हिमामा २३ बस्तीमा प्रायः एक घर, एक धारा पुगिसक्यो, आगामी असारसम्म थप ४ सय धारा निर्माण गर्ने गाउँपालिकाको योजना छ।
What you should know
जुम्ला — हिमा गाउँपालिका–२ की करिष्मा रोकायालाई एक वर्षअघिसम्म खानेपानी जोहो गर्न निकै चिन्ता लागिरहन्थ्यो। नजिकै खानेपानीका मुहान नहुने र सिंगो गाउँका लागि बनेका धारामा सानो पानी आउने भएकाले घण्टौं कुर्नुको विकल्प थिएन।
धारामा जानुपर्ने सोच बनाउनेबित्तिकै उनको सोचाइमा लाइन बस्नुपर्ने विषयले पिरोल्न थाल्थ्यो । तर, अहिले उनको गाउँमा एक घर, एक धारा छन् । हरेक धारामा चौबिसै घण्टा पानी छचल्किरहेको छ।
पहिले पानी भर्नकै लागि खर्च हुने समय अहिले घरको अर्को कामका लागि खर्चिन्छिन् । पानीले पिउने आवश्यकता मात्र पूरा गरिरहेको छैन, सरसफाइ र करेसाबारीका लागि पनि सहज बनाएको छ । ४४ घरधुरी रहेको कोइरेली अहिले खानेपानीको पहुँचमा छ। ‘गाउँमा सबैभन्दा ठूलो संकट खानेपानीको थियो । लामो प्रतीक्षापछि पूरा भयो,’ करिस्माले भनिन् । कोइरेलीका लागि ६२ लाख रुपैयाँ खर्चेर निकै टाढाबाट पानी पुर्याइएको हिमा गाउँपालिकाले जनाएको छ ।
हिमा गाउँपालिका–५ बाजागाड गाउँकी छुमकली रोकाया पनि घरदैलोमा पानी पुगेपछि उत्साहित छिन् । पानी भर्नकै लागि कैयौं बालबालिकाले स्कुल छुटाएको, पानी नभएर समयमै खाना पकाउन नसकेको, पानी भर्न नसक्दा छिमेकीसग मागेर काम चलाउनुपरेको, पानीकै चिन्ताले रातिसम्म लाइनमा पालो कुरेर बस्ने गरेकोदेखि घण्टौंको समय बर्बाद हुने गरेको उनले सुनाइन् । ‘तर अहिले घरघरमा धारा भएकाले कुनै चिन्ता छैन,’ उनले भनिन् ।
बाजागाडमा दुई/चार मात्र सार्वजनिक धारा थिए । तीव्र जनसंख्या वृद्धिका कारण जंगल मासिँदै गएपछि धारामा पनि पानी आइरहेको थिएन । पहिले हिमाका बस्तीहरूमा न्यूनतम एकदेखि बढीमा ५ वटा सार्वजनिक धारा थिए । त्यही पनि कुनै धारामा पानी आउनै छाडेको थियो । केही धारामा दिनभर पानी ट्यांकीमा जम्मा गरेर साँझ–बिहानका एक/दुई घण्टा मात्र पानी छोडिन्थ्यो ।
खानेपानीको सबैभन्दा बढी संकट बेहोरेका गाउँ पहिचान गरेर यससम्बन्धी योजना ल्याइएको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले जानकारी दिए । ‘पहिले पानी आउनेभन्दा नआउने धारा धेरै थिए । गाउँमा जाँदा उपभोक्ताले खानेपानीको समस्या भोगिरहेको चित्र देख्दा मनै कुँडिन्थ्यो,’ उनले भने, ‘अहिले घरघरमा धारा जोडेर पानी चौबीसै घण्टा आइरहेको देख्दा खुसी लाग्ने गर्छ ।’ हिमाले खानेपानी क्षेत्रमा उत्कृष्ट काम गरेको भन्दै तत्कालीन संघीय खानेपानीमन्त्री प्रदीप यादवले गाउँमै पुगेर सरसफाइ सम्मेलनसमेत गरेका थिए ।
