नगरपालिकाले आर्थिक वर्षको सुरुमै किन्नु पर्ने औषधि प्रमुख प्रशासकीय अधिकृत नहुँदा झण्डै सात महिनासम्म पनि खरिद गरेको छैन। जसका कारण स्वास्थ्य संस्थाहरुमा औषधि अभाव भएको हो ।
What you should know
डोल्पा — हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा औषधिको अभाव भएको छ । नगरपालिका मातहतमा रहेका स्वास्थ्य संस्थाहरुमा औषधिको अभाव भएको हो ।
आर्थिक वर्षको सुरुमै किन्नु पर्ने औषधि प्रमुख प्रशासकीय अधिकृत नहुँदा झण्डै सात महिनासम्म पनि खरिद नभएपछि स्वास्थ्य संस्थाहरुमा औषधि अभाव भएको हो ।
अहिले नगरपालिका माताहतमा रहेका बाह्र वटै स्वास्थ्य ईकाइहरुमा सामान्य सिटामोल, एमोक्सोसिलिन, जीवनजल, दम लगायतका धेरै औषधिको अभाव भएको स्वास्थ्य शाखा प्रमुख थानेश्व पनेरुले जानकारी दिए । ‘कार्यालय प्रमुख नहुँदा लामोसमय देखि औषधि खरिद हुन सकेको छैन। त्यसकारण पनि अहिले हामीसँग सामान्य प्रकारको औषधि छैन। स्वास्थ्य चौकीका इन्चार्जहरुले पनि औषधि अभाव भएको जानकारी पठाउनु भएको छ,’ पनेरुले भने ।
‘खरिदकालागि बजेट पनि छ । तर, कार्यालय प्रमुख नहुँदा प्रक्रिया अघि बढ्न सकेको छैन। अहिले जिल्ला अस्पतालबाट केही पत्ताहरु मागेर काम चलाइ रहेका छौँ। जुन पर्याप्त छैन,’ उनको भनाइ छ।
डोल्पामा जाडो मौसम सुरु भइसकेकाले स्वास्थ्य संस्थाहरुमा रुघाखोकी ज्वरोका बिरामीहरुको चाप धेरै बढेकै समयमा औषधि अभाव भएको स्वास्थ्य संस्थाहरुले जनाएका छन्। नगरपालिकाको केन्द्रमै रहेको नगर अस्पतालमा समेत औषधि पर्याप्त छैन ।
केहीमात्रामा औषधि भएपनि पर्याप्त औषधि नभएको अस्पतालमा कार्यरत डाक्टर सुजन कठायतले जानकारी दिए । अहिले स्थानीय सरकारको रुपमा रहेको नगरपालिकाले नै स्वास्थ्य सेवा कार्यालय डोल्पासँग औषधि मागजाग गरेर चलाइरहेको छ । कार्यालयले पनि पटक-पटक औषधि माग्दा दिन आनाकानी गर्ने गरेको बताइएको छ ।
कार्यालयले जिल्ला अस्पतालसँगै सबै पालिकामा हेर्नुपर्ने भएकाले पालिकाहरुमा औषधि अभाव भएको र मागेको अवस्थामा उपलब्ध भएसम्म केही औषधि पठाउने गरको स्वास्थ्य सेवा कार्यालय डोल्पाका प्रमुख सिजन रावलले बताए । अहिले त्रिपुरासुन्दरी नगरपालिका एक महिना देखि कार्यालय प्रमुखविहीन छ ।
कार्यालय प्रमुख नहुँदा विकास योजना सम्झौता, शिक्षक तथा कर्मचारीको तलवभत्ता निकासा, करार कर्मचारीको म्याद थप लगायतका आर्थिक तथा मुख्य प्रशासनिक काम समेत हुन सकेको छैन ।
