बाघले शनिबार स्थानीयको गोरु खाएको र बस्तीनजिकै पुनः देखिएपछि पर्सेनी आसपासका घुईयाबारी, बाटुले, ज्यामिरे, आम्बास, र्याङ, भेरीखुरी, हाउखोलाका बासिन्दा त्रसित भएका छन्।
What you should know
सल्यान — शुक्रबार सल्यानको कालीमाटी गाउँपालिका–७ पर्सेनीमा घरनजिकै जंगलमा घाँस, दाउराका लागि गएकी ४२ वर्षीया धनसरी रावतको बाघको आक्रमणबाट मृत्यु भएपछि स्थानीय त्रसित भएका छन्।
बाघले शनिबार स्थानीयको गोरु खाएको र बस्तीनजिकै पुनः देखिएपछि पर्सेनी आसपासका घुईयाबारी, बाटुले, ज्यामिरे, आम्बास, र्याङ, भेरीखुरी, हाउखोलाका बासिन्दा त्रसित भएका हुन्।
बाघको त्रासका कारण स्थानीय घाँसदाउरा गर्न जंगल जान सकेका छैनन्। बाँके राष्ट्रिय निकुञ्जमा खटिएको सेनाको टोलीले अनावश्यक रुपमा घरबाट ननिस्कन आग्रह गरेपछि स्थानीयले मोटरसाइकलमा सवार गर्न छाडेका छन्। जसका कारण विरामी भएका झनै समस्यामा परेका छन्।
स्थानीयले बस्ती पस्ने बाघको व्यवस्थापन गर्न नसकिने भए वडाबासीलाई सुरक्षित स्थानमा सार्न माग गरेका छन्। विगतमा रातिको समयमा बस्तीमै पसेर चौपायामाथि आक्रमण गरे पनि शुक्रबार मान्छेकै ज्यान लिएपछि धेरै असुरक्षित भएको कालीमाटी–७ घुईयाबारीका हिमाल पुनले बताए।
सरकारले ज्यान भन्दा बाघलाई महत्त्व दिँदा घरजग्गा छाडेर विस्थापित हुनुपर्ने अवस्था आउन थालेको उनले बताए। ‘अहिले पालिकाले जाडो विदा गरेकाले विद्यालय बन्द छन् । जंगलको बाटो हिँड्दै बालबालिका विद्यालय जान नपरेकाले खासै समस्या छैन । विद्यालय खुलेमा आफ्ना बालबालिका कसरी बचाउने भन्ने चिन्ताले छ,’ स्थानीय मोतिलाल रावतले भने।
कालीमाटी–७ का वडाध्यक्ष मिक्रलाल रिजालले बाघको आत्रमणबाट दुई वर्षयता सुर्खेत र सल्यानको सिमा क्षेत्रमा चार जनाको ज्यान गइसकेको बताए।
बाघको त्रासका कारण विद्यालयमा पढ्ने बालालिकाहरु बढि जोखिममा परेका अध्यक्ष रिजालले जानकारी गराए । ७ सय परिवार रहेको यो वडाबाट पछिल्ला केही वर्षमा करिब २ सय परिवार बसाइँ सरेको उनले बताए।