अहिले हिमाका विद्यालय, स्वास्थ्यचौकीदेखि वडा कार्यालयलगायत सार्वजनिक स्थानमा सहजै रूपमा खानेपानीको पहुँच पुगेको छ । हिमामा २३ वटा बस्ती छन् । प्रायः बस्तीमा एक घर एक धारा पुगिसकेको छ । आगामी असारसम्म थप ४ सय धारा निर्माण गर्ने गाउँपालिकाको योजना छ ।
खानेपानी अभावले दूषित खोलाको पानी समेत खानुपरेको बाजागाडखोलाकी धनपुरा शाही सम्झिन्छिन् । पानीकै लागि हिमाखोलामा दूषित पानी भनुपर्नेदेखि गाउँमा हुने तुरतुरे धारामा घण्टौं लाइनमा बस्नुपर्ने बाध्यता थियो । पानी भर्नकै लागि घरमा हुने महत्त्वपूर्ण कामसमेत छुटिरहेका हुन्थे । तर अहिले उनको घरमै धारा छ । धारामा पानी छचल्किँदा उनी विगतलाई बिर्सेर हर्षित हुने गरेकी छन् ।
पछिल्लो तीन वर्षमा हिमाका १ हजार २ सयभन्दा धेरै घरमा एक घर, एक धारा बनेर पानी आइरहेको छ । पालिकाभित्रका सात वटै वडाका बस्तीमा देखिएको खानेपानी संकट पहिचान गरेर धमाधम धारा निर्माणको काम पनि जारी छ ।
हिमाले चार करोड पाँच लाख ६६ हजार रुपैयाँ लागतमा १४ वटा बृहत् खानेपानी आयोजना निर्माणको काम सकाएको छ । यी आयोजना निर्माणका लागि पाँच करोड ३५ लाख ४६ हजार रुपैयाँ छुट्याइएको थियो । हिमा गाउँपालिका र सुस्वा परियोजनाको लागत साझेदारीमा खानेपानीका धारा बनिरहेका छन् ।
हिमा १ को बड्की, द्यारगाउँ, आचार्यलिही, हिमा २ को ओदीगाउँ, हिमा ४ का जार्जी, सिम्तोली, खेतु, साना चिउडी, कोइरेली, हिमा ५ को बाजागाड, बाजागाडखोला, हिमा ६ को खलढुंगा, डाडाबाडा, बागबजार, भूगोलपाटा, हिमा ७ को माथिकुडु, धाचुगाउँ र मर्चीगाउँमा एक घर एक धाराको निर्माण भएको छ ।
पाँच वर्षमा शतप्रतिशत घरमा स्वच्छ खानेपानीको पहुँच पुग्ने गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीको दाबी छ । ‘प्रायः घरमा धारासँगै पानी पुगिसक्यो । केही घरमा आगामी असारसम्म पुगिहाल्छ,’ उनले भने । हिमा अहिले खानेपानीका क्षेत्रमा उत्कृष्ट काम गर्ने पालिकाका रूपमा चिनिएको उनको भनाइ छ ।
हिमामा जल सम्मेलन
गत २२ जेठमा हिमा गाउँपालिकाले जल सम्मेलन आयोजना गर्यो । खानेपानीको मुहान पहिचान र संरक्षणका विषयमा बहस नै भयो । तीव्र जनसंख्या वृद्धि, जथाभावी वनफँडानी र डढेलोका कारण पानीका स्रोत सुक्दै जान थालेको सम्मेलनको निष्कर्ष रह्यो ।
पालिकाभित्रका खानेपानीको मुहानको अवस्था, स्रोत संरक्षणमा भएका प्रयास, जलवायु परिवर्तनले खानेपानीका क्षेत्रमा पारेको असरबारे छलफल गरेको सम्मेलनले प्रतिबद्धतापत्र नै जारी गर्यो ।
खानेपानीको दिगो व्यवस्थापनका लागि कार्यविधि बनाउने, पालिकास्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता योजना बनाएर कार्यान्वयनमा लैजाने, सामुदायिक धारामा एक दिनको एक रुपैयाँ र निजी धारामा मिटरअनुसारको महसुल उठाएर कोषको व्यवस्थापन गर्ने, हरेक वर्ष वार्षिक रूपमा हरेक खानेपानी आयोजनाले प्रतिवेदन वडा र पालिकामा पेस गर्ने प्रतिबद्धतापत्रमा उल्लेख छ ।
