थिक वर्षमा सबैभन्दा बढी जडीबुटी निर्यात भएको छ। डिभिजन वन कार्यालयका प्रमुख भरतबहादुर बुढ्थापाले यो वर्ष २१ किलो यार्चा निर्यात भएको बताए। उनका अनुसार अत्तिस ४५० केजी, अमलवेद २५०, कालादाना २०७०, कुटकी ३६४, चुत्रो २२ हजार, जटामासी २१ हजार, तितेपाती ४ हजार, ढटेलो २ सय केजी निर्यात भएको छ।
सबैभन्दा बढी धुतिपान २६८ टन निर्यात भएको छ। सुनपाती ५७ हजार, वन लसुन ४५०, शिलाजित ११ सय, पदमचाल १२ सय १० सहित विभिन्न २५ प्ररकारका जडीबुटी निर्यात भएको प्रमुख बुढ्थापाले जानकारी दिए। यो वर्ष जडीबुटी निर्यातबाट ३८ लाख ५५ हजार ५६५ रुपैयाँ राजश्व संकलन भएको छ।
अहिले यहाँको जडीबुटी भारत र चीन जाने गरेको छ। कर्णालीका जडीबुटी संकलकले जडीबुटीको संरक्षण, व्यवस्थित संकलन, उपयुक्त मूल्य र बजारीकरणमा सरकारले जोड दिनुपर्ने बताएका छन्। ‘न सरकारी प्रोत्साहन छ, न उचित मूल्य नै,’ जुम्ला सिंजाका रणबहादुर रोकायाले भने, ‘कौडीको भाउमा जडीबुटी बिक्छ । संकलकको मेहनत गुमिरहेको छ ।’
जिल्लाबाट आर्थिक वर्ष २०८२/८३ को हालसम्म ४०७ टन जडीबुटी निर्यात भएको हो । कर्णालीमा जडीबुटीको मूल्यमा एकरुपता नहुनु, किसानको आम्दानीको तथ्यांक नराखिनु र उधारो जडीबुटी खरिद गरेर लैजाँदा संकलकले समयमै रकम नपाउनु जस्ता समस्या छन्। वन कार्यालयमा जडीबुटी निर्यात र काठ लिलाम शीर्षकमा ६ वर्षमा ३ करोड ३२ लाख रुपैयाँ राजश्व संकलन भएको छ ।
